शेयर बजार खुल्दैछः अब बजार कता जान्छ ?

Jun 29, 2020 09:38 AM merolagani

  • आनन्द कुमार भट्टराई

कोरोना भाईरसको माहामारिको कारण बन्दाबन्दीमा परेको शेयर बजार ९८ दिन ( विचमा दुई दिन खुलेको बाहेक) पछि आषाढ १५ गते सोमबारबाट खुल्दैछ ।

शेयर बजारका अधिकाशं लगानीकर्ता अहिले एउटै प्रश्न गर्दैछन – बजार बढछ कि घटछ ?

मूल्य बढने अथवा घटने भन्ने कुरा शेयर बजारको नियमित प्रकृया हो । वास्तवमा यो नै यसको सुन्दर पक्ष पनि हो । यदि यस्तो नहुँदो हो भने त यस प्रति लगानीकर्ता यति धेरै आकर्षित हुनेनै थिएनन् । यो यस्तो क्षेत्र हो जाँहा सूचक बढदा पनि कमाउने अवसर हुन्छ भने घटदो बजारमा पनि लगानीकर्ताले सम्पती बढाई रहेका हुन्छन् । यो नै मूल कारण हो लगानीकर्ताको उत्सुक्ताको की बजारले कुन बाटो समाउँछ ।

कसैले बजार बढछ भन्दा घटोस भन्ने चाहना राख्ने उ प्रति आक्रोशित भैरहेको हुन्छ भने बजार घटछ् भन्दा बढोस भन्ने चाहना राख्ने आक्रोशित हुन्छन् । एकथरि बजार घटोस र किनौला भनेर कुरीरहेका हुन्छन् भने अर्काथरी बढोस र बेचौँला भनेर बसेका हुन्छन् । त्यसैले तिनको त्यस्तो चाहनालाई अतिशयोक्ति भन्न मिल्दैन ।

बजार घटबढ हुनुमा बजारको (लगानीकर्ताको) मनोभावनाले काम गरिरहेको हुन्छ । बजारको मनोभावनालाई धेरै तत्वहरुले असर गरिरहेको हुन्छ । केहि दिर्घकालिन असर गर्ने खालका हुन्छन भने केही अल्पकालिन असर गर्ने खालका हुन्छन् । ती मध्ये केही निम्न हुन् ।

• देशको समग्र अर्थ ब्यवस्था

• राजनितिक अवस्था
• सूचीकृत कम्पनीहरुको क्षेत्रगत अवस्था
• केन्द्रीय बैंकले तय गर्ने मौद्रिक नीति
• सूचीकृत कम्पनीहरुको कार्य सम्पादन
• माहामारी तथा यस्तै अन्य कारणहरुले देखा पर्ने आर्थिक मन्दीको अवस्था आदि

अब आषाढ १५ गते सोमबार खुल्ने बजारमा लगानीकर्ताको मनोभावना कस्तो हुन्छ त्यसैले बजारको गतिलाई तय गर्छ ।

९८ दिन बजार बन्द हुँदा शेयर बजारबाटै आफ्नो दैनिकी चलाउने लगानिकर्ताको लागि आफ्नो नगद आवश्यक्ता पुरा गर्न केही शेयर बेच्नै पर्ने बाध्यता छ भने महामारीले बजार झन झन घटदै जानेछ भन्ने त्रसित मानसिकतामा रहेका लगानीकर्ताहरु केही मात्रामा भएपनि शेयर बिक्रि गरि सुरक्षित हुने चाहना राखेका हुन्छन् । अर्को तर्फ आर्थिक वर्षको अन्त हुन केही दिन मात्र बाँकी रहेकोले शेयर ऋण लिएका लगानीकर्ताहरु बैंक तथा वित्तिय संस्थाबाट आउने ब्याज तथा सांवाको ताकेताको कारणले गर्दा शेयर बिक्रि गर्नु पर्ने दबावमा छन् । यि र यस्तै अन्य कारणले गर्दा केही गरी बिक्रि दबाव बढन गएमा शुरुवाती दिनमा बजार घटने संभावनालाई नकार्न सकिदैन ।

