मर्जरमा कारोबार रोक्नु नहुने पङ्तिमा नेप्से, सिडिएससि र ब्रोकर एसोसिएसनका अधिकारी पनि, तर नियामक मौन

May 26, 2022 11:25 AM merolagani

सुवास निरौला

मर्जरमा गएका कम्पनीकाे कारोबार रोकिनु हुँदैन भन्ने विषयमा चलिरहेको चर्को बहसमा नेपाल स्टक एक्सचेन्ज ”नेप्से”, केन्द्रीय निक्षेप प्रणाली ”सिडिएससि” र नेपाल स्टक ब्रोकर एशाेसिएसनका अधिकारीले समेत सहमति जनाएका छन्।

मेरो लगानीले उनीहरूसँग गरेकाे कुराकानीमा उनीहरूले कारोबार रोकिनु नहुने प्रतिक्रिया दिएका हुन्। मर्जरमा गएका कम्पनीहरूको कारोबार रोकिएको विषयमा नेपाल स्टक एक्सचेन्जमा लामो समयदेखि काम गर्दै आएका तथा एक्सचेन्जको प्रवक्ताको समेत भूमिकामा रहेका मुराहरि पराजुलीले यस्तो व्यवस्थालाई यथाशक्य चाँडो परिवर्तन गर्नु पर्ने प्रतिक्रिया दिएका छन्। “अहिलेको अवस्थामा मर्जरमा जाँदा कारोबार रोक्नु सान्दर्भिक छैन। लामो समय कारोबार रोक्ने यो अवस्थालाई परिवर्तन गर्नै पर्छ” पराजुलीले भने। बजार सञ्चालक र नियामक निकायले जति सक्दो चाँडो यो विषयमा निकास दिने प्रयत्न गर्नु पर्ने उनको भनाई छ।

नेपाल स्टक एक्सचेन्जमा कारोबार रोकिने गरेको विषयमा चित्त नबुझाउने प्रवक्ता पराजुली एक्ला अधिकारी होइनन्। कायम मुकायम उप प्रबन्धक निरन्जन फुयाँल समेत प्रवक्ता पराजुलीकै पक्षमा छन्। यस अघि नै उनले सार्वजनिक रूपमै मर्जरका नाममा लामो समयसम्म रोकिने गरेको कारोबार प्रति असन्तुष्टि जनाइसकेका छन्। नेप्सेमा कार्यरत तल्लो तहका कर्मचारीदेखि माथिल्लो स्तरका कर्मचारी समेत उक्त कारोबार रोकिने गरेको विषयको विपक्षमा देखिन्छन्। हालै नेप्सेमा गठित नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले समेत लामो समय रोकिने कारोबारले बजार र लगानीकर्ता दुबैलाई नोक्सान पार्दै लगेको प्रतिक्रिया दिए। “लामो समय कारोबार रोकिदा बजार र लगानीकर्तालाई नोक्सान भइरहेको छ” थापाले भने।   

मर्जरमा कारोबार रोक्नै पर्ने  यथेष्ट कानुन कहीँ कतै छैन्। नेपाल राष्ट्र बैंकले कारोबार रोक्नु पर्ने भने पनि  किन रोक्नु पर्ने भन्ने विषयको औचित्य पुष्टि गर्न सकेकाे छैन। यता बीमा कम्पनी र जलविद्युत कम्पनीमा त रोक्नै पर्ने भन्ने व्यवस्था नै छैन। तैपनि परम्परागत रुपमा रोकिँदै आएको उक्त व्यवस्थालाई खारेज गर्नु पर्ने सिडिएसिका आइटी विभाग डाट बेस प्रमुख योगराज जोशीले बताए। “अहिलेको अवस्थामा बैंक वित्तीय संस्थाको शेयर कारोबार रोक्का राख्नु पर्छ र  ? हामीलाई त कारोबार रोकी राख्नु पर्छ जस्तो लाग्दैन“ जोशीले भने।

शेयर बजारमा शेयरको मूल्य कति हुने भन्ने कहीँ कतै नलेखिएको भएर नै दोस्रो बजारले शेयरको मूल्य निर्धारण गर्ने गर्छ। दोस्रो बजारले नै शेयरको मूल्य निर्धारण गर्ने भएकोले लामो समय कारोबार रोक्नु ठिक नभएको तर्क जोशीको छ।  “मेरो बिचारमा प्राइस फर्मेशनको कुरा हुन्। कम्पनीहरू मर्जरमा जाने सूचना आइसकेपछि त्यसको प्राइस के हुने भन्ने कुरा त बजारले नै तय गर्छ । जे जस्तो अवस्थामा मर्ज हुने भएपनि मूल्य त आखिर बजारले नै तय गर्ने हो। शेयरको मूल्य यति हुनु पर्छ भन्ने कहीँ कतै छैन। शेयरको मूल्य जहिले पनि बजारले नै तय गर्छ। जब शेयरको मूल्य बजारले नै तय गर्ने भएपछि, मूल्य निर्धारण गर्ने बजारको स्वतन्त्रतालाई अङ्कुश लगाउनु उचित होइन” जोशीले भने।

औचित्य नै नप्रस्टिने नियम कै कारण कारोबार रोकिनु हुँदैन भनेर बहस चलिरहेको अवस्थामा अझै रोक्ने कुरा कहीँ कतै नलेखिएको समूहका कम्पनीको शेयर कारोबार समेत रोकिने गरेका छन्।  जलविद्युत र बीमा कम्पनीको शेयर कारोबार रोक्का हुनु पर्छ भनेर कहीँ कतै व्यवस्था गरिएको छैन। किनकि उनीहरूले मूल्य निर्धारण गर्ने जिम्मा बजारलाई नै दिएका छन्। तर यहाँ त तिनीहरूको पनि कारोबार रोकिएको अवस्था छ।

मर्जरका नाममा शेयर कारोबार रोकिने गरेको विषयमा नेपाल स्टक ब्रोकर एसोसिएसनले समेत असहमति जनाएको छ। “मर्जरकै नाममा लामो समय लगानीकर्ताको सम्पत्ति बन्धक बनाउनु हुँदैन। यसलाई जति सक्दो चाँडो सच्याउनु पर्छ” एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले मेरो लगानीसँग भने। 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।