पुनर्बीमा कम्पनीलाई उचित प्रतिफल दिने संस्थाको रुपमा सबैले चिनुन् भन्ने मेरो चाहना र योजना छः अध्यक्ष डा. घिमिरे

Nov 12, 2021 05:11 PM Merolagani

कात्तिक ८ गते बसेको मन्त्रिपरिषद्को निर्णयले नेपाल पुनर्बीमा कम्पनी सञ्चालक समितिको अध्यक्षमा बीमा बिज्ञ डा. रबिन्द्र घिमिरेलाई नियुक्ति गरेको छ । बीमा क्षेत्रमा निकै अनुभवी डा. घिमिरेले नेपाल पुनर्बीमा कम्पनीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

नेपाल पुनर्बीमा कम्पनी सञ्चालनमा आएपछि करिव ७ अर्बको प्रिमियम बिदेश जान रोकिएको छ । नेपालमा नै पुनर्बीमा कम्पनीको ‘स्कोप’ देखेर धमाधम नयाँ पुनर्बीमा कम्पनीको स्थापना गर्ने तयारी पनि भइरहेको छ । १९ जीवन बीमा कम्पनी र २० निर्जीवन बीमा कम्पनीबीच तिब्र प्रतिस्पर्धा देखिएजस्तै पुनर्बीमा कम्पनीबीच पनि तिब्र प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । प्रस्पिर्धामा नेपाल पुनर्बीमा कम्पनी कसरी खरो रुपमा उत्रेला भन्ने चासो बढेको छ ।

यसैगरी, पुनर्बीमाका लागि आंशिक रुपमा विदेशमा जाने रकम रोकिएपनि पूर्ण रुपमा रोकिएको छैन् । पूर्ण रुपमा विदेश जानु पर्ने अवस्थाका अन्त्य सम्भव छ कि छैन ? भन्ने जन चासो पनि त्यतिकै छ । साथै, विदेशबाट नेपालमा पुनर्बीमा गराउन सक्ने सम्भावना छ कि छैन् ? नेपालमा पुनर्बीमा कम्पनीका चुनौतीहरु पनि प्रशस्तै छन् भन्ने पनि गरिएको छ ।

यी यस्तै जिज्ञासा मेटाउने प्रयास नेपाल पुनर्बीमा कम्पनीका नब नियुक्त अध्यक्ष डा. घिमिरेबाट गरेका छौं । मेरोलगानीका विष्णु बेल्वासले बीमा क्षेत्रमा निकै अनुभवी तपाई हालै मात्र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष हुनु भएको छ । नेपाल पुनर्बीमा कम्पनीलाई निकै उचाइमा पुर्याउने अपेक्षा तपाईबाट गरिएको छ । के कस्ता काम गर्ने योजना बनाउनु भएको छ ? भनि पहिलो प्रश्न राखेका थिए । त्यसको जवाफ दिँदै उनले भने,

म अध्ययन अनुसन्धानमा संलग्न व्यक्तिलाई व्यवसायिक संस्थाको जिम्मेवारी प्राप्त भएको छ । हुन त पुनर्बीमाले व्यवसाय मात्रै गर्दैन, व्यवसायिक वातावरण तयार गर्नका लागि नियमनकारी निकायलाई सहयोग पनि गर्दछ भने बीमा कम्पनीहरुको क्षमता अभिबृद्धिका लागि धेरै कामहरु गर्दछ । पुनर्बीमा कम्पनीले विश्वविद्यालय शिक्षा र तालीमामा पनि सहयोग गर्दछ । अनुसन्धानमा पनि यसको भुमिका हुने गर्दछ । यसर्थ पुनर्बीमा कम्पनीले व्यवसाय गर्नुको साथै शैक्षिक, सामाजिक कार्यमा पनि संलग्न हुने हुँदा यो मेरो रुचिको बिषय पनि हो ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई एशियाको एक अब्बल दर्जाको कम्पनीको रुपमा विकास गर्ने र एक विश्वास योग्य कम्पनीको रुपमा बिश्वमा स्थापित गर्ने, उचित प्रतिफल दिने र सामाजिक उत्तरदायित्व पूरा गर्ने संस्थाको रुपमा सबैले चिनुन् भन्ने मेरो चाहना र योजना रहेको छ ।

