सिजनल बुलको अन्तिम घडी नजिकिएको भन्न थाले लगानीकर्ता,आजको “सुइङ” लाई सङ्केतको रुपमा लिनु पर्ने विश्लेषण

Jan 10, 2023 06:07 PM merolagani

सुवास निरौला

मंगलबार शेयर बजारले झण्डै झण्डै सय अंकको उतार चढाव झेल्यो। कारोबार खुलेको डेढ घण्टामै ६५ अंकले सूचक बढेर २२७६ अंकसम्म उक्लियो। डेढ घण्टा लगाएर उक्लिएको सूचक अर्को घण्टा नबित्दै २१८० अंकसम्म ओर्लियो। यस बीचमा सूचकले ९६ अंकको उतार चढाव झेल्यो।

तीव्र उतार चढावको बीचमा कारोबार रकम उल्लेख्य बढ्यो। कारोबारको अन्त्यमा भलै सूचक २१.३४ अंकले घटे पनि कारोबार रकम भने बढेर सात अर्ब ६५ करोडमा उक्लियो। जुन ११ महिना यताकै उच्च कारोबार हो। यसअघि २०७८ माघ २० मा साढे ८ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। मंगलबार भएको कारोबार त्यस यताकै सर्वाधिक हो।

कारोबार रकम उल्लेख्य बढ्नु र सूचक घट्नुले भने सिजनल बुल समाप्ति उन्मुख आइपुगेको विश्लेषण हुन थालेको छ। “अर्थमन्त्रीको साईकोलोजीले गर्दा केही दिनसम्म बजार माथि गयो। त्यसपछि पुनरकर्जाको विषयले थोरै तान्यो। विश्वासको मतलाई आज क्यास गर्‍यो। अब बाँकी भनेको ब्याजदर घट्ने विषय छ। अब ब्याजदर घटेको दिन बढ्न सक्छ। त्यसपछि बजारले क्यास गर्ने अरू कुरा छैन। ब्याजदर घटेकै दिन अहिलेको वृद्धि समाप्त हुन्छ जस्तो लाग्छ” एक ब्राेकरका सञ्चालकले मेरो लगानीसँग भने।

पछिल्लो समयको बृद्धिलाई फन्डामेन्टल सपोर्ट बिनाको वृद्धिको रुपमा हेर्न थालिएको छ। यस्तो अवस्थामा थोरै घट्नुलाई अस्वाभाविक मान्न नहुने तर्क गरिएको छ। आउने दिनमा बजार ह्वात्तै नबढे पनि निक्कै तल आउने सम्भावना कम रहने अनुमान गरिएको छ।

“अहिले  मनाेवैज्ञानिक रूपमा मात्रै बढेको हो। अब यसलाई सपोर्ट हुनकोलागि त अरू इन्डिकेटरहरुले पनि त सपोर्ट गर्नु पर्‍यो नि। अरू इन्डिकेटरले सपोर्ट गरेका छैनन्। बजार बढेको बढ्यै भयो। यस्तो अवस्थामा थोरै घट्नुलाई सामान्य रूपमै लिनु पर्छ। यति भन्दा भन्दै पहिलेकै जस्तो तुरुन्तै बढेर माथि गई हाल्ने स्थिति चाहिँ मैले देख्दिन। अब बजार साइड वेजमा जाला जस्तो देखिन्छ” उनले थपे।

उनको जस्तै विश्लेषण नेपाल इन्भेष्टर्स फोरमका पूर्वमहासचिव बच्चुराम रिमालको पनि छ। फन्डामेन्टल रुपमा राम्रा मानिएका कम्पनीको शेयर मूल्य बढ्नुको सट्टा फन्डामेन्टल रुपमा कमजोर मानिएका कम्पनीको मात्रै शेयर मूल्य बढ्दै गएका कारण लगानीकर्ता मंगलबारदेखि सचेत हुन थालेको देखिन्छ। “फन्डामेन्टल रुपमा राम्रो देखिने कम्पनी भन्दा साना कम्पनीको सुइङ ट्रेडमै बजारले अपेन डाउन गरेका कारणले लगानीकर्ता थोरै सतर्क भने हुनै पर्ने थियो। फन्डामेन्टल राम्रा भएका कम्पनी पनि सँगै बढेकाे भए बजार आशा गरे जस्तो हुन्थ्यो। हिजो जुन कम्पनी बढेर धेरै माथि पुगेर पछि तिनै कम्पनी असाध्यै घटेर लगानीकर्तालाई रुवाएका थिए। आज तिनै कम्पनीहरू मात्रै बढ्ने स्थिति भएपछि भोलि पनि त्यही इतिहास दोहोरिएला कि भनेर लगानीकर्ता सतर्क भएको रुपमा पनि लिन सकिन्छ” रिमालले भने।

रिमाल मंगलबार घटेको बजारको बारेमा थप भन्छन् “तीन/चार सय अंक बढिसकेको हुनाले अलिकति प्रफिट बुकिङ र बजारले थोरै करेक्सन पनि खोजिरहेको  हो। चार सय अंक बढेको बजार एक सय अंक करेक्सन आउनु स्वाभाविक नै हो।” 

तर पछिल्लो समयको इन्डेक्सलाई भने निक्कै माथि गएको भनेर भन्न नमिल्ने तर्क रिमालको छ। “बजार मात्रै अघि बढेर हुँदैन। अरू इन्डिकेटरहरु सँगसँगै जानु पर्छ। अर्थमन्त्रीप्रति लगानीकर्ता सकारात्मक भएको कारणले मात्रै शेयर बजारमा उत्साह जागेको हो। यो इन्डेक्सलाई हाइ भन्न मिल्दैन।  कारोबार रकम बढ्दै गएको अवस्थालाई हेर्दा भने बुलिसको सङ्केत देखिन्छ। बढ्दो बजारमा कारोबार रकम बढ्दै जानु निक्कै राम्रो सङ्केत हो। थप बजार बढ्न सक्ने आधारको रुपमा यसलाई पनि लिन सकिन्छ। अहिलेको अवस्थामा २२ सय अंक उक्लिनु खासै ठुलो कुरा भने होइन” रिमालले भने।  

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।