तर आधारभूत रुपमा अधिकांश कम्पनीहरुको अहिले मूल्यलाई अत्यधिक भन्न नमिल्ने भएकोले दिर्घकालिन हिसाबले शेयर खरिद गर्दा भविष्यमा बजार बढदा राम्रो आम्दानी गर्न सकिने भएकोले शेयर खरिद गर्न कुरेर बस्ने जमातको पनि कमी छैन । माहामारीले अर्थ ब्यवस्थाका उध्योग, ब्यापार, पर्यटन, होटल ब्यवसाय तथा अन्य सबै क्षेत्रमा संकुचन ल्याएको हुनाले त्यस्ता क्षेत्रका लगानीकर्ताहरु अल्पकालिन समयमा फाईदा लिने उद्धेश्यले शेयर बजार तर्फनै आकर्षित हुने भएकोले खरिद दबाव बढन गई बजार बढछ भन्ने सोचमा छन् र यस्तो सोच बजारमा हावी भएमा बजार बढने संभावना पनि उत्तिकै छ ।

बजारको यो दुई किसिमको मनोभावनालाई खेलाडी लगानीकर्ताहरुको समूहले कसरी आफ्नो फक्षमा पार्छन् त्यसले पनि बजारको गतिलाई तय गर्छ । तर, यस्ता समूहले बजारको गतिलाई आफू अनुकूल लामो समय सम्म डोर्याउन नसक्ने भएकोले लगानीकर्ताहरु यस्तो क्षणिक बियर अथवा बुल ट्रयापबाट जोगिनु पर्छ ।

कोरोनाको महामारी शेयर बजारको लागि नकारात्मक पक्ष हो भने नागरिक स्टक डिलरले यथाशिघ्र काम थाल्ने, मौद्रिक नितिले शेयर बजारको लागि राहतको प्याकेज ल्याउने, बैंकहरुले ऋणमा लिने ब्याज क्रमशः घटदै गईरहेको, ब्यक्तिको लागि पूँजीगत लाभकर अन्तिमनै भनि सरकारद्धारा प्रष्ट पारिसकिएको, बिग मर्जरको कुराको उठान भएको जस्ता सकारात्मक पक्षहरुलाई ध्यानमा राख्ने हो भने दिर्घकाकलिन हिसाबले लगानी गर्ने दिर्घकालिन लगानीकर्ताहरुको लागि बजारले राम्रै अवसर दिने संभावनालाई नकार्न सकिदैन ।

तथापी दिर्घकालिन सोचले लगानी गर्दा कम्तीमा निम्न कुराहरुको हेक्का भने लगानीकर्ताहरुले राख्नै पर्छ ।

लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा


• दीर्घकालीन लक्ष्य तयार गर्ने

शेयर बजारमा तपाँई किन लगानी गर्न चाहनु हुन्छ ? के तपाँईले लगानी गरेको रकम एक महिना, एक वर्ष, पाँच वर्ष वा त्यो भन्दा पनि लामो समय पछि आवश्यकता पर्छ ? के तपाँई बूढेस कालको लागि बचत गर्दै हुनुहुन्छ, वा भविष्यमा उच्च शिक्षाको लागि, अथवा घर खरिद गर्नको लागि वा आफ्नो भावि पुस्ताको लागि केहि जोडन चाहनु हुन्छ ?

अतः लगानी गर्नु पूर्व आफ्नो उद्धेश्य तथा कहिले रकम आवश्यक पर्छ भन्ने बारेमा प्रष्ट हुनुहोस । यदि छोटो समय भित्रै तपाँईलाई रकमको आवश्यक्ता रहेको छ भने बैंक तथा अन्य क्षेत्रमा लगानी गर्नु होस ।


• आफ्नो जोखिम बहन गर्ने क्षमताको पहिचान गर्ने

जोखिम बहन गर्ने क्षमता एउटा मनोवैज्ञानिक गुण हो जुन शिक्षा, आय तथा सम्पति ( यी बढदा जोखिम क्षमता केही बढछ) बाट सकारात्मक किसिमले प्रभावित हुन्छ भने ब्यक्तिको आयु ( उमेर बढदै जाँदा जोखिम क्षमता घटदै जान्छ) बाट नकारात्मक किसिमले प्रभावित हुन्छ । तपाँईको जोखिम क्षमता भनेको जोखिमको बारेमा तपाँई कस्तो महसुस गर्नु हुन्छ र त्यस्तो जोखिम विध्यमान रहँदा तपाँई कति मात्रामा चिन्तित बन्नु हुन्छ ।
अतः आफ्नो जोखिम क्षमताको बारेमा समझ भएमा त्यस्तो लगानीबाट तपाँईले आफूलाई टाढा राख्न सक्नु हुन्छ जसले तपाँलाई चिन्तित तुल्याउँछ । सामान्य अर्थमा भन्दा तपाँई त्यस्तो सम्पतिमा कहिले पनि लगानी गर्नु हुन्न जसले तपाँईको रातको निद्रामा खलल पुर्याउँछ ।

