प्रत्यक्षदर्शीका अनुसार हतकडी लगाइएका ती युवकको घाँटीमा घुँडाले बेस्सरी धेरैबेर थिचिएको थियो । शास फेर्न मुश्किल भएको भन्दै उनले याचिका गरे पनि प्रहरीले उनको कुरा सुनेका थिएनन् । ती युवक एउटा पसलमा झुटो बिल देखाएको आशंकामा पक्राउ परेका थिए ।
प्रहरी क्रुरताको नजिकैबाट एकजना बटुवाले खिचेको भिडियोमा प्रहरीले फ्लोयडको घाँटीमा घुँडा टेकेको देखाइएको छ । फ्लोयडको प्रहरी चोटपटकका कारण उपचारकै क्रममा मृत्यु भएको थियो । घाँटी थिच्ने प्रहरी अधिकृत डेरेक चौविन पक्राउ परेका छन् भने उनलाई शुक्रबार व्यक्तिहत्याको आरोप लगाइएको छ । अनुसन्धानका क्रममा ती प्रहरीले फ्लोयडको घाँटी करिब ८ मिनेटसम्म थिचेको देखिएको छ ।
प्रहरीको उक्त क्रुरतासँगै शुरु भएको विरोध प्रदर्शनले देशव्यापी हिंसात्मक रुप लिएको छ । बिहीबार प्रदर्शनकारीहरुले फ्योयडलाई गिरफ्तार गरेर राखिएको मिनियापोलिसको एउटा प्रहरी चौकीमा आगो लगाइदिएका छन् । प्रहरीले हिंसा नियन्त्रणमा ल्याउन हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । हिंसाले उग्र रुप लिएपछि नगर प्रमुख जेकब फ्रेले स्थानीय समयानुसार शुक्रबार राति ८ बजेदेखि लागू हुनेगरी शहरभर कफ्र्यु लगाएको घोषणा गर्नु भएको थियो । तर शहरको दक्षिणी भागमा हजारौं मानिस निषेधाज्ञाको अवज्ञा गर्दै सडकमा भेला भएका थिए ।
शुरुमा प्रदर्शन शान्त देखिएपनि केही समयपछि उनीहरुले कारहरुमा आगो लगाइदिनुका साथै पसलहरु तोडफोड गरियो । अन्ततः भीडले शहरका धेरै ठाउँका निजी तथा सार्वजनिक सम्पत्तिमा आगो लगायो । यो अस्थिरता र विरोध प्रदर्शन देशव्यापी हुनेक्रममा छ । वासिङ्टन डिसी, एटलान्टा, फिनिक्स, डेनभर र लस एन्जलस लगायतका ठूला अमेरिकी शहरहरूमा परिस्थिति विस्फोटक बनेको छ । प्रदर्शनमा सहभागी मिनियापोलिसका २६ वर्षीय युवक बेन हुबर्टले प्रदर्शनकारीले निषेधाज्ञाको अवज्ञा गर्नु र आगजनी गर्नु सामान्य रहेको प्रतिक्रिया दिनुभयो ।
फ्लोएडमाथि भएको बर्बर अन्यायका बारेमा उहाँ भन्नुहुन्छ, “म पनि क्रुद्ध भएको छु । म आज धेरै दुःखित छु । यति लामो समयदेखि हामीमाथि अन्याय भइरहेको थियो । यो वर्षौंदेखि जारी थियो ।” प्रहरी चौकी घेर्न पुगेका कतिपय “प्रहरीलाई कारबाही गर” भन्दै नारा लगाउँदै थिए