जलविद्युत कम्पनीमा एक खर्ब ३८ अर्ब लोन, बढेको ब्याजदरले नाफामा फरक पर्ला कि नपर्ला? यसो भन्छन् तामाकोशीका सिइओ

Sep 21, 2021 08:03 AM Merolagani

सुवास निरौला

पछिल्लो समय तरलता टाइट हुँदै गएको छ। टाइट हुँदै गएको तरलताका कारण बैंक तथा वित्तीय संस्थाले भटाभट ब्याजदर बढाउन थालेका छन्। उनीहरूले निक्षेपसँगै कर्जाको ब्याजदर समेत बढाउँदै लगेका छन्। यसले व्यवसायमा असर पर्ने अनुमान गर्न थालिएको छ।

विशेष गरी कर्जा लिएर व्यवसाय गरिरहेकाहरूलाई असर पर्ने अनुमान गर्न थालिएको हो। विविध व्यवसायमा बैंक वित्तीय संस्थाबाट ऋण लिने कम्पनीहरूमा सबैजसो जलविद्युत कम्पनीहरू पर्छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सबै जलविद्युत कम्पनीहरूले धेरै थोरै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन्। सूचीकृत कम्पनीहरूले प्रकाशित गरेको त्रैमासिक वित्तीय विवरण अनुसार उनीहरूले एक खर्ब ३८ अर्ब रुपैयाँ ऋण चलाएका छन्। सूचीकृत ४० कम्पनीले उक्त रकम बराबरको ऋण चलाएका हुन्।

ऋण चलाउने जलविद्युत कम्पनीको सूचीमा सबैभन्दा बढी ऋण रसुवागढी हाइड्रोपावरले चलाएको छ। उसले एक्लैले आठ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढी ऋण चलाएको छ। सबैभन्दा कम ऋण चलाउने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी छ। उसले नौ करोड १८ लाख रुपैयाँ चलाएको छ।

ऋण चलाउने कम्पनीहरूले अहिले देखिएको तरलता टाइटको अवस्था र बढेको ब्याजदरले भने कुनै फरक नपार्ने बताएका छन्। उनीहरूले नेपाल सरकार, सञ्चय कोष र केहीले बैंक तथा वित्तीय संस्थासँग ऋण चलाएको भएपनि स्थिर ब्याजदरमा बढी जसो जलविद्युत कम्पनीहरूले ऋण चलाएको कारण उनीहरूलाई अहिले आकस्मिक रुपमा बढेको ब्याजदर र तरलता असरले कुनै फरक नपार्ने बताएका छन्। पहिले नै चलाएको ऋणमा कुनै फरक नपरे पनि आउने दिनमा लिनुपर्ने ऋणको लागि भने फरक पर्ने जलविद्युत कम्पनीहरूको भनाइ छ।

सबैभन्दा बढी ऋण चलाएको रसुवागढीलाई बढेको ब्याजदरले भने कुनै फरक नपार्ने बताएको छ। उसले बैंक तथा वित्तीय संस्थासँग भन्दा पनि संस्थागत ऋण बढी चलाएको कारण उसलाई कुनै असर नपर्ने कम्पनीको जिकिर छ। कम्पनीले धेरै जसो ऋण कर्मचारी सञ्चयकोषबाट चलाएको छ। उसले कोषबाट पहिले नै निश्चित ब्याजदर भुक्तान गर्ने सम्झौता सहित ऋण चलाएकोले पनि उसलाई बढेको ब्याजदरले कुनै फरक नपार्ने बताइएको हो। “हामीले धेरैजसो ऋण कर्मचारी सञ्चयकोषबाट चलाएका छौ। कोषसँग निश्चित ब्याजदर दिने गरी ऋण चलाएको भएर पनि अहिले बढेको ब्याजदरले हामीलाई खासै फरक पार्दैन,” कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व मल्लले मेरोलगानीसँग भने।   

दोस्रो बढी ऋण चलाएको अपर तामाकोशीलाई पनि बढेको ब्याजदरले  तत्काल कुनै फरक नपार्ने बताएको छ। पहिलेको ऋण भएको कारण बढेको ब्याजदरले कुनै फरक नपार्ने तामाकोशी जलविद्युत आयोजना प्रमुख विज्ञान प्रसाद श्रेष्ठले बताए। आयोजनले लिएको धेरै जसो ऋण नेपाल सरकार र अन्य संस्थाहरूबाट प्रवाह भएकोले आयोजनालाई बढेको ब्याजदरले कुनै फरक नपार्ने श्रेष्ठको भनाइ छ। “हामीलाई बढेको ब्याजदरले तत्कालको लागि कुनै फरक पार्दैन। किनकि बैंकहरूसँग भन्दा पनि बढी सरकार संस्थागत ऋण छ। उक्त ऋणको ब्याजदर पहिले नै तय हुने भएकोले बढेको ब्याजदरले कुनै फरक पार्दैन,” श्रेष्ठले मेरोलगानीसँग भने।

धेरै जसो जलविद्युत कम्पनीहरूले स्थिर ब्याजदर मै ऋण लिने भएकोले पनि तलमाथि भई रहने ब्याजदरले जलविद्युत कम्पनीहरूलाई खासै असर नगर्ने श्रेष्ठको भनाइ छ। तर, कसैले नयाँ ऋण लिँदैछ भने उसलाई भने फरक पर्न सक्ने श्रेष्ठले बताए। “अहिले तत्कालै बढेको ब्याजदरले जलविद्युत कम्पनीहरूको पुरानो ऋणमा फरक नपार्ने भएपनि नयाँ ऋण लिनेहरूलाई भने थोरै महँगो पर्न सक्छ,” श्रेष्ठले भने।  

पुरानो ऋणमा खासै फरक नपार्ने भएकोले पनि कम्पनीको नाफामा समेत यसले खासै हिट गर्ने छैन। तर, नयाँ कम्पनी भए उसको भने लागत बढ्दा थोरै नाफा प्रभावित हुन सक्नेछ। 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।