दैनिक रुपमा अनलाईन कक्षा लिने उनी अहिले भने कक्षामा बसेर बिहान १० बजेदेखि १२ बजेसम्म पढ्न पाउँदा दंग छिन् ।साथीहरुसँग बसेर प्रत्यक्ष रुपमा शिक्षक अथवा शिक्षिकासँग पढ्न पाउँदा क्रिन्जललाई रमाइलो लागेको छ । 'घरमा बस्दा बोर लाग्थ्यो,अहिले साथीहरुसँग पढ्दा रमाइलो भएको छ,'उनी भन्छिन् ।
क्रिन्जलकी आमा गीता श्रेष्ठ स्वयम्भूबाट हरेक दिन उनलाई लिन तथा पुर्याउन बाफल पुग्छिन् । छोरीको स्वास्थ्य सुरक्षाप्रति सजक उनी कक्षा कोठासम्म डोर्याउँदै लग्छिन्।अनिवार्य मास्क,सेनिटाईजरको प्रयोग तथा भौतिक दुरीको नियम विद्यालयले अवलम्बन गरिरहेको देख्दा आफू ढुक्क भएको उनले मेरोलगानीसँग बताइन् ।'अहिले बच्चाहरु सुरक्षित छन् जस्तो लाग्छ । एक बेन्चमा २ जना राखेको छ । मास्क र सेनिटाईजर पनि स्कुलले दिइरहेको छ,'उनी निर्धक्क भएर भन्छिन् । घरमा रहँदा बच्चाहरु एक्लो महसुस गर्ने र पढाईमा पनि खासै ध्यान नदिने भएकाले पनि विद्यालय खुल्दा केहि राहत मिलेको गीताको भनाई छ ।
यद्यपि बेलायतबाट देखिन शुरु भएको कोरोना भाइरसको अर्को प्रकारको संक्रमण नेपाल भित्रन सक्ने हो कि भन्ने त्रासबाट अभिभावकहरु चिन्तित छन्। 'नयाँ कोरोना भाइरस आएको छ भन्ने सुनिन्छ, यस्तो अवस्थामा स्कुल कसरी खुल्ला र ? फेरि अनलाईन कक्षा सुरु हुने त होला ?',उनी द्विविधामा छिन् ।
सरकारी विद्यालय मात्र नभई एकाध निजी विद्यालयहरुले पनि अध्यापन शुरु गरेको पाइएको छ । उपत्यका बाहिर तथा गाउँघरका विद्यालयहरुमा केहि समय अघिदेखि पठनपाठन चलिरहे पनि उपत्यकाभित्र कम संख्यामा विद्यार्थी राखेर सिफ्ट अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै पठनपाठन चलिरहेका छन् । केहि विद्यालय भने खुल्ने तयारीमा रहेका छन् ।
नेपालमा कोरोना महामारी नियन्त्रणका लागि चैत्रदेखि बन्द रहेका केहि विद्यालय संचालन हुन लागेका छन् । सहरी क्षेत्रका अधिकांश विद्यालयहरुमा करिब ६ महिना अनलाईन कक्षा दिइएता पनि सो शिक्षा त्यति प्रभावकारी नभएको भन्दै केहि विद्यालयहरु आंशिक रुपमा संचालन गरिएको हो । यसै सन्दर्भमा नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुन:संचालनसम्बन्धी कार्यढाँचा २०७७ पनि प्रकाशित गरेको छ ।
सोहि कार्यढाँचा अन्तर्गत रहेर स्थानिय तहको रहोवरमा स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गर्दै सामुदायिक तथा सरकारी विद्यालयहरु खोलिएका छन् र निजी विद्यालयहरु खोल्ने तयारीमा लागेको बताइएको छ ।यद्यपी कोभिड १९ संक्रमणको जोखिम यथावत रहेकाले अभिभावकहरुमा आफ्ना बालबालिकालाई विद्यालय पठाउनकालागि भने द्विविधा अझै कायम नै रहेको छ ।
जोखिमकै बिचमा विद्यालय खोलिदा अन्यौल सिर्जना