हाल कम्पनीमा दक्ष जनशक्तिको अभाव छ, सूचना प्रविधिलाई चाहे अनुरुप प्रयोग गर्न सकिरहेका छैनौं तैपनि यसको शाख बजारमा राम्रो छ ।

नेपालमा पुनर्बीमा कम्पनीका चुनौतिहरु के कस्ता छन् ? ती चुनौतिलाई पार लगाउन के गर्नु पर्छ जस्तो तपाईलाई लागेको छ ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चुनौती भनेको स्वदेशी बीमा बजारमा दक्ष जनशक्तिको अभाव, पारदर्शीताको कमी, अस्वस्थ्य प्रतिस्पर्धा र नियम, कानून र नियमनकारी निकायबाट जारी निर्देशिकाको पूर्ण रुपमा परिपालना हुन नसक्नु हुन् । हुन त यी क्षेत्रमा बिगतको तुलनामा अहिले निकै सुधार भइरहेको छ र भबिष्यमा निकै सुधार हुने नै छ ।

आज हाम्रो कम्पनीलाई एशियाका बीमा बजारका खेलाडीले राम्रोसँग चिन्दछन् । हाम्रो चुनौती भनेको युरोप तथा अमेरिकामा पहिचान बनाउनु हो । यस्ता चुनौतीबाट पार पाउनका लागि दक्ष जनशक्तिको विकास गर्ने,विश्व बजारको जोखिम लिने र हस्तान्तरण गर्ने र विश्वका बीमा तथा पुनर्बीमा कम्पनीहरुसँग व्यवसायीक सम्बन्ध स्थापित गर्नु नै हो ।

यस बाहेक, सबै बीमा कम्पनीलाई लगानीको अवसर कम हुने, ठगी र जालसाजीले गर्दा खर्च बढ्ने जस्ता चुनौती रहेका छन् ।

यी चुनौतीलाई छिचोल्नका लागि दरिलो नियमनकारी निकायको भूमिका प्रमुख हुन्छ भने हामीले पनि इमान्दारीका साथ व्यवसाय गर्नु पर्दछ । हामी व्यवसायिक हुनु जरुरी छ ।

नेपालमा पुनर्बीमा कम्पनीका अवसर पनि छन भनिन्छ । ती अवसरलाई कसरी उपयोग गर्ने सोचाइमा हुुनुहुन्छ ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको मुख्य अवसर भनेको नेपालको बजार बिस्तार गर्ने हो किनकी नेपालको बजार असीमित छ । साथै, एशियाको बजारको सम्भावना पनि अति नै धेरै छ । यसबाट हामीले निकै फाइदा लिन सक्दछौं । यी अवसरको उपयोग गर्नका लागि नयाँ रणनीति बनाएर अघि बढ्नु जरुरी छ ।

पहिला नेपालमा पुनर्बीमा गराउनका लागि नेपाल पुनर्बीमा कम्पनी मात्र थियो । अहिले हिमालयन रिइन्स्योरेन्स कम्पनी पनि थपिएको छ । त्यसैगरी, अन्य रिइन्स्योरेन्स कम्पनी पनि आउने तयारी गर्दैछन् । पुनर्बीमा कम्पनी बीच प्रतिस्पर्धा बढ्ने सम्भावना देखिएको छ । प्रस्पिर्धामा नेपाल पुनर्बीमा कम्पनीलाई कसरी खरो रुपमा उतार्ने तयारी गर्नु भएको छ ?

