शेयर लाभांश कि नगद लाभांश ?

Oct 26, 2021 03:19 PM MeroLagani

बाबुकृष्ण महर्जन

अहिले शेयर बजारमा लाभांशको सिजन छ । नेपालको बजार लाभांशमा पनि बोनस लाभांशले तात्तिने गरेको छ । नगद लाभांश घोषणा गर्दा उल्टो सर्किट लागेर बजार घट्ने गरेको उदाहरण हालै घोषणा गरेका २–३ वटा कम्पनीको लाभांशले देखाइसकेको छ ।

शिवम सिमेन्टले अहिलेसम्मकै सबैन्दा धेरै लाभांश २९ प्रतिशत घोषणा ग¥यो तर उसले सबै लाभांशमा नगदको अंश शतप्रतिशत थियो । नगद लाभांश घोषणा भएको दिन उक्त कम्पनीको शेयर मूल्य अत्यधिक अंकले घटेको थियो । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले पनि ५.५ प्रतिशत नगद लाभांश नै घोषणा ग¥यो । घोषणा गरेकै दिन कम्पनीको शेयर नकारात्मक सर्किट लागेर कारोबार बन्द भयो । यसबाट नेपाली लगानीकर्ताहरु नगद लाभांशमा आकर्षित नभएको ठहर्छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि लाभांश दिँदा बोनस शेयरलाई नै प्राथमिकतामा राखेको छ । नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकले ८.५ प्रतिशतको दरले नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त लाभांश केन्द्रीय बैंकबाट पारित नभएपछि पुनः ८ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि मात्र नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसैगरी हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । राष्ट्र बैंकबाट सो प्रस्ताव पारित नभएपछि पुनः बोनसलाई बढाएर १२.६११ प्रतिशत र नगद लाभांशलाई घटाएर ३.३८९ प्रतिशत पु¥याइएको छ । अहिलेसम्म वित्तीय संस्थामध्ये सबैभन्दा बढी लाभांश महिला लघुवित्त वित्तीय संस्थाले घोषणा गरेको छ । उसले ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । सो लघुवित्तको पनि पछि लाभांश संशोधन भएर ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश पाउने भएको छ । महिलाको लाभांश घोषणा हुँदाको पहिलो कारोबार दिनमा बजार १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक लागेको थियो । पछिल्लो समय नगद लाभांश बढी दिएका सबै कम्पनीहरुको लाभांश परिमार्जन भएर आएकाले कतै एनआइसी लघुवित्तको पनि लाभांश परिमार्जन हुने होइन भन्ने आशंकामा लगानीकर्ता रहेको देखिएको छ ।

नेपालको शेयर बजारमा नगद लाभांश धेरै दिने कम्पनीको शेयर मूल्य सबैभन्दा बढी रहेको छ । युनिलिभर नेपाल लिमिटेडको शेयर मूल्य २० हजारदेखि ३० हजार बीचमा रहने गरेको छ । यो कम्पनी सम्भवतः नेपालमा सबैभन्दा बढी प्रतिशतमा लाभांश दिने कम्पनी पनि हो । कम्पनीले न्यूनतम १ सय प्रतिशत देखि १२७० प्रतिशतसम्म लाभांश दिएको तथ्यांक छ । कोरोना महामारीकै समयमा पनि युनिलिभरले शतप्रतिशत लाभांश दिएको इतिहास छ । गत वर्ष कोरोना महामारीका कारण सबै उद्योग व्यवसायको नाफा सुकेको बेला पनि यस कम्पनीले १ सय प्रतिशत लाभांश दिएको थियो जुन अहिलेसम्मकै सबैभन्दा कम लाभांश हो । आइतबार यस कम्पनीको शेयर मूल्य १९ हजार ५ सय रुपियाँको हाराहारीमा छ । त्यस्तै सधै नगद लाभांश मात्रै दिने अर्को कम्पनी नेपाल टेलिकम हो । उक्त कम्पनीले पनि हरेक वर्ष ४० प्रतिशतदेखि ५५ प्रतिशत नगद लाभांश दिएको छ । धेरै वर्षसम्म ६ सयदेखि ८ सयको मूल्य सीमाभित्र रहेको यो कम्पनीले गत वर्ष बोनस शेयर दिने हल्लासँगै १५ सय रुपियाँसम्म शेयर मूल्य पुगेको थियो । अहिले पछिल्लो १ महिनाको घट्दो बजारमा पनि यो कम्पनीको शेयर मूल्य ९ सय ५० देखि १ हजार ५० सम्मको सीमा भित्र रहेर कारोबार भइरहेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सुचीकृत एक मात्र सिमेन्ट कम्पनी शिवम् सिमेन्टले पनि अहिलेसम्म लगानीकर्तालाई लाभांशको रुपमा बोनस शेयर दिएको इतिहास छैन । यस वर्ष कम्पनीले सबैभन्दा बढी २९ प्रतिशत लाभांश दिएको छ तर पनि बजार मूल्य भने लाभांश घोषणा गरेकै दिन उल्टो शेयर मूल्य घटेर बन्द भयो ।
अन्तर्राष्ट्रिय शेयर बजारमा भने बोनस शेयर भन्दा नगद लाभांशलाई नै प्राथमिकता दिने गरिन्छ । त्यसैकारण नेपालमा पनि बाह्य देशको लगानी रहेको एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंकलगायतका बैंकहरुले नगद लाभांशलाई नै प्राथमिकता दिने गरेको छ । नेपाली लगानीकर्ताहरुको चाहना भने बोनस शेयरमा हुँदा मिश्रित समाधान स्वरुप आजकाल बोनस शेयर र नगद लाभांशको मिश्रणको रुपमा लाभांश घोषणा गर्ने गरेका छन् ।

