अप्पर सोलु हाइड्रोको आईपीओमा आवेदन दिनु अघि कस्तो छ कम्पनी? हेरौं

Jul 04, 2022 06:03 AM Merolagani

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज सोमबार (असार २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।

सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १३ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ गरी ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओमा कसरी दिने आवेदन?

कम्पनीले निष्काशन गरेको शेयरमा असार २३ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे साउन २ गतेसम्म म्याद थप हुनेछ ।

कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

मध्यम जोखिम रहेको जनाउने रेटिङ्ग

कम्पनीले निष्काशन गरेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

इक्रा नेपालले कम्पनीको आईपीओलाई २०७८ चैत ८ गते रेटिङ्ग ग्रेड प्रदान गरेको थियो । उक्त रेटिङ्गको अवधि जारी भएको मितिबाट एक वर्ष सम्म कायम रहन्छ ।

कस्तो कम्पनी हो?

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड, कम्पनी ऐन २०६३ बमोजिम २०६७ बैशाख १४ गते कम्पनी रजिष्ट्रारको कार्यलयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको थियो । २०७३ बैशाख २ गते देखि पब्लिक कम्पनीमा परिणत भई कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १, हात्तीसार काठमाडौंमा रहेको छ । कम्पनीको आयोजनाको कार्यालय र जलविद्युत केन्द्र भने सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६,७ र ११ को सल्लेरी, गार्मा, छुल्याम, साल्मे र तिङला भन्ने स्थानमा रहेको छ ।

कम्पनीले रनअफ रिभरमा आधारित २३.५ मेगाबाट क्षमताको सोलु जलविद्युत आयोजना सञ्चालन गर्दै आईरहेको छ । आयोजनाबाट कम्पनीले २०७० चैत ४ गते देखि व्यवसायिक विद्युत उत्पादन गर्दै आइरहेको छ ।

आयोजनाको कुल लागन ५ अर्ब रुपैयाँ रहेको छ भने प्रति मेगावाट लागत २१ करोड २७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

साथै साधारण लगानी फिर्ता हुने अवधि ७.८६ वर्ष र डिस्काउन्टेट तर्फ लगानी फिर्ता हुने अवधि १६.९६ वर्ष रहेको छ ।

आईपीओ जारी गर्नुको उदेश्य

कम्पनीले प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार जारी पूँजी १ अर्ब ३५ करोड रुपैयाँको १० प्रतिशत अर्थात १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता शेयर स्थानिय बासिन्दालाई र सर्वसाधारणलाई १४.५ प्रतिशत अर्थात १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता शेयर गरी कुल ३३ लाख ७ हजार ५०० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

आईपीओ निष्काशन गरेर संकलन भएको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ कम्पनीले कम्पनीको विभिन्न दायित्व भुक्तानीमा प्रयोग गरिनेछ ।

कम्पनीको वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्ने र बैंकबाट लिएको ब्रिज ग्याप ऋण भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

तीन वर्षमा सञ्चित नाफा साढे ४१ करोड पुर्याउने

कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्ममा सञ्चित नाफा ४१ करोड ४१ लाख ३० हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले ८ करोड ३६ लाख ३५ हजार नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा भने १७ करोड ७८ लाख ५६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।

यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि कम्पनी ४ करोड ७ लाख ५२ हजार नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६८ पैसा र प्रतिशेयर आम्दानी १० रुपैयाँ ३२ पैसा पुग्ने प्रक्षेपण गरेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ २१ पैसा रहेको थियो भने प्रतिशेयर आम्दानी ४ रुपैयाँ २१ पैसा नोक्सानीमा रहेको थियो ।

पूँजी संरचना

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई १३ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ गरी ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड रुपैयाँ र जारी पूँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

आईपीओ निष्काशनपछि कम्पनी शेयर स्वामित्व संस्थापक ७५.५ प्रतिशत र सर्वसाधारणको २४.५ प्रतिशत कायम हुनेछ ।

सञ्चालक समिति

कम्पनीको सञ्चालक समितिमा एक जना महिला सहित ६ जना रहने व्यवस्था रहेको छ ।

संस्थापक शेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी ६ जना सञ्चालक समिति रहने व्यवस्था छ ।

हाल कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट ४ जना सञ्चालकहरु मात्रै रहेका छन् ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पछि कम्पनीले सर्वसाधारणको प्रतिनिधित्व हुने गरी १ जना र थप एक जना स्वतन्त्र सञ्चालक चयन गर्नेछ । सञ्चालकहरुको कार्यकाल बढीमा ४ वर्षको हुनेछ ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा सुरेशलाल श्रेष्ठ रहेका छन् । श्रेष्ठ विगत ४० वर्ष देखि जलविद्युत क्षेत्रमा काम गर्दै आइरहेका छन् ।

यस्तै सञ्चालक समितिमा दिनेशलाल श्रेष्ठ, प्रविन श्रेष्ठ, शेखर कुमार राणा र कुसुम गोर्खाली रहेका छन् ।

भावी योजना तथा रणनीति

कम्पनीले आफ्नो व्यवसाय वा सेवाको वृद्धिका लागि चाल्ने भावी योजना र त्यस्तो योजना प्राप्तिका लागि चालिने चरणवद्ध रणनीति बनाएको छ ।

कम्पनीले आगामी १० वर्षभित्रमा संभाव्य आयोजना क्षेत्रहरुको पहिचान गर्ने, त्यस्ता आयोजनाहरुको संभाव्यता अध्ययन गर्ने र उपयुक्त देखिएमा सो को लागि आवश्यक प्रक्रियाको थालनी गर्ने, संभाव्य आयोजनाकालागि विद्युत विकास विभागसंग आवश्यक समन्वय गरी ईजाजतपत्र लिने कार्य गर्ने र ईजाजत प्राप्त भएमा सो को निर्माण प्रक्रिया अगाडी बढाउने योजना बनाएको छ ।

कम्पनीले आफ्नो उद्देश्य प्राप्तिकालागि व्यवसायिक रुपमा सम्भाव्य देखिएका अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने जनाएको छ ।

देशमा माग भए बमोजिम विद्युत आपूर्तिको कमी रहेको हालको जलविद्युत आयोजना निर्माण गर्नु आफैमा सह्रानिय काम भएको कम्पनीको दाबी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।