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड सरकारी स्वामित्वको कम्पनी हुनुको नाताले यसलाई राज्यबाट खास सुविधा प्राप्त हुँदै आएको छ । सरकारी संरक्षणका कारण पनि विश्व बजारमा यसको छवि राम्रो रहेको छ ।
यस बाहेक यसको पहिचान एशियामा राम्रो रहेको छ भने आगामी दिनमा यो शाखलाई कायम गर्दै विश्व बजारमा प्रवेश गर्ने हाम्रो योजना रहेको छ । प्रतिस्पर्धाले नै कम्पनीलाई झन् सशक्त र बलियो बनाउने छ । प्रतिस्पर्धा हुनु राम्रो हो ।

व्यवसायिक कम्पनीलाई प्रतिस्पर्धी हुनुले खासै असर गर्दैन । यसबाट झन् खरो रुपमा उत्रिन मदत गर्दछ ।

रिइन्स्योरेन्सका लागि नेपाली बीमा कम्पनी विदेश जाने परिपाटीको आशिंक अन्त्य त नेपाल पुनर्बीमा कम्पनीले गरेको छ । रिइन्स्योरेन्सका लागि पूर्ण रुपमा विदेश जानु नपर्ने अवस्थाको अन्त्य सम्भव छ कि छैन ?

जोखिम एउटा देश भित्रमात्रै राख्ने काम बिल्कुलै राम्रो होइन । देशको जोखिमलाई विश्वभरी नै छर्नु पर्दछ । अन्य देशको जोखिमलाई भित्र्याउने र आफ्नो जोखिमलाई बाहिर पठाउने काम बराबरीको अधार हुनु पर्दछ ताकी बिदेशी मुद्रा आर्जन पनि होस् र खर्च पनि होस् । शत प्रतिशत स्वदेशमा नै जोखिम राख्नु राम्रो होइन, बीमाका सिद्धान्तले जोखिमलाई सकेसम्म धेरै ठाउँमा बितरण गर भन्दछ ।

नेपाल पुनर्बीमा कम्पनी आएपछि वार्षिक रुपमा विदेश जाने रकम कति रोकिएको छ ?

आर्थिक वर्ष २०७७।७८ मा झण्डै ७ अर्बको प्रिमियम बिदेश जान रोकियो र हामीले यो व्यवसाय भित्राउन सफल भयौं । । हामीसँगको जोखिमको सानो हिस्सा मात्रै बिदेशका बिभिन्न बीमा तथा पुनर्बीमा कम्पनीमा जाने गर्दछ । हामीले रोक्ने काम मात्रै गरेका छैनौं, बिदेशी कम्पनीको समेत पुनर्बीमा गरेका छौं ।

विदेशबाट पुनर्बीमा नेपालपुनर्बीमा कम्पनीमा गराउन सक्ने सम्भावना के कति छन् । सम्भावना छैन भने के ले रोकेको छ ?

विश्वमा करिब १२० देश रहेका छन् र हजारौं सख्यामा बीमा कम्पनीहरु छन् । यस्तो संभावना धेरै छ किनकी हाल हामीले ३२ देशमा ५० वटा कम्पनीहरुसँग व्यवसायिक सम्बन्ध राखेका छौं । तसर्थ भविष्यमा अधिकांश देशबाट व्यवसाय लिनका लागि पहल गरिनेछ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडलाई विश्व स्तरीय संस्थाद्धारा रेटिङ गराउन सकेमा र सोबाट कम्तिमा पनि एए प्लस सरहको रेटिङ गर्न सकेको खण्डमा पचासौ अर्बकोे बिजनेस आउन सक्छ ।

ब्यावधानहरुको कुरा गर्ने हो भने दक्ष जनशक्तिको कमी,कम्पनीको क्रेडिटीबिलिटी निर्धारण गर्न नसक्नु र समग्रमा कुरा गर्दा देशको पनि क्रेडिटिबिलिटी के कति छ भन्ने कुरा हालसम्म एकिन हुन नसक्नु समस्याका रुपमा देखिन्छ ।

रेटिङको समस्या छ भन्ने गरिन्छ ? रेटिङका लागि भएका पहलहरु ?

