रेमिट्यान्स कम्पनीकाे चाडबाड धमाका, कम्पनीका अफरले रेमिटेन्स भित्र्याउने होडबाजी

Sep 21, 2021 02:27 PM MeroLagani

बाबुकृष्ण महर्जन
हरेक वर्ष दशैं तिहारको समयमा नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि हुने गरेकोे छ । पछिल्लो समय कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जाने कामदार संख्यामा कमी आए पनि नेपाल भित्रिने रेमिट्यान्समा भने वृद्धि नै देखिएको छ ।

अहिले रेमिटेन्स अधिक मात्रामा नेपाल पठाउने समय नै हो । दशैं, तिहार तथा छठ लगायतका चाडबाडमा विदेशमा काम गर्ने नेपालीहरुले अनिवार्य रुपले घरमा पैसा पठाउँछन् । रेमिटेन्स कम्पनीहरुले अत्याधिक रेमिटेन्स भित्रिने यहि समयलाई लक्षित गरेर उपभोक्ता आकर्षित गर्न बिभिन्न अफरहरु ल्याईरहेका छन् । विगतमा पनि दशैं तिहार लक्षित गरेर नै कम्पनीहरुले विविध अफरहरु ल्याउने गरेका थिए । दशै आउन अझै दुई हप्ता बाँकी रहे पनि रेमिट्यान्स पठाएर घर परिवारमा दशैं खर्चको जोहो गर्नुपर्ने हुनाले अलिक चाँडै नै यस्ता अफर आउने गरेको हो । सामान्यतया दशैं आउनु दुई हप्ता अगाडि अफर शुरु भएर तिहार÷छठसम्म यस्ता अफर रहने गरेको छ । सो अवधिमा सामान्य अवस्थामा भन्दा १० देखि १५ प्रतिशतसम्म बढी रेमिट्यान्स भित्रिने गरेको रेमिट्यान्स एसोसिएसनका अध्यक्ष एवम् आइएमई मनी ट्रान्सफर(आइएमई) का प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

अहिले रेमिटेन्स कम्पनीहरुले विभिन्न अफर दिएर रकम भित्र्याउन खोजिरहेका छन् भने केन्द्रीय बैंकले पनि निर्देशित रुपमा रेमिट्यान्सलाई बढी व्याज दिएर प्रोत्साहन गरेको अवस्था छ । हुण्डीलाई निरुत्साहित गरेर बैकिङ च्यानलमार्फत रकम भित्र्याउन प्रोत्साहित गर्न रेमिटेन्स रकम बैक निक्षेपका रुपमा राखेमा सामान्यभन्दा १ प्रतिशत बढी व्याज दिएर प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको छ ।
आइएमईले दशैं लक्षित गरेर ‘डबलको डबल अफर’ सार्वजनिक गरेको छ ।

असोज १ गतेदेखि २६ कात्तिकसम्म लागू हुने सो अफर अनुसार विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिनेछ । त्यसमा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महीना दुई जनालाई पठाएको रकमको डबलको डबल (चौगुणा) उपहार जित्न सकिने कम्पनीले जनाएको छ । उक्त रकम आइएमई–पे वालेटमा प्राप्त गर्दा २०० रुपैयाँ थप बोनस समेत पाइन्छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले समय–समयमा ल्याइने यस्ता अफरले कम्पनी र सेवाग्राहीबीचको सम्बन्धलाई अझै मजबूत बनाउने विश्वास व्यक्त गरे। अफरका विजेता छनोटका लागि ‘लक्की ड्र’ गरिनेछ। सेवाग्राहीले रेमिट्यान्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना अवधिभर सुरक्षित राख्नुपर्नेछ।

त्यसैगरी दशैं तिहारकै अवसरमा वेस्टर्न युनियनले नेपालमा ‘क्यासउत्सव’ प्रबद्र्धन योजना ल्याएको छ । यस योजनामा ग्राहकहरुले असोज १ गतेदेखि कात्तिक २५ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत् नगद पुरस्कार जित्न सक्नेछन् । यो प्रबद्र्धनमा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्टहरु एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता ५ जना भाग्यशाली विजेताले २० हजार रुपियाँ जित्न सक्नेछन् । यस बाहेक, प्रबद्र्धन अवधिभर सम्पूर्ण योग्य कारोबारहरु स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछन् । यस योजनाको बम्पर लक्की ड्र मंसिर ६ गते गरिनेछ । जसमा १ जना भाग्यशाली विजेताले नगद ५ लाख रुपियाँसम्म जित्न सक्नेछ । वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एसएस रमानाथनले नेपाली प्रवासीहरुको मेहनत र बलिदानलाई कदर गर्दै उनीहरुको परिवारजनका लागि दशैंको ‘क्यास उत्सव’ प्रबद्र्धन योजना ल्याएको जनाउँदै प्रबद्र्धन भनेको चाडपर्वको समयमा ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका भएको बताए ।