शेयर विश्लेषक रविन्द्र भट्टराईले नेपालको परिवेशमा बोनस शेयर दिने कम्पनी राम्रो हुने बताउँछन् । ‘५ वर्ष अघिको कुनै कम्पनीको पुँजीकरण र अहिलेको सोही कम्पनीको पुँजीकरण हेरेर नै यसलाई तुलना गर्न सकिन्छ । बोनस दिने कम्पनी हो भने अहिलेको अवस्थामा सो कम्पनीको पुँजीकरण पक्कै पनि बढी नै भएको हुन्छ ।’– उनले भने ।

बोनस भनेको कम्पनीले कमाएको नाफाबाट आफ्ना शेयरधनीहरुलाई सित्तैमा वितरण गर्ने हो। अर्थात् कम्पनी बलियो भएपछि आफ्नो रिजर्भबाट शेयर संख्या बढाएर फेरि लगानीका लागि नै बोनस दिने भएकाले नेपालको सन्दर्भमा बढी बोनस शेयर दिने कम्पनी छान्ने गरिएको उनले बताए ।
बोनससँगै कम्पनीले प्रतिशेयर आम्दानी पनि कायम गर्न सक्नुपर्छ । बोनस दिएर पनि प्रति शेयर आम्दानी पहिलाकै तुलनामा कायम गर्न सकेन भने त्यो कम्पनीलाई राम्रो भन्न मिल्दैन। यसको अर्थ पुँजी बढाएको तुलनामा उक्त कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न सकेन ।

नेपालमा लाभांश नगद होस् वा बोनस शेयर । लाभांशको ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कहिलेकाँही बोनस शेयर मात्र दिएर पुँजीगत लाभकरको लागि भने लगानीकर्ताबाट पैसा असुल गरेर दुःख दिने परिपाटी पनि केही कम्पनीहरुको देखिएको छ । रेवतबहादुर कार्की नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुँदा भित्र्याएको १० कित्ता शेयर विततरण प्रणालीले गर्दा धेरै सर्वसाधारण लगानीकर्तासँग १० कित्ता शेयर हुन्छ । १० कित्ता शेयर हुनेले १० प्रतिशत बोनस शेयर पाउँदा १ कित्ता बोनस पाउँछ । उक्त शेयरबापत् तिर्नुपर्ने कर कम्पनीले नदिँदा १ कित्ता शेयरको लागि ५ प्रतिशत करबापत् ५ रुपियाँ करको लागि कम्पनीले नचाँहिदो दुःख दिने गरेको लगानीकर्ताहरु गुनासो गर्छन् ।

नेपालमा बोनस शेयर लाभांश दिँदा बजार मूल्यको समायोजन हुन्छ भने नगद लाभांसको सवालमा भने सामान्यतया समायोजन हुँदैन । नेपालमा भने नगद लाभांश दर बुक क्लोजमूल्यको १० प्रतिशत बढी भए मात्र मूल्य समायोजन हुने व्यवस्था छ । साधारणतया सामूहिक लगानी कोषले दिने नगद लाभांशमा मात्र बजार मूल्यको समायोजन भएको नेपालको शेयर बजारमा देख्न पाइन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।