नेप्सेका प्रवक्ताले किन लेखे यस्ताे स्ट्याटस ? के इन्ट्रा डे शेयर कारोबारको अध्ययन शुरु भएकाे हो ?

Jan 10, 2021 02:38 PM Merolagani

सुवास निरौला

शुक्रवार बेलुकी ७ बजेर ५५ मिनेटमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गरे। स्ट्याटस पूँजीबजारसँगै सम्बन्धित रहेको थियो। जसले गर्दा धेरै मानिसले उक्त स्ट्याटसमा आफ्ना प्रतिक्रिया दिएका छन्।

बजार सञ्चालकका प्रवक्ताबाट बजार विकाससँग सम्बन्धी पोस्ट आउनुलाई प्रतिक्रिया दिनेहरूले गम्भीरतापूर्वक लिएको उनीहरूका प्रतिक्रियाहरूबाट प्रस्टिन्छ। पराजुलीले स्ट्याटसमा "नेपालमा डे (इन्ट्रा डे) ट्रेडिङ  सुरु गर्ने बेला भयो कि भएन होला ? बेला भएको हो भने के कस्ता नियम, संस्था, संयन्त्र, प्रविधि चाहिएला? तपाईँसंग पढ्ने, सुन्ने वा हेर्ने सामग्री भए लिङ्क सेयर गरौँ । आफ्नो रचनात्मक मौलिक सुझाव भए उपलब्ध गराऊँ" लेखेका छन्। उक्त स्ट्याटसलाई मन पराएर करिब एक सय मानिसले राम्रो भन्दै लाइक गरेका छन् भने २१ जनाले प्रतिक्रिया दिएका छन्।

बजार बढिरहेको समयमा एकाएक प्रवक्ताबाट त्यस्तो स्ट्याटस आउनुलाई लगानीकर्ता र बजारले समेत गम्भीरतापूर्वक लिएको छ। प्रवक्ताले आफ्ना लागि मात्रै यसै उक्त्त स्ट्याटस राखेका हुन् वा बजार सञ्चालकले नै उक्त विषयमा गम्भीर देखिएको हो ? लगानीकर्तामा कौतुहलता बढेको छ। "नेप्सेका प्रवक्ताले इन्ट्रा डे सम्बन्धी स्ट्याटसले कौतुहलता जगाएको छ। नेप्सेले त्यस विषयमा काम बढाएको हो या यसै रमाइलो गरिएको हो त्यो चाहिँ बुझिएन" दोस्रो बजारमा कारोबार गर्ने ध्रुव पाण्डेले भने

उनको स्ट्याटसमै प्रतिक्रिया दिनेहरुले साँच्चै नेप्सेले उक्त औजार प्रयोगमा ल्याउन लागेको झैँ गरी प्रतिक्रिया दिएका छन्। प्रतिक्रिया दिँदै नवराज घिमिरे लेख्छन् "नियामक निकायबाट नै ‘इन्ट्रा डे’ को कुरो आउनु स्वागत योग्य छ । नजिकैको भारतको शेयर बजारलाई हेर्ने हो भने लगभग ९०% लगानीकर्ता ‘इन्ट्राडे ट्रेडिड० सिस्टम’ बाट माथि उठ्न सकेका छैनन्। यो सिस्टममा शेयर त्यही दिन उठाई त्यही दिन काटी सक्नु पर्ने बाध्यता हुन्छ । तथापि नियामकबाट युगले मागे अनुसारको सिस्टम अपग्रेड गर्दै जानु स्वागत योग्य छ…….. ।"

नेप्सेका प्रवक्ता पराजुलीले उक्त स्ट्याटस त्यसै लेखेका होइनन्। सामाजिक सञ्जालको प्रयोग गर्दै रचनात्मक प्रतिक्रिया माग्नुको उद्देश्य बजार विकासका लागि रहेको बुझिएको छ। हालै उनलाई नेप्से व्यवस्थापन समितिले नेपालमा इन्ट्रा डे कारोबार शुरु गर्नु पर्ने बेला भएको हो होइन भनेर अध्ययन गर्ने जिम्मा दिएको छ। सोही जिम्मेवारी पुरा गर्न उनले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया माग गरेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए। "नेपालमा इन्ट्रा डे कारोबार शुरु गर्ने बेला भएको हो होइन? त्यसको सम्भावना र चुनौतीको विषयमा व्यवस्थापन तर्फबाट जिम्मेवारी दिइएको छ। सोही कारण उहाँले प्रतिक्रिया माग्नु भएको हुन सक्छ" साउदले मेरो लगानीसँग भने।

पछिल्लो समय लगानीकर्ता र ब्रोकर कम्पनीहरूले इन्ट्रा डे कारोबारको माग गर्दै आएका छन्। तर एकै दिन कारोबार सम्पन्न हुने उक्त कारोबार नेपालमा जोखिम हुने भन्दै अझैसम्म शुरु गरिएको छैन। लगानीकर्ताहरूमा त्यस्तो कारोबार गर्ने चेतनाको स्तर वृद्धि भई नसकेको र उक्त कारोबार गर्दा साना लगानीकर्ता जोखिममा पर्ने भन्दै इन्ट्रा डे कारोबार शुरु गरिएको थिएन। तर पछिल्लो समय बढ्दो लगानीकर्ता र उनीहरूको चेतनाको स्तरका कारण बजारमा उक्त विषय आवश्यक देखिएको ठहर गर्दै इट्रा डे को अध्ययन गर्न लागिएको नेप्सेले जनाएको छ।

भविष्यमा इन्ट्रा डे कारोबार गर्न सकियोस् भन्दै नेप्सेले हालको नयाँ अनलाइन कारोबार सफ्टवेयरमा इन्ट्रा डे र सर्ट सेल गर्न सक्ने फिचर्स पनि समावेश गरेको छ। तर उक्त फिचर्सलाई यति बेला भने चलाइएको छैन। तर अध्ययनले उक्त कारोबार गर्ने बेला भएको ठहर गरे उक्त फिचर्स प्रयोगमा ल्याउँदै थप औजार बढाउने नेप्सेको भनाइ छ। जसले लगानीकर्तालाई इक्युटी बाहेकको कारोबारको छनौट मिल्ने छ। दैनिक कारोबारले शेयरको मूल्यमा थप प्रतिस्पर्धा समेत हुँदा लगानीकर्ताले शेयरको फेयर प्राइस पाउन समेत सघाउने छ। उता नेप्सेको आम्दानी बढाउन समेत टेवा पुर्‍याउने नेप्सेको जिकिर छ।  

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।