कम्पनीहरुले बोनस शेयर र नगद लाभांश गरी दुई तरीकाले लाभांश दिने गरिन्छ । नेपालमा शेयर बजार बढ्दो ट्रेन्डमा जाँदा कम्पनीहरुले बोनस शेयर लाभांशलाई प्राथमिकता दिने गर्दछ भने बजार घट्दो ट्रेन्डमा हुँदा भने नगद लाभांशलाई नै प्राथमिकता दिने गरिएको छ ।
यस वर्ष हरेक वर्षजस्तै म्युचुएल फन्डले नगद लाभांश घोषणा गरेर पनि लगानीकर्ताको खातामा जम्मा गरिसकेका छन् भने अन्य कम्पनीहरुले भने धमाधम लाभांश घोषणाको क्रम जारी राखेका छन् । लाभांश घोषणाको क्रममा धेरै कम्पनीहरुले भने नगद लाभांशलाई नै प्राथमिकतामा राखेको कम्पनीहरुको पछिल्लो गतिविधिले देखाएको छ । यस वर्षको पहिलो लाभांश घोषणा गरेको सानिमा हाइड्रोपावर कम्पनीले करसहित ५.२६५ नगद लाभांश मात्रै दिने घोषणा गरेको छ । कम्पनीले २०७३।७४ सालमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेपछि २०७४।७५ सालदेखि भने बोनस र नगद लाभांशको मिश्रित रुपमा दिने गरेको थियो । हरेक वर्ष कम्पनीले १० प्रतिशत बोनस दिँदै आएका थिए ।
जीवन बिमा कम्पनीमा सबैभन्दा राम्रो मानिएको नेपाल लाइफ इन्स्योरेन्सले पनि यसपटक नगद लाभांश मात्रै घोषणा गरेको छ । नेपाल लाइफले यसपटक १५.७८९५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । विगतका वर्षहरुमा कम्पनीले बोनस शेयर र नगद लाभांश मिश्रित रुपमा दिने गरेका थिए। त्यसमा पनि बोनस शेयर लाभांश नै अत्यधिक हुने गरेको थियो । कम्पनीले आव २०६८।६९ देखि नियमित लाभांश दिन थालेको थियो भने सबैभन्दा बढी १२६.३१ प्रतिशत लाभांश पनि सोही वर्ष प्रदान गरेको थियो । त्यसमा ७० प्रतिशत र ५६.३१ प्रतिशत नगद लाभांश रहेको थियो । हरेक वर्ष २५ देखि ५० प्रतिशतको लाभांश घोषणा गर्ने क्षमता राख्ने नेपाल लाइफले आव २०७६।७७ मा पनि सबैभन्दा कम १४ प्रतिशत बोनस शेयर प्रदान गरेकोमा यसपटक भने नगद १५.७८९५ नगद लाभांश मात्रै घोषणा गरेको हो । नेपाल लाइफले पहिलोपटक लाभांशको रुपमा नगद मात्रै घोषणा गरेको हो।
हाइड्रोपावर र बिमाले घोषणा गरेको नगद लाभांश घोषणाको श्रृंखलालाई यसपटक बैंकहरुले पनि निरन्तरता दिएका छन् । बैंकहरुमध्ये सिटिजन्स बैंक इन्टरनेसनलले गत आव २०७८।७९ को नाफाबाट करसहित ९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकले अहिलेसम्म घोषणा गरेको लाभांशमध्ये नगद लाभांश मात्रै घोषणा गरेको यो दोस्रोपटक हो । यसअघि आव २०६९।७० मा पनि बैंकले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । अहिलेसम्म घोषणा गरेको वार्षिक लाभांशमध्ये सबैभन्दा बढी २१.०५ प्रतिशत र सबैभन्दा कम २०७४।७५ मा ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको देखिएको छ ।
छोटो कारोबार इतिहास भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले पनि गत वर्षको नाफाबाट नगद लाभांश नै घोषणा गरेको छ । कम्पनीले ४.२१०५ प्रतिशत नगद लाभांश घाेषणा गरेको हो। यसअघि आव २०७७।७८ मा कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश गरेर ८.४२ प्रतिशत लाभांश घोषणा गरेको छ । नेपालको पुँजीबजारको इतिहासमा अहिलेसम्म सबैभन्दा ठूलो आइपीओ निष्काशन गर्ने कम्पनी निफ्रा नै हो । निफ्राले आइपीओमार्फत ८ अर्ब रुपैयाँ संकलन गरेको थियो ।