चिन्ताले डर पैदा गर्छ र डरले तार्किक भन्दा पनि मनोगत निर्णय लिन प्रेरित गर्छ जुन शेयर बजारका लगानीकर्ताको लागि एकदम घातक हुन्छ । त्यसैले अनिश्चयको समयमा जसले आफ्नो दिमागलाई शान्त राखि विश्लेषणात्मक निर्णय प्रक्रियालाई पछ्याउँछ उहीनै विजेता हुन्छ ।


• लगानीको विविधिकरण गर्ने

आम लगानीकर्ताले कहिले पनि आफ्नो सबै रकम एकै क्षेत्र वा कम्पनीमा लगाउनु हुँदैन । किनकी जुन कम्पनीमा रकम लगाईएको छ यदि त्यो डुब्न गएमा आफ्नो सबै लगानी खरानी हुन्छ । त्यसैले कम्पनीको अध्ययन गरी एक भन्दा बढी राम्रा कम्पनी तथा क्षेत्रमा लगानी गर्नु पर्छ ।


• आफ्नो मनोभानामा नियन्त्रण राख्ने

शेयर बजारबाट नाफा कमाउन नसक्नुको पछाडिको सबैभन्दा ठूलो बाधा भनेको दिमागले नभई भावनाले निर्णय लिनु हो । शेयर बजारलाई अल्प अवधिमा अफवाह, सट्टाबाजी तथा अपेक्षा जस्ता कुराहरुले प्रभाव पारिरहेको हुन्छ र लगानिकर्ताहरु यस्तो बेला तार्किक भन्दा पनि भावनात्मक किसिमले निर्णय लिन पुग्दछन् जुन की घातक हुन्छ ।

त्यसैले अफवाह तथा भिडको पछि लाग्नु भन्दा कम्पनीको सम्पति, ब्यवस्थापन तथा भविष्यको बारेमा जानकार भई तदनुकूल ब्यवहार गर्नु पर्दछ ।


• ऋण लिएर लगानी गर्ने बनीबाट पन्छिने

ऋण एउटा वित्तिय औजार हो जुन राम्रो नराम्रो दुबै हो । आफुले शेयर बजारको बारेमा पर्याप्त जानकारी हासिल गरिसकि निर्णय प्रक्रियाको आफ्नो क्षमतामा आत्मविश्वास भैसके पछि यो औजारको प्रयोगलाई नराम्रो मानिदैन । तथापी नयाँ तथा सोझासाझा लगानीकर्ता भने यसबाट टाढै रहनु उपयुक्त हुन्छ ।

• निष्कर्ष

दीर्घकालकम शेयरमा गरिएको लगानीले अरु सबै लगानीको तुलनामा राम्रो प्रतिफल दिनुको साथै सहज तरलताको सुविधा पनि दिएको हुन्छ जसले गर्दा आफूलाई आवश्यक्ता परेको जुनसकै बेलामा पनि नगदको आवश्यक्ता पूर्ति गर्न सकिन्छ । नियमबद्ध तथा समयबद्ध किसिमले लगानी गर्नेहरुको लागि शेयरमा गरिएको लगानी आफ्नो सम्पतिमा बढोत्तरी गर्ने अचुक अवसर हो । त्यसैले शेयर बजारको बारेमा ज्ञान तथा अनुभव लिन समय तथा श्रमको प्रयोग, जोखिमको ब्यवस्थापन तथा धैर्यवान भई लगानी गरेमा सम्पतिलाई दिन दुना रात चौगुना किसिमले बृद्धि गर्न सकिन्छ ।

नबिर्सनुहोस की जति छिटो तपाँई लगानी शुरु गर्नु हुन्छ त्यतिनै धेरै आर्जन गर्नु हुन्छ – लगानीको क्षेत्रमा डौडनु अघि हिडनु पर्छ भन्ने कुरालाई भने बिर्सनु हुँदैन ।

(भट्टराई अर्थ मन्त्रालयका अवकास प्राप्त उपसचिव हुन)
email: anandakbhattarai@gmail.com

(नोटः माथिको विश्लेषण उपलब्ध तथ्याङ्क तथा चलेका सुत्रका आधारमा प्रस्तुत गरिएको हो । यसैको आधारमा शेयर खरिद विक्रि गर्नु भन्दा पहिले आफैले पनि विश्लेषण गरि निर्णय लिनु राम्रो मानिन्छ ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।