१० वर्षे जनयुद्ध, लोडसेडिङ, भूकम्प भन्दा अहिलेको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा बढी क्षति पुगेको छ । ४० लाख नागरिकले अप्रत्यक्ष रुपमा र १० लाखले प्रत्यक्ष रोजगारी गुम्ने आकलन गरिएको छ । यसले गर्दा आगामी दिनमा नागरिकको आम्दानी गुम्ने र बीमा गर्नेमा कमी आउनुका साथै बीमा गरिसकेकाले पनि बीच बीचमै छाड्ने सम्भावना देखिएको छ ।
बीमा गर्ने व्यक्तिले आम्दानी गुमाउँदै गएका कारण बीमा गरेवापतको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेशकुमार भट्टराईले बताए ।
‘कोरोना भाइरसको संक्रमणको त्रासले व्यापार व्यवसाय ठप्प हुन पुगेको र व्यक्तिको आम्दानी सुक्दै गएपछि बीमा गरेवापतको रकम नतिर्ने बढेका हुन्,’ उनले भने, ‘लकडाउन लम्बिने हो भने अझै धेरैले बीमा रकम तिर्न नसक्ने अबस्था आउने अनुमान गरिएको छ ।’
सुरुमा बीमा गर्दा रकम तिरेपछि अर्को पटक तिर्नै नआउने पनि धेरै छन् । दोस्रो पटक रकम तिर्न आएन भने बीमालेखा नै ‘ल्याप्स’ हुने गर्छ ।
त्यसैगरी, बीमा गरेको दुई वर्षसम्म जेनतेन तिर्ने र त्यसपछि बीमा रकम फिर्ता माग्ने चलन पनि बढदै गएको छ । जसलाई बीमा कम्पनीहरु ‘सरेन्डर’ भन्ने गर्छन् । त्यसरी सरेन्डर गर्ने पनि बढ्दै गएको भट्टराईको भनाइ छ ।
सामान्य अवस्थामा पनि बीमा गर्ने व्यक्तिको आम्दानी नहेरी बिमा गरिदिदाँ सय जनामा १५ जनाले बीच बीचैमा बीमा गरेको पैसा तिर्न नसकेर छाड्ने गरेका छन् । तर, अहिलेको प्रतिकुल अवस्थामा त्यो भन्दा अझै बढीले बीमा नतिर्ने अनुमान गरिएको छ ।
बीमक (बीमा गरिदिने व्यक्ति) ले ठूलो आश्वासन बाँडेको भरमा बीमित (बीमा गर्ने व्यक्ति) ले बीमा पोलिसी गरिद गर्ने तर रकम तिर्न नसकेर बिचैमा छाड्ने गरेका हुन् ।
यसरी बिचैमा छाड्ने क्रम पछिल्लो समय निकै बढेको छ । बीमीतको मासिक वा वार्षिक आम्दानी नहेरी बीमा पोलिसी बिक्री गर्दाको परिणाम यस्तो हुन गएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए ।
१९ जीवन बीमा कम्पनीबीच बीमा पोलिसी कसरी बढी बिक्री गर्ने भन्ने सम्बन्धमा प्रतिस्पर्धा नै छ । नयाँ बीमा पोलिसी बिक्री गर्दा अभिकर्तालाई बढी कमिशन आउने गर्छ । त्यसैले पनि अभिकर्ताले आक्रमक रुपमा बीमा पोलिसी बिक्री गर्नमा ध्यान केन्द्रीत गरेका छन् ।
लकडाउनमा सुनौलो अवसर, १० हजार पर्ने शेयर तालिम अब मात्र २५०० मा
तर, बीमा गर्ने व्यक्ति गर्ने व्यक्तिको आर्थिक स्थिति तथा व्यक्तिगत आम्दानी हेरिदैन् । बीमा अभिकर्ताले आक्रमक रुपमा बीमा पोलिसी बिक्री गर्न अनावश्यक आश्वासन बाडँने गर्छन् ।
बीमितहरु बीमा गर्न सक्ने अवस्थामा नहुदाँ नहुँदै पनि नाता,गोतासमेत लगाएर बीमा पोलिसी बिक्री गरिन्छ । उनीहरु पनि आफ्नो इज्जत जोगाउने उपायले बीमा पोलिसी खरिद गर्ने गरेको तर बीमा पोलिसी नविकरण गर्न नसकेर बिचैमा छाड्ने गरेको बीमा बिज्ञहरु बताउँछन् ।
अहिले पनि करिव ७५ प्रतिशत नेपालीले बीमा गरेका छैनन् । विदेशमा जन्मेसँगै बिमा गराउने चलन भएको बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसीले बताए ।‘तर नेपालमा विहान बेलुका कसरी हातमुख जोर्ने भन्ने समस्यामा धेरै व्यक्ति रहेको र त्यस्ता व्यक्तिले बीमा गर्ने कुरै भएन्,’ उनले भने, ‘आर्थिक रुपमा जबसम्म सवल हुन सक्दैन तवसम्म बीमा गर्नका लागि समस्या हुने छ ।’
