महासंघकाे वरिष्ठ उपाध्यक्षले तीन लाख रुपैयाँ शुल्क तिर्नु पर्ने छ भने उपाध्यक्ष पदका लागि एक लाख ५० हजार तिर्नु पर्ने छ । कार्य समिति पदका लागि मनोनयन दर्ता गर्ने चाहनेले मनोनयन फारम सहित ५० हजार बुझाउनु पर्ने छ। महासंघमा भाग लिने प्रति प्रतिनिधिले चार हजार रुपैयाँ तिर्नु पर्ने छ भने एक भन्दा बढी सङ्घ संस्थाको प्रतिनिधित्व गर्दै दर्ता गराएमा दोस्रो दर्ता बापत १५ सय रूपैयाँ मात्रै बुझाउनु पर्ने छ।
निर्वाचन शुल्क नै चर्को भएपछि जो कोहीले महासंघको नेतृत्व पाउने सम्भावना न्यून देखिन्छ। साधारण व्यवसायीले महासङ्घको निर्वाचनमा मनोनयन शुल्ककै आधारमा उसले भाग लिन नपाउने देखिएको एक व्यवसायीको गुनासो रहेको छ। महासंघले निर्वाचनको नाममा ठूलै व्यापार गरेको उनको आरोप छ। विधानले महासंघललाई उसका सदस्यबाट सदस्यता शुल्क,चन्दा, निकायबाट प्राप्त सहयोग अन्य समानान्तर भूमिका निर्वाह गर्नेबाट आर्थिक स्रोत जुटाउन भनेको छ। तर विधानले यति नै रकम उठाउने भनेर तोकेको भने छैन। तर महासंघले भने सदस्यहरूबाट निकै ठूलो रकम असुलिरहेको उनले बताए। यसलाई यही साधारण सभाबाट घटाएर सामान्य व्यवसायीलाई पनि संघको नेतृत्व सम्म पुग्ने छुट दिनु पर्ने उनको माग छ।
गत असार २१ बाट महासंघले सबै तहका लागि मनोनयन खुला गरेको जनाएको छ। आगामी साउन १८ सम्म उक्त मनोनयन खुला हुने महासंघद्वारा जारी सूचनामा भनिएको छ। आगामी साधारण सभाले सबै पदाधिकारी निर्वाचित गर्ने छ। जसमा एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष तीन, प्रदेश उद्योग वाणिज्य सङ्घबाट सात,जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट १८,बस्तुगत बाट १४, एसोसिएट बाट १९, दुई राष्ट्र बाट एक,संस्थापक सदस्यबाट एक गरी कुल ६४ हुने छन्। यति बेला महासंघमा जिल्ला नगरबाट भोटिङ पावर भएका एक सय सात सदस्य छन् भने बस्तुगत एक सय एक,एसोसिएट नौ सय ५० र दुई राष्ट्रिय १२ सहित कुल ११ सय ७० छन्। जुन समूहको निर्वाचन हो त्यही समूहका सदस्यले मात्रै समूहगत रुपमा उठेका पदाधिकारीलाई मतदान गर्न पाउँछन्। तर वरिष्ठ उपाध्यक्षलाई भने सबैले मत दिन पाउने व्यवस्था रहेको छ।
सबैमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। जति धेरैले पदाधिकारीका लागि मनोनयन गराउने छन् त्यती नै बढी रकम महासंघले प्राप्त गर्ने छ। किनकि मनोनयन फिर्ता भए पनि मनोनयन दर्दा शुल्क भने फिर्ता नहुने प्रावधान छ। सबै पदाधिकारीको निर्वाचन राजधानीमै हुने छ।
महासंघले आगामी साउन २६ र २७ गते साधारण सभा गर्दै छ। २६ गते बिहानबाट सभा गर्ने तालिका महासंघले सार्वजनिक गरेको छ। ललितपुरको सानेपा स्थित होटेल हेरिटेज गार्डेनमा हुने जनाइएको छ। साउन २७ गते निर्वाचन गर्ने उसको तालिकामा उल्लेख छ।