चन्द्रागिरिको सञ्चालकबाट चन्द्र ढकाल र अम्बिका पौडेल किन बाहिरिए,अर्को वर्ष शेयर बेच्ने योजना हो ?

Jan 10, 2023 06:13 AM merolagani

सुवास निरौला

गएको पुस २१ गते सम्पन्न चन्द्रागिरि हिल्सको १३ औ साधारण सभाले नयाँ सञ्चालक समिति गठन गर्‍यो। अध्यक्ष पदमा रहेका चन्द्र ढकाल र सञ्चालक समिति सदस्य अम्विका प्रसाद पौडेल नयाँ गठित सञ्चालक समितिमा अटाएनन्।

उनीहरूको सट्टामा दिलीपशेखर श्रेष्ठले सञ्चालक समितिमा इन्ट्री पाए। दुई हटे तर इन्ट्री एकको मात्रै भयो। एक जना सञ्चालक अझै पुगेको छैन। कम्पनीले शेयर निष्कासन गर्दा ७ जना सञ्चालक हुने भनेको थियो। तर साधारण सभाले ६ जना मात्र सञ्चालक चयन गर्‍यो।

हेर्नुहोस् शेयर निष्कासन गर्दा प्रकाशित आह्वान पत्र

त्यस आधारमा अझै एक जना सञ्चालक नियुक्त हुन वाँकी छ। सञ्चालक समिति परिवर्तन हुनु ठुलो कुरा होइन,तर अध्यक्ष पदमा रहेका ढकाल र सदस्य पौडेलको बहिर्गमनलाई कम्पनीका साधारण शेयरधनीले निको मानेको छैन। आउने वर्ष शेयर बेच्ने योजनासहित उनीहरू सञ्चालक समितिबाट बाहिरिएको अड्कल काटेका छन्। “आउने वर्ष लकिङ पिरियड सकिँदै छ। सञ्चालक समितिमै बसिरह्यो भने शेयर बेच्न पाइँदैन। त्यही भएर उनीहरू एक वर्ष अघि नै बाहिरिएका हुन्” कम्पनीका एक शेयरधनीले मेरो लगानीसँग भने। उनका अनुसार आउने एक वर्ष उनीहरूले शेयरको मूल्य बढाउन ठुलै कसरत गर्ने छन्। त्यसपछि भटा भट सेल आउन सुरु गर्ने छ। त्यही योजना अनुसार उनीहरू बाहिरिएका हुन्।

गत पुस २१ गते उनीहरू सञ्चालक समितिबाट बाहिरिनु अघिल्लो दिनसम्म कम्पनीको प्रति कित्ता शेयर मूल्य ११ सय ७९ रुपैयाँ थियो। संयोगबस उनीहरू बाहिरिएकै दिन कम्पनीको मूल्य १० प्रतिशतले बढेर १२ सय ९६ रुपैयाँमा उक्लियो। उनीहरूको बहिर्गमन भए यता कम्पनीको शेयर मूल्य करिब २० प्रतिशतले बढी सकेको छ।

कम्पनीले शेयर बिक्री गर्नकै लागि दुई सञ्चालक बाहिरिएको आरोपलाई भने अस्वीकार गरेको छ। कम्पनीले सञ्चालक समिति परिवर्तनलाई नियमित प्रक्रिया भनेको छ। “साधारण सभाबाट सञ्चालक समिति परिवर्तन हुने विषय सामान्य हो। यसलाई नियमित प्रक्रियाको रुपमा लिनु पर्छ” कम्पनीमा आवद्ध एक सञ्चालकले भने।

