लगानीकर्ताकाे तीब्र आलाेचना खेपिरहेका गभर्नरकाे शैक्षिक योग्यतामा प्रश्न, सिएकाे याेग्यताले मात्रै गभर्नर हुन मिल्छ ?

Sep 05, 2021 05:56 PM merolagani

सुवास निरौला

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे शैक्षिक याेग्यताले गभर्नर बन्न नमिल्ने भन्दै प्रश्न उठाउन थालिएकाे छ । केही दिन अघि सार्वजनिक भएकाे माैद्रिक नीतिकाे १२ कराेड क्यापकाे प्रावधानले बजार प्यानिक बनेपछि गभर्नर अधिकारीकाे याेग्यतामै प्रश्न उठाउन थालिएकाे हो।

ऐनमा के छ ?

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा सञ्चालकको योग्यता सम्बन्धी व्यवस्था छ। उक्त व्यवस्थामा गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्त हुनकोलागि चाहिने योग्यता तोकिएको छ।

जसको उपदफा (ग)मा “आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याँङ्कशाष्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको” हुनु पर्ने उल्लेख छ।

सोही दफालाई ऐनले स्पष्टीकरण दिँदै ”यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ,संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादा क्रमको हिसाबले सो पद भन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ” भनेको छ।

उक्त दफा अनुसार राष्ट्र बैंकको सञ्चालक समिति अध्यक्ष वा गभर्नर हुनलाई कम्तीमा पनि स्नातकोत्तर हुन आवश्यक छ। तर नेपाल राष्ट्र बैकको सञ्चालक समिति अध्यक्ष तथा गभर्नर महाप्रसाद अधिकारीले भने स्नातकोत्तर उपाधि योग्यता हासिल गरेको कतै खुलाइएको छैन।

नेपालका गभर्नर अधिकारीले अहिलेसम्म स्नातक र सिए मात्रैको योग्यता हासिल गरेको प्रमाण नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराएका छन्। उनले नेपाल राष्ट्र बैंकमा बुझाएको शैक्षिक योग्यतामा सबैभन्दा पहिले  श्री सिम्पानी सेकेण्डरी स्कुल खोटाङबाट प्रवेशिका तह पास गरेका छन्। उक्त विद्यालयमा २०३१ देखि २०३८ सालसम्म अध्ययन गरेको उनको चारित्रिक प्रमाण पत्रमा उल्लेख छ। जस अनुसार उनले २०३८ सालमा उक्त तह पास गरेका हुन्।

त्यसैगरी, उनले नमुना मच्छिन्द्र क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पास गरेको प्रमाण बुझाएका छन्। जसमा २०४२ सालमा उक्त तह पास गरेको उल्लेख छ। त्यसैगरी उनले नेपाल कमर्स क्याम्पसबाट २०४२ सालमा स्नातक गरेका छन्। स्नातक पछि उनले भारतको ‘द इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्ट अफ इन्डिया‘बाट २०४९ सालमा चार्टड एकाउन्टेन्ट गरेका छन्। जुन चार्टड एकाउन्टेन्टलाई त्रिभुवन बिश्व बिद्यालयले स्नातकाेत्तर सरह मानेकाे रहेनछ ।

 विश्व बिद्यालय के भन्छ ?

नेपालमा कुनै पनि शैक्षिक योग्यताको मापन त्रिभुवन विश्व विद्यालयले गर्ने गर्छ। तर त्रिभुवन विश्व विद्यालयले अहिलेसम्म सिएलाई कुनै पनि स्तरको शैक्षिक स्तर सो सरहको मान्यता दिएको छैन। उसले अहिले पनि सिएलाई उच्च तहकाे  एक प्राविधिक तालिमको रुपमा लिने गरेको छ। उक्त तालिम प्राप्त व्यक्तिलाई कुनै पनि स्तरको शैक्षिक योग्यता सरहको मान्यता भने दिने गरेको छैन। “त्रिभुवन विश्वविद्यालये सिएलाई अहिलेसम्म कुनै पनि स्तरको शैक्षिक स्तरको मान्यता दिएको छैन। सिएको प्रमाणपत्रको आधारमा सो सरहको समेत कुनै मान्यता दिइँदैन” त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रोफेसर डा. पेशल दाहालले मेरो लगानीसँग भने।

त्रिभुवन विश्व विद्यालयले कुनै शैक्षिक योग्यता नमान्ने भएकोले पछिल्लो समय सबै जसो सिएले शैक्षिक योग्यताकोलागि एकेडेमीक कोर्स अनिवार्य पुरा गर्ने गरेका छन्। उनीहरूलाई कुनै पनि ठाउँमा काम गर्न सजिलो होस् भन्नको लागि उनीहरूले थप अध्ययन गर्ने गरेका हुन्। तर अधिकारीले भने लामो समयदेखि त्रिभुवन विश्व विद्यालयले नै मान्यता नदिएको शैक्षिक योग्यताको आधारमा नेपाल राष्ट्र बैंक जस्तो संस्थाको सञ्चालक समिति अध्यक्ष तथा गभर्नर पद ओगट्न सफल भएका छन्। जुन राष्ट्र बैंक अनुसार छैन। यदि ऐनकाे बर्खिलाप नै हुने गरी कसैले नियुक्त गरेको भए नियुक्त गर्ने नेपाल सरकार समेत यसमा दोषी ठहरिने छ। 

माैद्रिक नीतिका कारण पूँजी बजारमा उल्टाे असर देखा परेपछि गभर्नरकाे याेग्यतामा पनि प्रश्न गर्न थालिएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।