नबिल बैंकले एनबी बैंकलाई किनेपछि एनबी बैंकका शेयर होल्डरहरुलाई १९.६२ प्रतिशत फाइदा हुने भएको छ ।
नबिल बैंकले एनबी बैंकलाई खरिद गर्ने गरी बिहीबार मर्जरको सम्झौता भएको छ । सम्झौता हुदाँको दिन एनबी बैंकको प्रतिशेयर मूल्य ३ सय ९९ सय रुपैयाँमा कारोबार भएको थियो भने नबिल बैंकको प्रतिशेयर मूल्य १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
उक्त दिनको हिसाब गर्दा नबिल बैंकको १ सय कित्ता शेयरको मूल्य १ लाख ११ हजार रुपैयाँ हुन्छ । उत्ता एनबी बैंकको १ सय कित्ताको मूल्य भने ३९ हजार ९ सय रुपैयाँ हुन्छ ।
नबिल बैंकले एनबी बैंकलाई १००ः४३ खरिद गरेपछि बंगलादेश बैंकको १ सय कित्ता हुने शेयरहोल्डरको ४३ कित्ता मात्र हुने छ । नबिल बैंकको १ हजार १ सय १० रुपैयाँबाट कारोबार हुँदै आएको छ ।
यसरी हेर्दा बंगलादेशको ४३ कित्ता शेयरको मूल्य ४७ हजार ७ सय ३० रुपैयाँ हुन्छ । १ सय कित्ता हुँदा ३९ हजार ९ सय भए पनि नबिलमा गाभिएपछिको कारोबार हुँदा ४३ कित्ताको मूल्य ४७ हजार ७ सय ३० रुपैयाँ हुन्छ । सम्रगमा १ सय कित्ता बंगलादेशमा शेयर भएकाहरूले ७ हजार ८ सय ३० रुपैयाँ बढी पाउँछन् ।
तत्कालका लागि फाइदा दीर्घकालका लागि भने भन्न नसकिने
नबिल बैंक र एनबी बैंकको गत बिहीबारको कारोबारका आधारमा एनबी बैंकका शेयरहोल्डरलाई यस्तो फाइदा हुने देखिएको हो । तर, आगामी दिनमा नबिल बैंकको शेयर मूल्य बढ्ने वा घट्ने के हुन्छ । त्यसैका आधारमा फाइदा र घाटा हुने देखिन्छ । विगत दुई वर्षदेखि ३८ प्रतिशत भन्दा कम लाभांश नदिएको नबिल बैंकले आगामी दिनमा पनि त्यति नै प्रतिशत लाभांश दिन सक्ने सम्भावना भएकाले शेयर मूल्य नघट्ने एकथरीका लगानीकर्ताले बताउँदै आएका छन् ।
नबिल बैंकले आर्थिक वर्ष २०७७÷०७८ मा प्रतिकित्ता ४.४० प्रतिशत नगद र ३३.६० प्रतिशत बोनस गरी कुल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट अहिले नबिल बैंकले ४.४ प्रतिशत नगद र ३३.६० प्रतिशत बोनस लाभांश वितरण गर्दैछ ।
चालु आर्थिक वर्षको ६ महिना सकिएको र आगामी ६ महिनापछि उच्च लाभांश नबिल बैंकले दिने भएकाले पनि शेयर मूल्य अहिलेको भन्दा कम नहुने अपेक्षा लगानी गरेका छन् । नबिल बैंकको शेयर जति बढ्दै जान्छ, एनबी बैंकका शेयरलगानीकर्तालाई पनि त्यति नै फाइदा पुग्ने छ ।
एनबी बैंकको शेयर कारोबार आइतबारदेखि रोक्का
नबिल बैंकले एनबी बैंकलाई किनेपछि आइतबारदेखि एनबी बैंकको शेयर कारोबार रोक्का हुने भएको छ । तर, नबिल बैंकको भने नियमित कारोबार हुने छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले शुक्रबार सूचना जारी गर्दै, ‘नबिल बैंकले एनबी बैंकलाई बिहीबार प्राप्ति गर्ने सम्झौता गरेकोले एनबी बैंकको शेयर कारोबार रोक्का गरिएको छ ।’
एकिकृत कारोबार हुन ६ महिनादेखि एक वर्ष लाग्ने
नबिल बैंकले एनबी बैंकलाई किनेपछि एकिकृत कारोबार हुन ६ महिनादेखि एक वर्षसम्म लाग्ने छ । तर, नबिल बैंकले एनबी बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार गर्न मोटामोटी पाँच महिना लाग्ने नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । ‘पाँच महिना भित्र एकिकृत कारोबार गरिसक्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘हेर्दै जाउ सकेसम्म छिटै सकाउने छौं ।’
हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरमा जाने सम्झौता गरेका थिए । तर, सम्झौता गरेको ८ महिनासम्म पनि मर्जरमा जान सकेका छैनन् । उक्त अबधिमा दुबै बैंकको शेयर कारोबार रोकिएको छ । एनबी बैंकको शेयर पनि त्यसैगरी लामो समय रोकिन नहुने लगानीकर्ताको भनाइ छ ।
चुक्ता पुँजीमा दोस्रो ठूलो बैंक बन्दै
एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक दोस्रो ठूलो बैंक बन्ने भएको छ । अहिले सबैभन्दा बढी ग्लोबल आइएमई बैंकलाई चुक्ता पुँजी रहेको छ ।
ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड पुगेको छ । ग्लोबल आइएमई बैंकले जनता बैंकलाई गाभेपछि चुक्ता पुँजीमा सबैभन्दा ठूलो बैंक बनेको थियो । एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२.५ अर्ब, कर्जा रकम ३ सय अर्ब, निक्षेप रकम ३ सय १४ अर्ब हुने भएको छ ।
सबैभन्दा ठूलो बैंक बन्नका लागि हिमालयन र नेपाल इन्भेष्टमेन्टबीच गत बैशाखमा सम्झौता भएको थियो । तर, ती दुई बैंकबीच मर्जर प्रक्रिया भाडिने सम्भावना देखिएपछि ग्लोबल आइएमई बैंक चुक्ता पुँजीमा सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो । ग्लोबल आइएमइ बैंकलाई पच्छयाउँदै नबिल बैंक अगाडि बढेको छ ।
आक्रमक बन्दै नबिल बैंक
पछिल्लो समय नबिल बैंक निकै आक्रमक बन्दै आएको छ । नबिल बैंकले यसअघि युनाइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । नबिलले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको स्वाप रेसियोमा किनेको हो ।
शाखा सञ्जाल पनि बढ्ने
एनबी बैंकलाई नबिल बैंकले प्राप्ति गरेपछि शाखा सञ्जाल २ सय ३५ पुग्नेछन् । ग्राहक संख्या पनि १६ लाखमाथि हुनेछ ।