यस वर्ष कम्पनीहरुले नगद लाभांशलाई प्राथमिकतामा राख्नुमा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि प्रमुख कारण मान्नुपर्ने प्रबुद्ध लगानीकर्ताहरु बताउँछन् । राष्ट्र बैंकले गएको दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश भन्दा बोनस शेयरमा जोड दिन निर्देशन दिएको थियो । कम्पनीहरुले कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन बन्देज लगाएका थिए । त्यस कारण गएको दुई वर्षमा कम्पनीहरुले बोनस शेयरलाई प्राथमिकता दिएको भए पनि यस वर्षको मौद्रिक नीति पश्चात केन्द्रीय बैंकले लाभांश नीतिलाई परिमार्जन गर्दै बैंक तथा वित्तीय संस्थाले संस्थाको आवश्यकता अनुसार बोनस शेयर र नगद लाभांशको रुपमा दिन खुल्ला गरिदिएका थिए । केन्द्रीय बैंकले खुला गरिदिएकै परिणामतः अहिले घोषणा गरेको दुई वित्तीय संस्था सिटीजन्स बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक दुवैले नगद लाभांश नै घोषणा गरे ।
गत वर्ष पनि निफ्राले नगद लाभांश नै दिने घोषणा गरेका थिए तर केन्द्रीय बैंकले नगद लाभांश स्वीकृत नगरेपछि भने बाध्य भएर मात्रै बोनस शेयर लाभांश घोषणा गरेका थिए ।
अहिलेसम्म लाभांश घोषणा गरेका कम्पनीहरुले सबैले नगद लाभांश मात्रै घोषणा गरेको पनि छैन । केहीले भने बोनस र नगदको मिश्रणको रुपमा पनि लाभांश घोषणा गरेका छन् । नेपाल ल्युव आयलले अघिल्लो वर्षको नाफाबाट २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यस्तै अरुण काबेली पावर लिमिटेडले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर नै दिने घोषणा गरेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनीले पनि ५ प्रतिशत बोनस र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
अरु कसैसँग मर्जरमा नगईकन बोनस शेयर र हकप्रदबाटै बिमा समितिले तोकेको ५ अर्ब रुपैयाँको चुक्ता पुँजी पुर्याउने कोसिसमा रहेको एसियन लाइफ र नेसनल लाइफले पनि यसपटक बोनस शेयर नै दिने घोषणा गरे । हाल एसियन लाइफ इन्स्योेन्सको २ अर्ब ९० करोड चुक्ता पुँजी रहेको छ भने कम्पनीले पनि १४.५ प्रतिशत बोनस शेयर र बोनस शेयर लाग्ने कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीले बोनसबाट मात्रै बिमा समितिले तोकेको पुँजी पुर्याउन भने केही कठिन देखिएको छ । पुँजी वृद्धिको अन्तिम अस्त्रको रुपमा कम्पनीले हकप्रद शेयरको प्रयोग गर्ने देखिन्छ । त्यसैगरी मर्जर बिना सजिलै पुँजी पु¥याउन सक्ने कम्पनीमा भने नेसनल लाइफ इन्स्योरेन्सलाई लिन सकिन्छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ भने कम्पनीले आव २०७७।७८ मा १५ प्रतिशत बोनस र ०.७८९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । लाभांश घोषणा पछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । लाभांश पछि पनि ३५ करोड ९० लाख रुपैयाँ अपुग हुने देखिन्छ ।