नेपाल स्टक एक्सचेन्जमा चन्द्रागिरि हिल्सको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचिकृत छन्। जसमा अहिले सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार २२ कित्ता मात्रै दोस्रो बजारमा कारोबार हुँदै आएका छन्। त्यस बहेक सामुहिक लगानी कोषलाई आरक्षण गरिएको शेयर पनि कारोबारमा छन्।अरु सबै शेयर लकिङ पिरियड नसकिएको कारण कारोबारमा आउँदैनन्। तर आधारभूत शेयरधनी लगायत केही निश्चित व्यक्तिबाहेक सबैको शेयर कारोबार आउने वर्षबाट खुला हुँदै छ। किनकि आउने वर्ष कम्पनीले शेयर निष्कासन गरेको तीन वर्ष पुग्दै छ। कम्पनीले २०७७ पुस २४ गतेदेखि शेयर निष्कासन गरेको थियो भने निष्कासित शेयरको बाँडफाँट माघ ९ गते भएको थियो। नियम अनुसार बाँडफाँट भएको मितिबाट तीन वर्ष शेयर लक हुन्छ। जस अनुसार २०८० माघ ९ गतेबाट लकिङ पिरियड सकिन्छ। त्यसपछि सबैको शेयर साधारण जस्तै गरी कारोबारमा आउन सक्छन्।

लकिङ पिरियड सकिएपछि आयोजना प्रभावितलाई दिइएको दुई प्रतिशत हुन आउने तीन लाख ६ हजार ८१९ कित्ता र कम्पनीका कर्मचारीलाई आरक्षित गरिएको ६१ हजार ३६४ कित्ता शेयर समेत कारोबारमा आउने छन्। त्योसँगै संस्थापकलाई समेत कारोबारमा रोकटोक हुने छैन। केही सञ्चालक र कर्मचारीको शेयरबाहेक सबैको शेयर खुला हुने छ। कम्पनीमा १४ आधारभूत शेयरधनीसँग मात्रै एक करोड ३४ लाख ८६ हजार पाँच सय कित्ता शेयर छ। जसमा हेमराज ढकालको शेयर स्वामित्व सबैभन्दा बढी छ। उनको २९ लाख ४३ हजार तीन सय ३८ कित्ता छ। दोस्रोमा चन्द्र ढकालको स्वामित्व सबैभन्दा बढी छ। उनको स्वामित्व २९ लाख ४३ हजार तीन सय ३७ कित्ता छ। अम्विका पौडेलको शेयर स्वामित्व ९ लाख तीन हजार १५० कित्ता छ। यस आधारमा पनि आउने वर्ष चन्द्र ढकाल र अम्विका पौडेलको स्वामित्वमा रहेको ३८ लाख ४६ हजार ४८७ कित्ता शेयर बजारमा आउने अनुमान गरिएको हो।

सञ्चालकले नै शेयर बेचेर हिँड्न लागेको अवस्थालाई नेपाली शेयर बजारले निको मान्ने गरेकाे छैन। जसले गर्दा सञ्चालक समितिबाट भएको उनीहरूको बहिर्गमनलाई शेयरधनीहरूले अहिलेबाटै गम्भीरतापूर्वक लिन थालेका छन्। तर अन्तर्राष्ट्रिय बजारमा भने सञ्चालकले शेयर बिक्री गर्न लागेको सूचनालाई निक्कै महत्त्वको साथ हेर्ने गरिन्छ। सञ्चालकको बहिर्गमनलाई दुई तरिकाले हेर्ने गरिन्छ। पहिलाे कम्पनीको अवस्था राम्रो नभएकोको रुपमा लिइन्छ भने दोस्रोमा कम्पनीमा शेयर किनेर प्रवेश गर्दै गरेको लगानीकर्ताकाे स्टाटस कस्ताे छ,त्याे हेर्ने गरिन्छ। आउने र जाने बिचमा शेयर किन्दा वा बेच्दा हुने फाइदाको विश्लेषण गर्दै आफ्नो शेयर के गर्ने भन्ने निर्णय शेयरधानीले गर्ने गर्छन्। जुन अवस्थाको सामना चन्द्रागिरिका शेयरधनीले आउने वर्ष गर्नु पर्ने अवस्थालाई भने नकार्न सकिँदैन।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।