उनले शेयर बजारसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिन्छन्।उनी हरेक मानिसले शेयरमा लगानी गर्नै पर्ने धारणा राख्छन्। जसले गर्दा शेयरमा लगानी गर्ने जो कोहीलाई रौनियारको विषयमा जानकारी छ। तर आज उनको अलग पाटो उजागर गर्ने प्रयास गरिँदै छ।
रौनियार आफू पनि शेयर बजारमा शेयर किनबेच गर्छन् भने परिवारका सदस्यलाई समेत यही पेसा अपनाउन अभिप्रेरित गर्ने गर्छन्। उनी परिवारलाई मात्रै होइन आफ्नो चिन जानमा आएका र छरछिमेकका सबैलाई शेयरमा लगानी गर्न सुझाउँछन्। धेरै मानिसको डिम्याट खाता खोलिदिँदै उनले शेयर बजार प्रवेश गराएका छन्।
छर छिमेक र चिन जानका मानिसलाई शेयर किन्न अभि प्रेरित गर्ने रौनियारले आफ्नो परिवारका सदस्यको समेत खाता खोल्न छुटाएका छैनन्।उनले छोरी नाबालक हुँदा देखि नै उनको समेत खाता खोली प्राथमिक शेयर भरिदिन कहिल्यै छुटाएनन्। उनकी छोरी रेस रौनियार जब सानै थिइन् रौनियारले छोरीको नाममा शेयर किनी दिन्थे। नियमित खुलेका प्राथमिक शेयर भरिदिन उनले कहिल्यै छुटाएनन्। बिस्तारै हुर्कँदै गएकी छोरीलाई भने केही जानकारी थिएन। उनी नियमित अध्ययन कै क्रममा थिइन्। अध्ययनको क्रममा बुबाले सानै देखि शेयर भरिदिने गरेको प्रति उनलाई कुनै चासो पनि थिएन।
पढाइकै सिलसिलामा उनी लन्डन गइन्। त्यस बेलासम्म पनि उनलाई शेयर विषयमा त्यति धेरै चासो थिएन। जब उनले लन्डनबाट एमबिए सकाएर नेपाल फर्किन्। त्यसपछि भने बुबाले गरिरहेको काम प्रति चासो उनमा बढ्यो। उनी पनि दोस्रो बजार प्रति आकर्षित हुन थालिन्। उनको आकर्षण देखेपछि रौनियारलाई पाँच वर्ष अघि उनकै नाममा खरिद गरिरहेको सबै शेयर रौनियारले छोरीलाई जिम्मा लगाइ दिए। उनले करिब तीन लाख रुपैयाँ जतिको शेयर किनी दिएका रहेछन्। रौनियारले तीन लाख रुपैयाँ लगानी गरिदिएको शेयरको भ्यालु भने २० औ लाख भन्दा बढीको थियो।
उक्त शेयर मात्रै छोरीलाई दिएनन्। उनले प्राविधिक तालिम पनि गराइदिए। पाँच बर्ष अघि शेयर सम्बन्धि टेक्निकल र फन्डामेन्टलको औपचारिक तालिम लिएर औपचारिक रुपमा दोस्रो बजार प्रवेश गरेकी रेस रौनियार यति बेला बुबाले भन्दा राम्रो शेयरको खेलो फड्को गर्न सक्ने भइसकेकी छन्। दिनको १२ बजे देखि तीन बजे सम्म बाउ छोरी नै शेयर बजारमा सक्रिय हुन्छन्। तर छोरीको नाममा जुन शेयर रौनियारले खरिद गरिदिएका थिए, तीनै शेयरले मात्रै कारोबार सुरु गरेकी रेसले अहिले करोड भन्दा माथिको पोर्ट फोलियो म्यनेज गरेको देखेर रौनियार दङ्ग छन्। "मैले गरेको इन्भेस्टमेन्ट खेर गएन। उनले मैले भन्दा फुर्तीका साथ पोर्टफोलियो म्यानेज गरेको देखेर म दङ्ग छु" रौनियारले भने।