हामीले के कुरा स्वीकार्नु पर्दछ भने तत्कालै रेटिङ गर्ने हो भने हामीलाई राम्रो खालको मार्क आउने संभावना कम छ । जहाँसम्म विश्व स्तरीय संस्थाबाट रेटिङ गर्न सकिदैन कि भन्ने कुरा छ, केही बर्षमा हामी रेटिङ गर्न सक्छौ र राम्रो मार्क पनि ल्याउन सक्नेर्छौं । यसको लागि राम्रो पूर्व तयारी हुनु आवश्यक छ । यसको लागि केही समय लाग्न सक्दछ ।

जब हामी तयारी पूरा गर्दछौं, तब हामीले चाहे अनुसारको रेटिङ पाउछौं । हालको समस्या भनेको दक्ष जनशक्ति र सफ्टवेयर नै हो । भविष्यमा हामी दक्ष जनशक्तिको विकास गर्दछौ र सफ्टवेयरको पनि विकास गर्छाैं ।

हाल हामी आन्तरिक समस्या समाधान गर्ने, लोकसेवा मार्फत दक्ष जनशक्ति भर्ना गर्ने, आफनै भवन निर्माण गर्ने, सबै खालका क्रियाकलापहरुको राम्रो डकुमेन्टेशन गर्ने र बजार बिस्तार गर्ने, जोखिम व्यवस्थापनमा देशलाई सहयोग गर्ने जस्ता काममा ब्यस्त छौं । यसबाट नेपाल रीको राम्रो छवि निर्माण हुनेछ ।

नेपालमा जीवन र निर्जीवन बीमा गर्नेको संख्या ज्यादै कम छ । यसलाई बढाउन के गर्नुपर्छ ?

राज्यको नीतिले बीमा गर्नेको संख्या र बीमाबापत तिर्ने रकम निर्धारण गर्दछ । नेपालमा बीमा नगरे पनि बाँच्न सकिन्छ भन्ने आँट मानिसहरुमा छ । यदि बीमा नगर्दा उनीहरुलाई संकट आउन थाल्दछ, मानिसहरु आफैं बीमा कम्पनीमा धाउन थाल्दछन् । हामी कहाँ एकाध पोलिसीहरु बाहेक धेरै खालका बीमा पोलिसीहरु छन् जुन अनिवार्य छैनन् ।

यसलाई बढाउन राज्यको नीति बीमामुखी हुनु पर्दछ, बीमा समिति र कम्पनीहरु बीच राम्रो समन्वय गरी बीमा शिक्षाको शुरुवात गनु पर्दछ । अन्तर्राष्ट्रिय स्तरको बीमा कलेजको स्थापना गर्नु पर्दछ । बीमालाई अनिवार्य बनाउन सक्ने हो भने प्रिमियम घट्ने थियो र सस्तोमा सबैले किन्ने थिए ।

बीमालाई ब्यापक बनाउन बीमा पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण हुन्छ । पत्रकारहरुलाई बृत्ति विकास गर्न सकियो भने पनि बीमा बजार बलियो हुनेछ र ब्यापक रुपमा मानिसहरुले बुझ्ने छन् । यस तर्फ पनि बीमा समिति र कम्पनीहरुले ध्यानदिनु पर्दछ ।

र, अन्त्यमा तपाईलाई सरकारले दिएको जिम्मेवारी पूरा गर्न सकिदैन भन्ने त लागेको छैन् ?

राज्यको तर्फबाट मलाई एउटा जिम्मेवारी आएको छ, जसलाई इमान्दारीका साथ कार्यन्वयन गर्ने सन्दर्भमा पत्रकार जगतको सकारात्मक सहयोगको अपेक्षाा र स्वच्छ आलोचनाको सदैव स्वागत गर्ने छु ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।