समितिले दाबी भुक्तानीलाई छिटो छरितो र सहज बनाउने योजना अनुसार दाबी भुक्तानी वर्ष मनाउदै गर्दा ८१ प्रतिशत दाबी बापतको रकम भुक्तानी भएको छ ।
बीमा कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कुल दाबी मध्ये ८१.२५ प्रतिशत भुक्तानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमा कुल ४६ अर्ब १२ करोड १६ लाख रुपैयाँ बराबरको दाबी परेको बीमा समितिको तथ्यांक छ । त्यसमध्ये दाबी बापत बीमा कम्पनीहरुले ३७ अर्ब ५२ करोड ७ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो कुल दाबी रकमको ८१.२५ प्रतिशत हुन आउँछ ।
त्यस अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले अझै १८.६४ प्रतिशत अर्थात ८ अर्ब ६० करोड ९ लाख रुपैयाँ दाबी बापत भुक्तानी गर्न बाँकी देखिएको हो ।
जीवन बीमा कम्पनीहरुको ७ अर्ब २२ करोड ७४ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ गरी सो बराबरको रकम भुक्तानी गर्नुपर्ने देखिएको हो ।
दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाई बीमाप्रतिको विश्वसनीयता कायम राख्न दाबी भुक्तानी वर्ष मनाउन थालिएको समितिले जनाएको छ । पछिल्लो समय दाबी भुक्तानीमा ढिलाई भएको जन गुनासो बढेपछि भुक्तानीको प्रकृयालाई समितिले तिव्रता दिन थालेको छ ।
बीमा दाबी भुक्तानीलाई छिटो छरितो तथा पारदर्शी बनाई, सर्वसाधारणमा स्वःस्फुर्त बीमा गर्न उत्साहित हुने अवस्था सिर्जना गर्न यस वर्ष दाबी भुक्तानी वर्ष मनाउदै आएको समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलको भनाई छ ।
यस्तै उनले दाबी भुक्तानीलाई तिव्रता दिन बीमा कम्पनीहरुका दाबी भुक्तानी शाखाका प्रमुख, अण्डरराइटिङ्ग विभागका प्रमुखहरूसँग निरन्तर अन्तरक्रिया तथा छलफल गरेकोले गर्दा भुक्तानी रकम बढ्न पुगेको जानकारी गराए ।
बीमा दाबी भुक्तानी मार्गदर्शनमा के छ व्यवस्था?
बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाई व्यवस्थित बनाउने भन्दै बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ जारी गरेको थियो ।
समितिले जारी गरेको मार्गदर्शन अनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तानी गरिसकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले पन्ध्र दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख आदि कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गर्नुपर्नेछ ।
यस्तै बीमितले जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमालेख तथा अन्य कागजातहरू बीमकसमक्ष पेश गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्न व्यवस्था छ ।
निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएमा बीमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने व्यवस्था गरेको छ । सर्भेयरले आवश्यक जाँचबुझ गरी पन्ध्र दिनभित्र बीमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरण समेतको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र सर्भेयरले सर्भे प्रतिवेदन बीमक समक्ष पेश गरेको २१ दिनभित्र बीमकले दायित्व ठहर गरी बीमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ ।
बीमालेखमा समाविष्ट जोखिमबाट हानी नोक्सानी भई स्थापित भएमा, न्यूनतम दायित्व बीमालेखबाट आउछ भन्ने यकिन भएका बीमकले आंशिक भुक्तानी दिन सकिने व्यवस्था समेत गरेको छ ।
नोक्सानीको पुरै वा नोक्सानीको कुनै भाग तेश्रो पक्षवाट भराउनु पर्ने भएमा दाबी भुक्तानी वा दाबी फछर्यौट गर्नु अगाडि बिमितले अन्य पक्षवाट असुल उपर गरी लिन पाउने अधिकार वा हस्तान्तरण वा कानूनी कारवाहीमा जानु पर्ने भएमा कानुनी अख्तियारनामा लिनु पर्न व्यवस्था समेत छ ।
यस्तै बीमालेख अन्तर्गत दाबी भुक्तानी गर्दा बीमित वा हकवालाको बैंक खातामा बैंक मार्फत वा एकाउण्ट पेयी चुक मार्फत भुक्तानी गर्नु पर्ने व्यवस्था छ ।