सानैदेखि बाल बालिकाको नाममा शेयर खरिद गरिदिनु पर्ने धारणा रौनियारको छ। "बाल बालिकाको नाममा शेयर खरिद गरिदिँदा भविष्यमा एउटा गर्जो टर्छ। केही बालबालिका त यही पेशामा समेत भित्रिन्छन्" उनले आफ्नो छोरीको उदाहरण दिँदै भने। नभए पनि उनीहरूको उच्च शिक्षा लगायतमा निकै ठुलो भूमिका खेल्ने उनको भनाइ छ। यति बेलाको बचतले भन्दा लगानीले भविष्यमा ठुलो प्रतिफल दिने उनको भनाइ छ।
रौनियारले जस्तै नाबालकको नाममा शेयर खाता खोलिदिने क्रम बढेको छ। हरेक दिन हजारौँ मानिसले आफ्ना छोरा छोरीको नाममा खाता खोली रहेका छन्। उनीहरूको नाममा खोलिएको खाताबाट धेरै मानिसले शेयर आवेदन गर्ने क्रम बढ्दै गएको छ। पछिल्लो समय मात्रै करिब तीन लाख बालबालिकाको नाममा शेयर खाता खुलेका छन्। केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का अनुसार गत शुक्रवारसम्म दुई लाख ९७ हजार २८९ बालबालिकाको डिम्याट खाता खुलेको छ। उनीहरूको नाममा लाखौँ कित्ता शेयर रहेको सिडिएससिले जनाएको छ।
तर यसलाई केही अगुवाले भने चर्को विरोध गरिरहेका छन्। लगानीकर्ताकै अगुवाका रुपमा रहेका एक लगानीकर्ताले बजारमा बालबालिकाको दुरुपयोग भएको आरोप लगाएका छन्। मानिसहरूले १० कित्ता शेयर पाउने लोभमा नाबालकको नाममा शेयर खाता खोल्ने गरेको आरोप उनको छ। जबकि कुनै बालकले नागरिकता नबनाएसम्म उसलाई व्यावसायिक कारोबार गर्ने अधिकार हुँदैन। तर बालबालिका पनि शेयर बजारका सक्रिय लगानीकर्ता रुपमा देखिन थालेको उनको आरोप हो। बालबालिकाको नाममा शेयर किनिएको छ भने उनीहरूले शेयर बिक्री पनि गर्ने गर्छन्। नाबालकलाई शेयर खरिद बिक्रीमा प्रयोग गरिनु जायज नभएको उनको तर्क छ।
तर उता नियामक निकाय नेपाल धितोपत्र बोर्डले यसलाई सकारात्मक रुपमा लिने गरेको छ। बावु आमाले शेयर शेयर खरिद गरिदिनु भनेको दीर्घकालको लागि फाइदा जनक रहेको बोर्डका कर्यकारी निर्देशक नीरज गिरीको भनाई छ। "अहिले नाबालकको रुपमा हाले पनि भोलि त्यो शेयर साबालकको रुपमा आइहाल्छ। त्यसलाई पोजेटिभ मान्नु पर्छ। बोर्डको उद्देश्य भनेकै बजारमा लगानीकर्ता बढाउनु हो। जति धेरै लगानीकर्ता बढ्छन्। त्यति नै धेरै बजारमा फेयर प्राइस पाइन्छ" गिरिले भने।
तर यसो भनिरहदा बोर्डले सबैले छोराछोरीको नाममा शेयर किन्नै पर्छ भनेर बाध्य पार्न सक्दैन। तर किन्नेलाई नकिन भनेर निरुत्साहित पनि बोर्डले नगर्ने गरिएको भनाई छ। " बोर्डको तर्फबाट गर्नै पर्छ भनेर हामीले भन्न मिल्दैन। तर जसले गर्नु भएको छ। त्यो असाध्यै राम्रो विषय हो। किनभने बैंकमा पैसा राख्नु भन्दा लगानी गरिदिनु पर्ने रहेछ भन्ने जुन ट्रेन्डको विकास भएको छ। त्यसलाई बोर्डले पोजेटिभ रुपमा लिएको छ" गिरीले भने।