बीमा पोलिसी बिक्री गर्न शहरदेखि गाउँसम्म बीमा कम्पनीले बीमा अभिकर्ताहरु खटाएका छन् । उनीहरुले अनेक प्रलोभन देखाएर बीमा पोलिसी बिक्री गर्दै आएका छन् ।
बीमा गर्दा फाइदा छ । यसमा कसैको पनि दुई मत छैन् । तर बीमा पोलिसी खरिद गरिसकेपछि प्रत्येक वर्ष नविकरण गर्न पुनः पैसा तिर्नु पर्छ ।
बीमा गर्दा जुन अवधिका लागि जति रकम बराबरको बीमा गरिन्छ, त्यो अवधिमा किस्तावन्दी रुपमा त्यति नै रकम तिर्नु पर्ने हुन्छ । जस्तो १५ वर्षमा पैसा फिर्ता पाउने गरी ५ लाखको बीमा गरिको छ भने ३३ हजार ३ सय ३३ पैसार रकम बुझाउनु पर्ने हुन्छ । तर त्यसरी बुझाउनु पर्ने रकम तिर्न नसक्दा बिचैमा बीमा पोलिसी ल्याप्स हुँदै आएको छ ।
अझै पनि केही व्यक्तिहरुको मानसिकता बीमा गर्नु भन्दा बैंकमा पैसा राख्दा बढी फाइदा हुने धारणा राख्छन् । तर बीमा बीज्ञहरुले भने बैंकमा राखिएको पैसाले जोखिम बहन नगर्ने हुँदा बैंकमा पैसा राख्नु भन्दा बीमा गर्नु राम्रो हुने बताउँछन् ।
बीमा गर्दा अनेक फाइदा हुन्छ । बीमाले व्यक्तिलाई आफ्नो जीवन र सम्पत्तिबारे भविष्यमा हुनसक्ने जोखिमहरूको कारण उब्जिएको समस्याबाट राहत हुने गरी क्षतिपूर्ति दिन्छ ।
जीवन बीमा गरेको निश्चित अवधिसम्म बीमा गर्ने व्यक्ति जीवित भएमा उसैलाई,नभए आश्रित परिवारलाई बीमा कम्पनीले एकमुष्ट बीमा रकम फर्काउँछ । बीमा गर्ने व्यक्ति वा परिवारमा भएको घटना वा जोखिमलाई सुरक्षित क्षतिपूर्ति गरिदिने भएकोले बीमा गर्नु लाभदायक मानिन्छ ।
बीमा गर्दा बचत गर्ने बानी बस्छ । जीवन बीमाले मानिसलाई रकम बचत गराउन प्रोत्साहन गर्छ । खाइ–नखाई कमाएको सम्पत्तिको संरक्षण गर्न र पछि हुनसक्ने दुर्घटनाबाट बच्न आफू सचेत हुन प्रोत्साहन गर्छ । बैंकमा जम्मा गरिएको रकमलाई सानोतिनो काम पर्दा निकाल्न सकिन्छ तर बीमा कम्पनीमा जम्मा गरेको रकम अवधि पूरा नहुन्जेलसम्म झिक्न नपाइने भएकोले रकम बचत भइरहनुका साथै बोनसको रूपमा ब्याज बढिरहने भएकोले बीमा गर्दा बचतको लागि प्रोत्साहन मिल्छ । यदि कसैले बिचैमा रकम आवश्यक पर्याे भने बीमा पोलिसी राखेर ऋण लिन पनि सक्छन् । त्यसरी ऋण लिदा १० प्रतिशत ब्याज बुझाउनु पर्ने हुन्छ ।
शिक्षा, दिक्षा र विवाहको व्यवस्था अति आवश्यक कार्यमा बीमा रकम प्रयोग गर्न सकिने हुन्छ । आफ्ना छोराछोरीलाई शिक्षादिक्षाको व्यवस्था गराउनका साथै विवाहको प्रवन्ध मिलाउनको निम्ति ठूलो खर्च आईलाग्ने भएकोले बाबु–आमालाई यसको बोझ हल्का गराउन बीमामा संरक्षित रकमको अनुपातमा कर्जाको व्यवस्था हुन्छ । छोराछोरीको उच्च शिक्षा अथवा विदेश गएर पढ्न चाहानालाई यसले ठूलो सहयोग गर्छ । अथवा विवाह– ब्रतबन्ध, कुनै सांस्कृतिक कार्यक्रम गर्नका लागि पनि यसले ठूलो मद्दत गर्छ ।
लाभदायक लगानीका रुपमा बीमालाई लिने गरिएको छ । जीवन बीमा जीवन सुरक्षाको उपाय साथै यो एक प्रकारको लगानी पनि हो । तोकिएको समयभन्दा अगाडि नै बीमा गर्ने मानिसको मृत्यु भएमा उसले इच्छाएको व्यक्ति वा आश्रित परिवारलाई एकमुष्ट रकम प्रदान गर्छ । यो रकम मूल बीमा रकम र त्यसको सो अवधिमा पाकेको ब्याजसहित कम्पनीले फर्काइदिन्छ । यो रकमलाई कुनै लाभदायक काममा लगाउन सकिन्छ ।
यति फाइदा हुँदा हुँदै पनि बीमा गर्दै नगर्ने र बिचैमा छाड्ने प्रवृति बढ्दै छ ।