नेपाल अभिभावक महासंघले यस निर्णयप्रति असन्तुिष्ट जनाएको छ । कोरोना भाइरसको जोखिम यथावत रहेको अवस्थामा विद्यालय खोल्न दिने कार्यढांचा बन्नु तथा संचालन गर्नु अपरिपक्व निर्णय रहेको महासंघको भनाई छ । महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार अत्याधिक संक्रमण भएका स्थानहरुमा विद्यालय संचालन हुन नपाइने भएतापनि जोखिमकै बिचमा विद्यालय खोलिदा अन्यौल सिर्जना भएको छ । '५०० भन्दा बढि सक्रिय संक्रमित भएका स्थानहरुमा विद्यालय संचालन हुन नपाउने हो तर स्वास्थ्य मन्त्रालय तथा सिसिएमसिसँग समन्वय नगरी शिक्षा मन्त्रालयले कार्यढांचा बनायो । अब जो जसले विद्यालय खोल्न दिइनुपर्छ भन्नुभएको छ वा अनुमति दिनुभएको छ, यसको जवाफदेहिता उहाँहरुले नै दिनुपर्छ । किनकी जोखिम बाजा बजाएर आउंदैन',अध्यक्ष भण्डारी सुनाउँछन् ।
चिसो मौसममा कोरोना संक्रमण फैलन सक्ने खतरा रहेकोले माघ महिनासम्म विद्यालय खोलिहाल्नु नहुनेमा अध्यक्ष भण्डारी जोड दिन्छन्।'अहिले बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिरहेकाले नेपालमा पनि प्रवेश गर्न सक्ने बताइएको छ। त्यसैले माघ महिनासम्मका लागि वैकल्पिक वा भर्चुअल माध्यमबाट नै अध्ययन वा अध्यापन यथावत राखेर भौतिक रुपमा विद्यालय संचालन नगर्दा उचित हुन्छ । पछि सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै स्वास्थ्य विज्ञको राय अपनाएर मात्र अघि बढ्नुपर्छ', उनी थप्छन् ।
कोभिड १९ महामारीमा आर्थिक जर्जरताका कारण १० प्रतिशत निजी विद्यालय बन्द भइसकेको आंकलन गरिएको छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक कमजोरीका कारण बन्द रहेका ३० प्रतिशत भन्दा बढि निजी विद्यालयहरु प्रभावित भएको प्याब्सनको भनाई छ । यद्यपि यकिन तथ्यांक भने आइसकेको छैन ।
निजी विद्यालयहरु माघको पहिलो सातादेखि खुल्न सक्ने
सरकारको कार्यढांचा अनुरुप उपत्यका बाहिरका अधिकांश विद्यालयहरु खुलिसकेका छन् भने मुख्य ठुला सहर,महानगरपालिकाका विद्यालयहरु संख्यात्मक रुपमा कम खुला भएको प्याब्सनका सह अध्यक्ष डिके ढुंगाना बताउँछन् ।
'दूर दराजमा स्थानिय नियम अनुसार केहि विद्यालय खुलिसकेका छन् । हाल उपत्यका लगायत ठुला सहरहरुमा अनलाईनमार्फत नै अध्ययन अध्यापन भइरहेको छ । आंशिक रुपमा एक कक्षामा आधा मात्र विद्यार्थी राखेर एकाध विद्यालयहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै संचालनको तयारी गरिरहेको पाइएको छ,' सहअध्यक्ष ढुंगाना भन्छन् ।
संक्रमणको जोखिममा विद्यालय पठाउने वा नपठाउने भन्ने विषयमा अभिभावकहरुमा पाइएको द्विविधा स्वभाविक भएको उनी मान्छन् । तर स्वास्थ्य सावधानीका साथ अलिअलि गर्दै विद्यालय संचालन गर्दै गएमा अभ्यास हुने तथा चुनौती मात्र हेर्दै बसेमा व्यवस्थापकीय पक्षका विषयमा ज्ञान नहुने उनको भनाई छ । 'अभ्यास जरुरी छ तर विद्यालयहरुले अभिभावकहरुसँग छलफल गरेर उहाँहरुको सल्लाहका आधारमा अगाडि बढ्न प्याब्सनले सुझाएको छ',उनी बताउँछन् ।
प्याब्सनका अनुसार निजी विद्यालयहरु माघको पहिलो सातादेखि खुल्न सक्ने संभावना रहेको छ ।