कर्पोरेट पे प्रणाली बैंक/वित्तीय संस्थाहरूका व्यावसायिक ग्राहकहरूको लागि सहज रुपमा डिजिटल भुक्तानी गर्नका लागि प्रदान गरिएको भुक्तानी प्ल्याटफर्म हो । यस प्रणालीको सुरुवातसँगै अब व्यवसायिक संस्थाहरूले नगद वा चेकको सट्टामा वैकल्पिक च्यानल प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । यी भुक्तानीहरू कनेक्ट आईपीएस मार्फत रियल टाईममा तथा एनसीएचएल आईपीएस मार्फत नन रियल टाईममा हुनेछन् ।
यस प्रणाली मार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, सामाजिक सुरक्षा कोषको योगदान भुक्तानी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषको भुक्तानी र अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी सजिलै गर्न सकिन्छ । कर्पोरेट पे सेवा लिनका लागि व्यावसायिक ग्राहकले आफ्नो बैंकमा सम्पर्क गरी एक पटक स्विकृती प्राप्त गर्नुपर्ने हुन्छ । यस पश्चात भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन्, भने सो सीमा भन्दा बढिको कारोबार गर्न भने बैंकले थप चेक जाँच पश्चात प्रोसेस हुने व्यवस्था रेहेको छ । साथै ग्राहकले आवश्यक्ता अनुरुप यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु पनि लिन्क गरी मल्टी लेयर अथेन्टिकेशनको सुरक्षित व्यवस्था सहित कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
कर्पोरेट पे प्रणालीको उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर माहा प्रसाद अधिकारीले भने “नेपाल राष्ट्र बैंकले लिएको समग्रमा डिजिटल भुक्तानीको इकोसिस्टम विकास गरी नगदबाट ईलेक्ट्रोनिक चेक हुँदै नगद रहित डिजिटल प्रणाली कार्यान्वयन गर्न एनसीएचएलले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। । नगदको प्रयोग कम गरी डिजिटल अर्थतन्त्र तिर जोड दिने नेपाल राष्ट्र बैंकको नीतीलाई आजको यस कर्पोरेट पे प्रणालीको सुरुवातले थप टेवा पुर्याउने विश्वास लिएका छौँ । कर्पोरेट पे प्रणाली मार्फत बैंक वित्तिय संस्थाका कर्पोरेट ग्राहकहरुको कारोबार पनि डिजिटलमा लगी नगद र चेकको प्रयोग उल्लेख्य घटाउन मद्दत पुग्ने छ ”