त्यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना ल्याएको छ । सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैंया उपहार प्रदान गरिने छ भने हरेक महिना ५ जनालाई एक एक लाख रुपैंयाको दरले २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् । अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । 

१ खर्बले बढयो रेमिटेन्स
गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा करिब एक खर्ब रूपैयाँले रेमिटेन्स बढेको छ । कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिटेन्स आप्रवाह भने वृद्धि भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ९ खर्ब ६१ अर्ब पाँच करोड रूपैयाँ रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष ८ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।


अघिल्लो वर्षको तुलनामा गत वर्ष ९.८ प्रतिशतले रेमिटेन्स आप्रवाहमा वृद्धि भएको हो । कोभिड–१९ को विश्वव्यापी महाहारीका कारण श्रम गन्तव्य देशहरु नै बढी प्रभावित भएकाले रेमिट्यान्स प्रभावित हुने आँकलन विपरित आश्चर्यजनक ढंगले वृद्धि देखिएको हो । आर्थिक वर्ष २०७५÷७६ को तुलनामा आर्थिक वर्ष २०७६÷७७ मा रेमिटेन्स आप्रवाहमा केही गिरावट आएकाले पनि यस्तो आंकलन गरिएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५÷७६ को तुलनामा २०७६÷७७ मा करिब चार अर्ब रूपैयाँले रेमिटेन्समा गिरावट आएको थियो। आर्थिक वर्ष २०७६÷७७ को चैतपछि नेपाल कोरोना महामारीबाट प्रभावित हुन शुरु गरेकोे हो। त्यसलगत्तै नेपालीहरू रोजगारीका लागि जाने गन्तव्य मुलुक पनि महामारीबाट प्रभावित हुने क्रम सुरु भएको थियो। आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विदेशमा समेत लकडाउन भएको र असारमा खुलेसँगै एकैपटक ठूलो रकम आएको कारण ठूलो रकम रेमिटेन्सको रुपमा देखिएको बताए । ठूला लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले भने शेयर बजारमा लगानी बढेकाले रेमिट्यान्स बढेको प्रतिक्रिया दिए ।

महामारीमा रेमिटेन्सको आप्रवाह वृद्धि हुनुलाई हुन्डी कारोबारमा कमी आउनुको रुपमा समेत मान्ने गरिएको छ । हवाई यातायात ठप्प हुँदा हुण्डी कारोबारीको कारोबारमा कमी आयो । यसले पनि रेमिट्यान्स बढ्न सहयोग पुगेको रेमिट्यान्स कारोबारीहरु बताउँछन् । महामारीको बेला गन्तव्य मुलुकमा रहेका नेपालीको फजुल खर्च नियन्त्रण हुनु र विलासिताका सामान खरिदमा कमी आउनुलाई पनि रेमिटेन्स वृद्धिको आधार मान्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट हुण्डी कारोबारलाई निरुत्साहित गर्ने र विप्रेषण बंैकिङ्ग प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकिङ्ग प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत बिन्दु थप ब्याज पाउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको साउनमा ९३ अर्ब, भदौमा ७३ अर्ब, असोजमा ९३ अर्ब, कात्तिकमा ७८.९ अर्ब, मंसिरमा ७९ अर्ब, पुसमा साढे ७८ अर्ब, माघमा साढे ७२ अर्ब, फागुनमा साढे ७४ अर्ब, चैतमा ८७ अर्ब, वैशाखमा ८१ अर्ब, जेठमा ६१ अर्ब र असारमा साढे ९० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, साउदी अरेबियालगायतका गन्तव्य मुलुकबाट धेरै रेमिटेन्स नेपाल भित्रिएको छ भने दक्षिण कोरियामा नेपालीहरु जान पाएको भए थप रेमिटेन्स भित्रिने आशा गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।