विगतका बर्षहरुमा दशैं तथा तिहार पर्वहरुमा अघिपछि भन्दा ४० प्रतिशत समान विक्री हुने गथ्र्यो । तर, अहिले नेपालमा चलेका लोकप्रिय ब्रान्ड सामसुङ्, एमआई,ओप्पो, भिभो लगाएतका कम्पनीसँग प्रयाप्त मोबाइल छैनन् ।
मोबाइल खरिद गर्न गएका ग्राहकलाई यतिवेला बुकिङ गराएर फर्काउनुपर्ने बाध्यता छ भने चाडपर्वको लागि कम्पनीहरुसँग नयाँ प्रोडक्ट पनि छैनन् ।
तथ्याङ्कले भने नेपालमा मोबाइल आयात दोब्बरले बढिरहेको पुष्टि गर्छ । विगत ५ बर्षको तथ्याङ्क हेर्ने हो भने ६२ प्रतिशतले नेपालमा मोबाइल फोनको माग बढेको छ । गत आव २०७७÷०७८ मा मोबाइल आयातले नयाँ रेकर्ड नै कायम गरेको छ ।
के भन्छ तथ्याङ्क?
आर्थिक बर्ष २०७३/७४मा २२ अर्ब ६६ करोड रुपैयाँका ५९ लाख मोबाइल सेट नेपाल भित्रिएको थियो । ०७४/७५मा आयात बढेर २४ अर्ब पुगेको थियो ।
नेपालमा कोरोना भाइरस फैलिएपछि मोबाइल आयात पनि केही असर परेको देखिन्छ । कोरोना भाइरस संक्रमण र बन्दाबन्दीको समयमा मोबाइल आयात घटेको तथ्याङ्कमा उल्लेख छ ।
जसमा २०७५/७६मा १९ अर्ब र २०७६/७७मा १८ अर्बका ४३ लाख मोबाइल सेट आयात भएको थियो । कोभिडको समयमा अनलाइन गतिविधि र भर्चुअल क्रियाकलाप बढेपछि २०७७/ ७८ मा आएर मोबाइल आयातले नयाँ रेकर्ड कायम गर्यो ।
गत आवमा मात्रै नेपालमा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरका ७० लाख मोबाइल फोन नेपाल आयात भएको भन्सार विभागको तथ्याङ्कले बताएको छ ।
आयातले नयाँ रेकर्ड कायम गरेपनि चाडपर्वको मुखमा बजारमा मोबाइल फोन अभाव छ । अहिले मोबाइल व्यवसायीको भनाई र तथ्याङक बाझिएको छ । चालु आव २०७८÷७९को पहिलो महिना साउनमा मात्रै ४ अर्ब रुपैयाँका फोन नेपाल आएका छन ।
मोबाइलको अभाव भएकै हो ?
मोबाइल आयातको तथ्याङ्क हेर्दा नेपालमा मोबाइल आयात बढेकाे बढै छ । तर,व्यवसायीले दशैंको मुखमा किन मोबाइलको अभाव छ भनिरहेका छन भन्ने प्रश्न चिन्ह खडा हुन्छ ।
मोबाइल आयात कर्ता संघका उपाध्यक्ष सञ्जय अग्रवालले मोबाइल आयात र डिमान्ड बढिरहे पनि बजारमा चल्ती रेन्जका फोन नआएको बताए । ‘नेपालमा हाल महङ्गो मूल्य पर्ने मोडल आइरहेको छ’ अग्रवालले भने ‘जुन प्रोडक्टहरु ग्राहकले खोजिरहेको छ ती मोडल अभाव भएको हो’ ।
उनका अनुसार नेपालीले १५ देखि ४० हजारसम्मको मोबाइल अत्याधिक प्रयोग गर्ने र अहिले बजारमा यी रेन्जकै फोनको माग व्यापक छ । नेपालका मोबाइल वितरक कम्पनीहरुसँग मिडरेन्जका मोबाइल यो समयमा नभएकै अवस्था रहेको उपाध्यक्ष अग्रवालको भनाई छ ।
खासगरी नेपालमा माग भए बमाजिमको मोबाइलहरु पर्याप्त व्यवसायीले ल्याउन नसकेको स्वीकार गर्छन । डिमान्ड कम भएका मोबाइल बढी आइरहेको कारणपनि बजारमा मोबाइल अभाव भएको जस्तो देखिएको हो ।
नेपालको ८० प्रतिशत मोबाइल बजार एमआई र सामसुङको रहेको छ । यी दुई ठूला कम्पनीसँग मिडरेन्जका फोन अहिलेको अवस्थामा नभएको व्यवसायी बताउँछन् ।
अग्रवाल भन्छन, मोबाइल उत्पादकबाटै चिप्स अभावले मिडरेन्जका फोन नआएपछि महङ्गो मोबाइल मगाउनुपर्ने बाध्यता रहेको छ ।
कोभिडको बीचमा ग्याजेट तथा मोबाइलफोन सोचेभन्दा बढी बिक्री भएको र अहिले पनि बजारमा माग उत्तिकै रहेका कारण उत्पादकले चाहे जति समान दिन नसकेको व्यवसायीहरुको भनाई छ ।
मोबाइल बजारको हब मानिने न्यूरोड,ताम्राकार हाउस तथा मोबाइलका मुख्य डिलमा आफुले रोजेको मोबाइल पाइँदैन ।