वर्किङ क्यापिटलको प्रेसर शेयर बजारमा, “अहिलेको स्थितिमा दुई वटा कुरा नभएसम्म बजार माथि जान्न” राजेन्द्र खेतान

Sep 07, 2022 05:57 AM merolagani

सुवास निरौला

मंगलबार शेयर बजार पुनः फराकिलो अंकले घट्यो। २१.१६ अंकको गिरावटसँगै कारोबार मापक सूचक १९५१.८४ अंकमा झर्‍यो। जुन आम लगानीकर्ताले कल्पना गरेभन्दा ठिक विपरीत प्रतिक्रिया हो।

किनकि केही दिन साइड वेज जस्तै अवस्थामा देखिएको बजार माथिल्लो बिन्दुमा उक्लिन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा थियो। ठिक यस्तै अवस्था भदौको पहिलो हप्ता पनि देखिएको थियो। जुन अवस्था मंगलबार पुनः दोहोरियो।

बजारले थोरै दिन साइड वेजमा रहेर बढ्ने तीव्र कोसिस गर्छ। तर उक्त कोसिस सफल हुन सकिरहेको छैन। लगानीकर्तामा किन्ने भन्दा बढी बिक्री गर्ने मानसिकता हाबी भएकोले बजारले बढ्न गरेको कोसिस सफल हुन नसकेको बताइएको छ। शेयर बजारमा निरन्तर हुँदै आएको नीतिगत प्रहारले किन्ने भन्दा बेच्ने बढ्दै गएको ठुला उद्यमी तथा लगानीकर्ता राजेन्द्र खेतान बताउँछन्। “शेयर बजार कसरी बढ्छ ? निरन्तर एकपछि अर्को प्रहार भइरहेको छ। एउटा प्रहारबाट बजार निस्कन नपाउँदै अर्को प्रहार भइहाल्छ। भर्खरै मात्रै ४/१२ को प्रहार सकिँदै थियो। बजार त्यसपछि थोरै सुधारिन पनि खोजेको थियो। तर पछिल्लो समय राष्ट्र बैंकले ल्याएको वर्किङ क्यापिटलले फेरि बजारमा अर्को नयाँ समस्या थप्यो। अलि अलि पैसा त्यहाँबाट पनि बजारमा आइरहेको थियो। त्यो पैसा पनि बल्क भएपछि त्यसको असर सोझै शेयर बजारमा पर्न थालेको छ। अहिले शेयर बजारमा त्यसैको प्रेसर देखिएको हो” खेतानले मेरो लगानीसँग भने।

खेतानका अनुसार शेयर बजारलाई अहिले सबैभन्दा बढी प्रेसर लिक्विडिटिले नै पारिरहेको छ। दोस्रो असर ब्याजदरको छ। यी दुई कुरामा सुधार नभएसम्म दीर्घकालीन रुपमा शेयर बजार बढ्न गाह्राे हुने छ। “लिक्विडिटि तुरुन्तै सुध्रिने पनि देखिँदैन। अहिलेको स्थितिमा दुईवटा कुरा नभएसम्म बजार माथि जान्न। एउटा लिक्विडिटि सहज हुनु पर्‍यो भने अर्को सिङ्गल डिजिटमा ब्याजदर झरेन भने बजार माथि जान्न” खेतानले भने। वास्तविक रुपमा बजार बढ्न यी दुवै कुरा नै आवश्यक रहेको खेतानले बताए।

शेयर बजारको घट्दो अवस्थामा गएको भएपनि लगानीकर्ताले भने अझै पनि बजार बढ्ने नै आस गरिरहेका छन्। बजार निरन्तर घटिरहेको भए पनि लगानीकर्ता भने बजारबाट निस्कन नचाहिरहेको अर्का लगानीकर्ता प्रकाश रजौरा बताउँछन्। रजौराका अनुसार पछिल्लो समय कारोबार रकम घट्दै जानुले पनि लगानीकर्ता निस्कन नचाहिरहेको सङ्केतको रुपमा लिनु पर्ने उनको भनाई छ। “अहिले जति पनि शेयर बिक्रीमा आइरहेका छन्। त्यो सबै राष्ट्र बैंकको नीतिको ट्र्यापमा परेका लगानीकर्ताले मात्रै शेयर बिक्री गरिरहेका छन्। कसैले ४/१२ को नीतिको प्रेसरमा बेच्नु पर्‍यो भने कसैले अहिले आएको वर्किङ क्यापिटलको कारणले बिक्री गर्नु परिरहेको छ। खासमा यति बेला रियल इन्भेष्टरहरु प्यानिक सेलमा परिरहेका छन्” रजौराले भने।

अर्को तर्फ बजारमा बिस्तारै मार्जिन प्रेसर समेत बढ्दै गएकोले पनि बजार घट्न थालेको अर्को अनुमान रजौराको छ। “गएको आर्थिक वर्षमा शेयर किनेकाहरूले त चालु वर्ष सुरु हुनु भन्दा अघि नै सबै कुरा मिलाए। तर चालु वर्ष ऋण लिएर सुरु गर्नेहरूलाई पनि बिस्तारै मार्जिन कल आउन सुरु गरिसकेको बुझेको छु। किनकि २२ सय ५० को बिन्दुमा किन्नेहरूको पनि कुनै कुनै कम्पनीको शेयर मूल्य २० प्रतिशत भन्दा तल झरिसक्यो। त्यसको प्रेसर पनि छ। अझै बजार यही गतिमा घट्दै गयो भने त बजार थप प्रेसरमा पर्छ” रजौराले थपे।

तर बजारमा केही सकारात्मक कुरा भएकोले पनि त्यति धेरै आत्तिनु भने पर्ने छैन। राष्ट्र बैंकले नै थोरै सहज स्थिति आएको भन्दै गर्दा नजिकिँदै गरेको निर्वाचनमा खर्च हुने पैसाले पनि बजारलाई बढ्न सपोर्ट गर्ने रजौराले बताए। अर्को तर्फ शेयर किन्नेहरूको लागि भने यति बेला सबैभन्दा राम्रो अवसर रहेको खेतान र रजौरा दुवैको भनाई छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।