बीमा दाबी रकम पाउनको लागि सर्जन बिक हत्याकाण्डः प्रतिवेदन बीमा समितिकाे बोर्डमा पुग्यो

Sep 21, 2022 06:16 PM Merolagani

बीमा दाबी रकम पाउनको लागि नियोजित रुपमाले हत्या गरेको भन्दै नेपाल प्रहरीले गत साउन १३ गते ६ जनालाई पक्राउ गरेको थियो । प्रहरीले सपना मल्ल,सञ्जीव अर्याल,सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटालाई पक्राउ गरेकाे थियाे ।

त्यस समुहले पूर्वयोजना अनुसार बाँके कोहलपुर नगरपालीका – ११ का २१ वर्षका सर्जन बिकको २०७८ बैशाख २ गते दुर्घटना गराएका थिए । दुर्घटनामा परि मृत्यु भएका बिक रिलायन्स लाइफ इन्स्योरेन्सका बीमित समेत थिए ।

पूर्वयोजना अनुसार दुर्घटना गराएर बिकको मृत्युपश्चात सपना मल्ल (बिकको नक्कली श्रीमती) ले २०७८ साउन १४ गते रिलासन्स लाइफ इन्स्योरेन्सबाट सावधिक जीवन बीमा र म्यादी जीवन बीमा वापतको २ करोड ५० लाख रुपैयाँ दाबी बापतको रकम बुझेका थिए ।

नेपाल पुनर्बीमा कम्पनीले बिकको सवारी दुर्घटना भएको मृत्यु शंकास्पद लागेपछि २०७८ पुस ३० गते सत्य तथ्य विवरणको अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान व्युरोलाई पत्रचार गरेको थियो।

प्रहरीको अनुसन्धान पश्चात २ जना महिला र ४ जना पुरूष गरी ६ जनाको समुहले पूर्वयोजना अनुसार बीमा दाबी रकम पाउनकै लागि दुर्घटनाको नाटक गरेर बिकको हत्या गरेको पुष्टि हुन्छ ।

प्रहरीले सपना मल्ल सहित मुख्य योजनाकार सञ्जीव अर्याल, बीमा अभिकर्ता सरदार अहमद खाँ, टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा पक्राउ गरेर सार्वजनिक गरेपछि बीमा क्षेत्रमा तरंग पैदा भयो ।

बीमा प्रति सर्वसाधारणको थप शंका उत्पन्न भयो । बीमा दाबी भुक्तानी पाउनकै लागि अपराध हुन थालेपछि भर्खरै बामे सर्न थालेको बीमा दायरा विस्तारको गति पनि धरापमा पर्ने संभावना रहेको बीमा विज्ञहरुको भनाई छ ।

बीमा दाबी भुक्तानी पाउनकै लागि त्यस्तो जघन्य अपराध भएको सूचना बाहिरीएपछि बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीको अण्डर राइटिङमा देखिएको कमजोरीका कारण यस्ता घटना हुने गरेको बताएका थिए ।

त्यस घटना लगतै समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट सर्जन बिकको दाबी भुक्तानीको डकुमेन्टहरु माग गरिएको थिए । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेले सर्जन विक मृत्यु दाबीको विषयमा अध्ययन सकिएको जनाएका छन् ।

'समितिले बीमा कम्पनीबाट सर्जन विकको बीमा दाबी सम्बन्धी डकुमेन्टहरु मगाएर अध्ययन गरिसकेको छ । त्यस विषयमा समितिले अध्ययन गरेर प्रतिवेदन बोर्ड (बीमा समिति सञ्चालक समिति) मा बुझाई सकेको छ,' उनले भने, 'बीमा कम्पनीबाट पनि जवाफ आएको छ । तर बोर्डले भने निर्णय गर्न बाँकी छ ।'

बोर्डले निर्णय गरेपछि दाबी भुक्तानी गर्दा गल्ती गरेकाे देखिएका सबैलाई कारवाही गर्न सक्ने समितिले जनाएको छ।

समितिले यस्ता घटनाहरु नदोहोरियोस भन्नका लागि फाइनान्सियल अडरराइटिङ्ग र केवाईसी अपडेटलाई कडाइका साथ लागू गर्न बीमा  कम्पनीहरुलाई दबाद दिदै आइरहेको छ ।

अपराध बढेपछि दाबी भुक्तानी सम्बन्धी निर्देशिका कडाईका साथ पालना गर्ने निर्देशन

बीमा समितिले सबै बीमा कम्पनीहरुलाई बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी गरेका निर्देशनहरूको पूर्णतः पालना गर्ने निर्देशन दिएको छ ।

बीमा व्यवसायसँग सम्बद्ध विभिन्न व्यक्ति, समूह तथा संस्थाहरू मार्फत पेश भएका किर्ते जालसाजीपूर्ण कागजातका आधारमा बीमालेख जारी हुने गरेको तथा बीमा दावी भुक्तानी हुने गरेको पाइएको भन्दै समितिको भदाै १५ गतेकाे बैठकले उक्त निर्देशन दिएको हो ।

त्यस्ता गतिविधिहरुबाट बीमा व्यवसायमा नकारात्मक असर पर्ने र बीमित तथा लाभग्राहीहरू पीडित हुनगई बीमा क्षेत्रप्रति जनविश्वास घट्न जानुका साथै बीमाक्षेत्रको शाखमा समेत ह्रास आउन सक्ने समितिले जनाएको छ ।

बीमा क्षेत्रमा गलत क्रियाकलापहरु हुन नदिन र बीमालेखको जोखिमांकन तथा दाबी भुक्तानी प्रकृयामा प्रचलित कानून तथा समितिबाट जारी निर्देशनहरूको पूर्णतः पालना गर्नेतर्फ आवश्यक व्यवस्था मिलाउन समितिले बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

त्यस्ता विषयका सम्बन्धमा सम्पूर्ण बीमकहरूले,बीमकका कर्मचारी,अभिकर्ता, बीमित,प्रस्तावक तथा सम्बद्ध सबै व्यक्ति तथा संस्थाहरूको ध्यानाकर्षण हुने सन्देशमूलक सार्वजनिक सूचना तयार गरी कारोबार हुने स्थानमा सबैले प्रष्टरूपमा देखे गरी टाँस गर्न समितिले निर्देशन दिएको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।