सेयर बजारमा कहिले काँही उल्टो बाटो हिँड्दा फाईदै फाईदा

Jun 22, 2021 02:54 PM merolagani

 तिलक कोइराला 

सेयर बजारमा सुल्टो हैन, उल्टो बाटो हिड्दा अहिले फाईदै फाईदा छ । बजारमा विभिन्न हल्ला चलेर सेयरको मूल्य उच्च दरले घटी जब लगानीकर्ताहरु रुवाबासी गर्न थाल्छन, तब छानी छानी सस्तो दरमा राम्रा कम्पनीहरुको सेयर किन्दै जाने र जब सेयरको मूल्य बढ्दै गएर राम्रो फाईदा हुन्छ तब नाफा गरेर सेयर बिक्री गर्ने नै उल्टो बाटो हो ।

यस्तो बाटो हिड्न जो कोही सक्दैनन् तर जो हिड्छन्, घाटासँग आक्कल झुक्कल साक्षात्कार हुन्छन्, नाफामाथि नाफा हुन्छ । अहिले नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको सेयरमा बढी चलखेल भएको भन्दै सूची सार्वजनिक गरेको बहानामा सेयरको मूल्य उच्च दरले घटाउने खेल भएको छ र लगानीकर्ताहरु आँत्तिएका छन् । चलाख लगानीकर्ताहरु भने यही मौकामा छानी छानी राम्रा कम्पनीहरुको सेयर किन्ने प्रयासमा हुन्छन् ।

धितोपत्र बोर्डको बिज्ञप्ति आउनु भन्दा अगाडि जसले महंगो दरमा सेयर बिक्री गरे र नाफा हात पारेर पैसा थुपारी बसेका छन्, उनीहरु त अहिले बजार अरु घटोस भन्ने कामना गरिरहेका होलान् । खराब र हकप्रदे कम्पनीमा नचाहिँदो ढंगले उचालिएकाहरुलाई बजारले एकहदसम्म सबक सिकाएको हुनुपर्छ तर यसले सुरक्षित लगानी गर्नेहरुलाई चाँही मौका सिर्जना गरेको छ । बजारले मौका दिएको छ, त्यसको सदुपयोग गरौं । नीति नियम, पुर्वाधार र प्रविधि कमजोर रहेको देशको पूँजी बजारमा अनेक खालका हल्लाहरु चलाईन्छन् । कहिले नेप्से र धितोपत्र बोर्डको बक्तब्य आउँछ त कहिले मौद्रिक नीति र बजेटको डर सिर्जना गरिन्छ ।

बजार पूर्ण रुपमा स्वचालित नहुँदाको कमजोरी समातेर खेलाडीहरुले नचाईरहन्छन् । त्यो बेला बुझेर सेयर बजारमा सही ढंगले लगानी गर्न सकियो भने कमाउने संभावना निकै धेरै छ । अहिले हकप्रदे र खराब कम्पनीमा त आँखा समेत लगाउनु हुन्न । राम्रा कम्पनीले अवसरहरु दिएका छन् । बजार घटाईको मारमा आत्तिएर जब नयाँ तथा साना लगानीकर्ताहरुले राम्रो कम्पनीको सेयर घाटा खाएर बेचिरहेका हुन्छन्, पहिले खराब कम्पनीमा उचालिएकाहरु लौ डुब्ने भईयो भन्दै जति मूल्यमा पायो त्यतिमै सेयर बेचेर भागिरहेका हुन्छन्, त्यसले बजार घटाईलाई सहयोग गर्छ ।

यही बीचमा कुनै अर्को नकारात्मक खबर वा सूचना बाहिरियो भने लगानीकर्ताहरुमा थप सन्त्रास पैदा हुन्छ । खेलाडीहरु बजार घटाउन यस्तै अस्त्रहरु प्रयोग गर्छन । विभिन्न नामधारी विश्लेषकहरु, सामाजिक संजाल र मिडियाहरुको भरपुर उपयोग गर्छन । सेयरको मूल्य बढाउँन पनि त्यस्तै अस्त्रको प्रयोग हुन्छ । सेयरको मूल्य बढ्दै गर्दा अरु बढ्छ भनेर उचाल्ने अनि घट्न थाल्दा अरु घट्छ भन्दै त्रास सिर्जना गर्ने तत्वहरु सक्रिय रहिरन्छन् । उनीहरुलेसमग्र लगानीकर्ता र बजारको हित भन्दा पनि आफ्नो अनुसारको हल्ला गरिरहेका हुन्छन् र सर्बसाधारण नयाँ लगानीकर्ता त्यसैको शिकार हुन्छन् ।

नयाँ तथा सर्बसाधारण लगानीकर्ताहरु सेयरको मूल्य बढ्दा मात्र किन्ने र घट्न थाल्दा घाटा खाएर बेचेर भाग्ने गर्दा भागदौडको अबस्था सेयर बजारमा जहिले पनि रहन्छ । सेयर बजारमा आउनेहरु सबैले सुरक्षित लगानी गर्छन, सबैलाई नाफा नैै हुन्छ भन्ने ठेक्का कसैले लिन सक्दैन । अरुतिरको बजारको उदाहरण हेर्दा पनि सेयर बजारमा आउने ९० प्रतिशत लगानीकर्ताले गुमाएका हुन्छन् । कहिले काँही नियमनकारी निकायहरु पनि सेयर बजारका खेलाडीहरुको अस्त्र बनिदिन्छन् । बजारका लागि सही र आबश्यक नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती गर्न छाडेर सेयरको मूल्य बढाउने र घटाउने खेलमा, कम्पनीको मूल्य तोक्ने खेलमा सरकार र निमायकहरु लागे भने बजारमा हुने नै यस्तै हो । बजारमा प्यानिक अबस्था सिर्जना हुन्छ । कहिले सेयरको मूल्य बबलिंग भएर जान्छ त कहिले सेयरको मूल्य एक कप चियाको मूल्य भन्दा पनि सस्तो हुन्छ ।

बजारमा हुने खेल र नीतिगत अस्थिरताले हाम्रो बजारलाई जहिले पनि प्रभावित पारिरहेको हुन्छ । यो कुरा सर्बसाधारण लगानीकर्ताले बुझ्नु जरुरी छ । अहिले खेलाडीहरु सकेसम्म सस्तो मूल्यमा सेयर उठाउँन पाईयोस भन्दै अनेक हल्ला चलाईरहेका छन् । यही खेल बुझेर सेयर बजारमा उल्टो बाटो हिड्दा फाईदै फाईदा छ । सेयरको भाउ माथि गएको बेला सेयर बिक्री गर्ने र तल झरेको बेला किनेर बस्नेले चिन्ता गर्नु पर्दैन । सेयर बजारको घटाईबाट बजारमा अवसर सिर्जना हुन्छ भने बढाईबाट फाईदा सुरक्षित गर्ने उत्तम विकल्प देखापर्छ । यसमा चुकियो भने पछुताउमा परिन्छ । लाभांश र पूँजीगत लाभको दुबै अबस्था हेरेर बजारमा लगानी गर्ने बेला यही हो । आउने ३ महिना भित्र लाभांश पनि पाईने र सेयरको मूल्य बढेर दोहोरो फाईदा हुने कम्पनी छनौट गर्न सकियो भने उल्टो बाटो हिडाईको उपलब्धि हासिल हुनेछ ।

(लेखक नेपाल पूँजी बजार विकास अभियानका संयोजक हुन्, यो उनको व्यक्तिगत मत हाे )

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।