नेप्सेमा आइतबार ११ अर्ब २४ करोड रुपियाँको शेयर कारोबार भएकोमा सबैभन्दा बढी कारोबार गर्ने १० ब्रोकरले मात्रै ७ अर्ब ८० करोड रुपियाँको कारोबार गरेको छ । कुल कारोबारमा १० उच्च कारोबार गर्ने ब्रोकरको हिस्सा मात्रै ६९.३९ प्रतिशत रहेको छ ।
नेप्सेको तथ्यांक अनुसार उच्च कारोबार गर्ने १० ब्रोकरमध्ये ७ ब्रोकरको बिक्री रकम भन्दा खरिद रकम बढी रहेको छ । बजारमा सधैं चर्चामा रहने ५८ नम्बर ब्रोकरले खरिद बिक्री अनुपातमा खरिदको अनुपात ६५.९५ प्रतिशत रहेको छ । तथ्यांक अनुसार ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिजले ७४ करोड ५० लाख रुपियाँको कुल कारोबार गरेकोमा ४९ करोड १३ लाख रुपियाँको शेयर खरिद गरेका छन् भने २५ करोड ३६ लाख रुपियाँको शेयर बिक्री गरेका छन् । त्यस्तै कुल ८५ करोड ४४ लाखको कारोबार गरेकाे ४९ नम्बरको अनलाइन सेक्युरिटिजले ५२ करोड ८७ लाख रुपियाँको शेयर खरिद गरेका छन् । यो कुल कारोबारको ६१.८८ प्रतिशत हो । त्यसैगरी ३८ नम्बरको दीपशिखा धितोपत्रले ७८ करोड ५९ लाखको शेयर कारोबार गरेकोमा ४३ करोड १० लाख रुपियाँको शेयर खरिद गरेका छन् । अन्य उच्च कारोबार गर्ने सूचीमा रहेका ब्रोकरले कुल कारोबारमा ५० प्रतिशतन्दा बढी नै रकमको शेयर खरिद गरेका छन् ।
उच्च रकमको शेयर बिक्री गर्ने ब्रोकरहरुमा ब्रोकर नं. ४५ इम्पेरियल सेक्युरिटिज, ब्रोकर नं. ४२ को सनी सेक्युरिटिज, ब्रोकर नं. ३२ प्रिमियर सेक्युरिटिज रहेका छन् । ४५ नम्बरको इम्पेरियलले कुल कारोबारको ५७.७३ प्रतिशत शेयर बिक्री गरेका छन् भने ४२ नम्बरको सनी सेक्युरिटिजले ५३.६९ प्रतिशत र ३२ नम्बरका प्रिमियर सेक्युरिटिजले ५५.१७ प्रतिशत शेयर बिक्री गरेका छन् ।