नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँकाे सटही दर १६० रुपैयाँ राखेपनि १५५ रुपैयाँमा नै पाइन थाल्याे, किन सस्ताे भाे भारू ?

Jan 23, 2023 02:01 PM MeroLagani

केन्द्रीय बैंकले भारतीय रुपैयाँ र नेपाली रुपैयाँको सटही दर स्थिर राखेपनि पछिल्लो समय सो दरभन्दा धेरै सस्तोमा भारतीय रुपैयाँ साटिन थालेको छ । नेपाल भारत सीमा क्षेत्रका व्यापारीहरुका अनुसार पछिल्लो समय १०० भारतीय रुपैयाँ साट्दा १ सय ५२ देखि १ सय ५५ रुपैयाँमा पाइन थालेको छ । नेपाल राष्ट्र बैंकले १ सय भारु सटही गर्दा १ सय ६० नेपाली रुपैयाँ कायम गरेको छ ।

केही महिना अगाडिसम्म १ सय भारतीय रुपैयाँ खरिद गर्न १६३ रुपैयाँभन्दा माथि नै भुक्तानी गर्नुपर्दथ्यो । पछिल्लो समय भने १ सय भारतीय रुपैयाँ खरिद गर्न १ सय ६० भन्दा पनि कम नेपाली रुपैयाँ भुक्तानी गरे पुग्ने गरेको मोरङ व्यापार संंघका अध्यक्ष नबिन रिजालले बताए ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारमा ६० प्रतिशतभन्दा बढी व्यापार भारतसँगै हुन्छ । नेपालको भु–बनोटको कारण पनि नेपालको अन्य देशसँगभन्दा भारतसँग व्यापार उच्च छ र भारतसँग व्यापार घाटा पनि सर्वाधिक छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर बेचेर नै भारतीय रुपैयाँ खरिद गरेर नेपालका उद्योगी व्यवसायीलाई दिने गरेको छ । चालु आवको मंसीरसम्म ५ महिनाको अवधिमा १ अर्ब ८२ करोड अमेरिकी डलर बिक्री गरी २ खर्ब ३५ अर्ब ३४ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको केन्द्रीय बैंकको तथ्यांक छ । अघिल्लो वर्षको पहिलो ५ महिनामा पनि २ खर्ब १६ अर्ब ९१ करोड नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरेर वितरण गरिएको थियो ।

अहिले बजारमा भारतीय रुपैयाँ छ्यापछ्याप्ती पाइन थालेको उद्योगी व्यवसायीको कथनले भने हलचल नै मच्चाएको छ । दशकौँदेखि महँगो रहेको भारतीय रुपैयाँ हुन्डी तथा अवैध सटही कारोबारका कारण ह्यस आएको बताइएको छ । नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले भारतीय रुपैयाँ आपूर्ति बढी भएर सोही अनुसार माग नहुँदा कम मूल्यमा भारतीय रुपैयाँ सटही हुन थालेको हुन सक्ने बताए ।

‘पछिल्लो समय तराई क्षेत्रमा नयाँ नयाँ होटलहरु खुलेका छन् । ती होटलमा भारतीय पर्यटकको आगमन राम्रै देखिएको छ । सोही अनुपातमा भारतीय रुपैयाँको सप्लाई बढेको हुनुपर्छ ।’–उनले भने । सरकारले पछिल्लो समय राजस्व अनुसन्धान विभागलगायतका सरकारी निकायलाई सक्रिय बनाउँदा सीमा नाकामा कानुन कार्यान्वयन राम्रो भएकाले अनौपचारिक गतिविधि कम हुँदै गएपछि भारुको माग पनि कम हुँदै गएको उनको अनुमान छ । उनले भने–‘अर्थतन्त्रलाई अनौपचारिक गतिविधि गर्न चाहिने भारु नै नचाहिने भए पछि भारतीय रुपैयाँको माग कम भएको हुनसक्छ ।’–उनले भने । यो विषय राष्ट्र बैंकको निगरानीमा आइसकेको बताउँदै यथार्थ कुरा भने औपचारिक अध्ययन गरेपछि मात्रै भन्न सक्ने उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष रिजालले नेपाल भित्रिने सामानहरुको भन्सार मूल्यांकन र फरक कर दरले भारतीय रुपैयाँ अपचलन हुन भूमिका खेल्ने गरेको बताए । उनले सीमा नाकामा अझ कडाई गरेर अवैध व्यापारलाई निरुत्साहित गर्नुपर्ने बताउँदै भन्सार दरहरुलाई बजार मूल्य अनुसार समयसापेक्ष परिवर्तन गरिए भने भारतीय रुपैयाँको अपचलनको समस्या नियन्त्रणमा आउने बताए । अहिले भारतीय रुपैयाँको सतही दर कम हुनुमा अवैध रुपमा नेपालबाट कुनै सामान भारत गएर त्यहाँबाट प्रशस्त भारतीय रुपैयाँ नेपाल आएको हुनुपर्ने अनुमान गरे ।

विशेषगरी नेपालमा आयात भएको सुन अवैध रुपमा भारत तस्करी हुने गरेको अनुमान गर्ने गरिन्छ । ‘सीमा नाकाबाट अवैध रुपमा नेपाल आएर कुन सामान हो जुन निर्वाध रुपमा भारत गइरहेको छ । तिनीहरुले नेपाललाई भारतीय रुपैयाँ दिइरहेको छ । धेरै भारतीय रुपैयाँ आएपछि यहाँ भारुको आपूर्ति बढी भयो र विनिमय दर तोकिएको दर भन्दा सस्तो हुन गएको हो ।’–संघका अध्यक्ष रिजालले भने, –‘चीनबाट कुनै सामान अवैध रुपमा नेपाल आएर त्यो भारत गएको हुन सक्छ । त्यही सामानको भुक्तानी स्वरुप नेपालीहरुले भारतीय रुपैयाँ लियो ।’ नेपालले भारत र चीन दुवैको सीमा नाकामा अस्वभाविक रुपमा आएका गएका सामानहरुको चेकजाँच गरे भने यो समस्याको चुरो पत्ता लगाउन सकिने उनले बताए ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।