किन बढ्दै छ शेयर बजार,धेरै घटेकोले थोरै बाउन्स मात्रै भएको हो कि दिगो नै हो ?

Jul 01, 2022 05:45 PM merolagani

सुवास निरौला

एक साता यता शेयर बजारले बढ्दो लय समाएको छ। गत शुक्रवारदेखि बढ्दो लय समाएको बजारले १८० अंकको छलाङ मारिसकेको छ।

यद्यपि शुक्रवार आठ अंकले बजार घट्यो। तैपनि बजारले १८० अंकको छलाङ मारिसकेको छ। गत बिहीबार मात्रै शेयर बजारले न्युनतम् बिन्दु १८४८.२८ अंक छोएको थियो। त्यसयता भने बजार बढ्दो क्रममा छ। छोटो समयमा बजारले फराकिलो अंकको वृद्धि कायम गर्नुलाई लगानीकर्ताले चासो पूर्वक लिएका छन्। केहीले यसलाई सामान्य बाउन्स व्याक भनेका छन् भने केहीले टिकाएरै लैजानु पर्ने बताएका छन्।

आउने मौद्रिक नीतिले बजारलाई थोरै राहत दिने अपेक्षा लगानीकर्ताले गरेका छन्। मौद्रिक नीतिले ४/१२ को सीमामा ४ को सीमा हटाउँदै छ भन्ने व्यापक चर्चा लगानीकर्तामा छ। जसले बजार बढाउन टेवा दिएको एक ब्रोकर कम्पनीका सञ्चालकको भनाई छ। “धेरै घटेकोले थोरै रिकभर मात्रै भएको हो। आउने मौद्रिक नीतिमा खासै कस्ने कुरा केही आउँदैन। चारको लिमिट हटाइदिन्छ। १२ सम्म मात्रै राख्छ भन्ने कुरा आइरहेको छ। त्यही हल्लाले अलिअलि काम गरेको जस्तो देखिन्छ” ती सञ्चालकले मेरो लगानीसँग भने। उनका अनुसार बजारमा असार मसान्तको प्रभाव छ। बेच्नेले बेची सके। बाँकीमा अब नबेचौँ भन्ने मानसिकताले पनि यति बेला काम गरिरहेको छ।

तर जसरी अहिले बजार बढिरहेको छ। त्यसको टिकाउ भने दिगो नहुने प्रक्षेपण ती ब्रोकरको छ। २१ देखि २२ सयको रेन्जमा बजारलाई राख्ने कोशिस लगानीकर्ताले गरिरहेका छन्। त्यही अंकमा टिकाउन सकिए मार्जिन कलबाट बच्न सक्ने उनीहरूको अपेक्षा हो। “फेरि धेरै माथि जान्छ भन्ने अपेक्षा गर्नु गलत हुन्छ। लगानीकर्ताले २१ सय वा २२ सयसम्म टिकिदिए हुन्थ्यो भन्ने कामना गरिरहेका छन्। त्यसो हुँदा बैंकको मार्जिनबाट बच्न सकिन्छ कि भन्ने लगानीकर्ताको अपेक्षा हो” उनले भने।

उनका अनुसार शेयर बजारलाई प्रभाव पार्ने अर्थतन्त्रमा कुनै पनि तत्त्वमा सुधार आएको छैन। जसले गर्दा बजार धेरै माथिसम्म जान्छ भन्ने गतिलो आधार छैन। तै पनि आउने दिनमा सुध्रिन्छ कि भन्ने अपेक्षाले अलिकति काम गरेको छ। साधारणतया बजार धेरै घटिसकेपछि थोरै बाउन्स हुनु सामान्य कुरा हो।  

पछिल्लो समय चलेको आन्दोलन र चौतर्फी रुपमा भइरहेको ४/१२ को विरोधले आउने मौद्रिक नीति शेयर बजारको लागि कसिलो नहुने अनुमान लगानीकर्तामा व्यापक उठेको अर्का ब्रोकर कम्पनीका सञ्चालकले बताए। उनका अनुसार आउने दिनमा राष्ट्र बैंकले शेयर ऋणमा बढाएको रिस्क वेटेजलाई १५० बाट घटाएर पुन: एक सयमा झार्ने छ भने उता ४ करोडको सीमा खारेज गरेर १२ करोड बनाउने छ। जुन शेयर बजारको मनोबल उकास्न पनि राष्ट्र बैंकले गर्नै पर्ने हुन्छ। सो विषय सम्बोधन हुनेमा लगानीकर्ता अलि बढी नै विश्वस्त भएकोले पनि बजार बढेको उनको तर्क छ। हुन त शेयर बजारले आउने दिनमा हुने कुरालाई पहिले नै सङ्केत गर्छ। पछिल्लो समय बढेको बजारले यही सङ्केत गरिरहेको उनको दाबी छ।

आउने दिनमा बजारले कस्तो लय समाउँछ। त्यस विषयमा बजार आँफै जानकार छ। तथापि यति बेला बढेको बजारले भने लगानीकर्तालाई मार्जिन कलबाट थोरै राहत दिएको छ भने निकै तल झरेर खस्किएको लगानीकर्ताको मनोबल थोरै भएपनि बढाइदिएको छ।

नोट-  धितोपत्र बोर्डले ब्रोकर कम्पनीका सञ्चालक र कर्मचारीलाई बजारको विषयमा बोल्न प्रतिबन्ध लगाएका कारण ब्रोकर कम्पनीका अधिकारीहरूको भनाइलाई स्रोत भनिएको हो। 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।