अर्थतन्त्रको समस्या समाधानको लागि चीनमा सरकारी खर्च कटौतीको वृहत अभियान,सवारी साधनको प्रयोगमा समेत कडाई गर्ने चीन सरकारबाट नेपालकाे वर्तमान कम्युनिष्ट नेतृत्वले के सिक्ने ?

May 02, 2024 03:01 PM Merolagani

विश्वको महाशक्ति राष्ट्र बन्ने अभियानमा रहेको छिमेकी देश चीन यतिबेला विभिन्न आर्थिक समस्याबाट गुज्रिरहेको छ र त्यो समस्याबाट उन्मुक्ति पाउनको लागि निर्ममतापूर्वक काम गरिरहेको छ ।

सरकार संचालन गरिरहेको चिनियाँ कम्युनिष्ट पार्टीले फजुल खर्च नियन्त्रणका सबै उपायहरु अपनाइरहेको छ भने पार्टीका नेता कार्यकर्तामाथि आर्थिक मितव्ययीता अपनाउन कडा आदेश जारी गरेको छ । त्यस्ले गर्दा कोरोना महामारी पछि लडखडाइरहेको चिनिया अर्थतन्त्र विस्तारै लिकमा आइरहेको छ । तर, चिनियाँ कम्युनिष्ट पार्टीसँग सबैभन्दा प्रभावित रहेका नेपालका कम्युनिष्टहरुले चलाएको सरकारको अवस्था कस्तो छ ? चर्चा गरिरहनु पर्दैन ।

आर्थिक समस्या उत्पन्न भएपछि त्यसबाट उन्मुक्ति पाउनको लागि सरकारहरु कतिसम्म निर्मम भएर काम गर्नुपर्छ भन्ने दृष्टान्त गुइझौ प्रान्तका गर्भनर लिन बिङजुनले गरेको घोषणाले स्पष्ट पार्छ । झण्डै नेपाल जत्तिकै अर्थात २ करोड ९० लाख जनसंख्या भएको गुइझौमा हालै प्रशासनिक खर्चमा १५ प्रतिशतले कटौती गर्ने घोषणा गरिएको छ । प्रान्तीय सरकारले आयोजना गर्ने पार्टीहरु र छलफल कार्यक्रमलाई पूर्णरुपमा मितव्ययी बनाउन आदेश दिइएको छ ।

सरकारी कार्यालयका लागि नयाँ सामाग्री नकिन्न बरु भएकालाई मर्मत गरी काम चलाउन आदेश दिइएको छ । प्रिन्टरमा महँगो कागज प्रयोग नगर्ने नियम लागू गरिएको छ । र, यस्तो व्यवस्था चीनको संघिय सरकारको साथै २३ वटै राज्य सरकारहरुले लागू गरेका छन् ।

सन् २०१९ मा राष्ट्रपति सी चिनफिङले सरकारी खर्च कटौतीको नीति ल्याएका थिए । र, गत डिसेम्बरमा उनले यो कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने घोषणा गरेका थिए । ‘पार्टी र सरकारका हरेक अंगले कमभन्दा कम खर्चमा चल्ने बानी बसाल्नु पर्छ । कम्युनिष्ट पार्टीका हरेक कार्यकर्ताहरु जनताको सेवक हुन्, शासक होइनन्’ उनको यो भनाईलाई अहिले हरेक प्रान्त र हरेक काउण्टीहरुमा गुरुमन्त्र जस्तै गरि लिइएको छ ।

त्यसैक्रममा केही साता यता स्थानीय सरकारहरूले मातहतका निकायहरुलाई विस्तृत निर्देशन जारी गरेका छन् । जहाँ सरकारी कर्मचारी कसरी मितव्ययी बन्न सक्छन भन्ने तरिका विस्तृत रुपमा उल्लेख गरिएको छ । त्यसक्रममा कर्मचारीलाई सार्वजनिक सवारी साधन प्रयोग गर्न, कम मूल्यका स्टेशनरी सामग्री खरिद गर्न, प्रिन्ट वा फोटोकपी गर्दा कागजको दुवै भाग प्रयोग गर्न, ‘कलर’ फोटोकपी र प्रिन्ट नगर्न, भ्रमण र अनुगमनका कामहरु अति आवश्यक अवस्थामा बाहेक अरु बेला नगर्न भनिएको छ । कतिपय प्रान्तहरुले त एक किलोमिटरसम्मको दूरीमा कार्यालय भए पैदल, दुईदेखि पाँच किलोमिटरको दूरी भए साइकल, त्योभन्दा बढीको दूरी पार गर्नुपर्ने भए सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने आदेश नै जारी गरेका छन् ।

कोरोना महामारी लगत्तै चीनमा सामाजिक संजालमा अति धेरै खाना खाएको वा खाएको नाटक गरेर भिडियो हाल्न प्रतिबन्ध लगाएको छ । रेष्टुरेण्ट, स्कुल कलेज कंही पनि खाना फालेमा ५० हजार युआन अर्थात नेपाली करीब ९ लाख जरिवाना गर्ने नियम लागू गरिएको छ ।

पार्टी र सरकारको कार्यक्रममा खर्च कटौती देश र नागरिकप्रति बफादारिताको प्रमाणको रुपमा चर्चा गर्ने गरिएको छ । ‘हाम्रो उद्देश्य ठूला परियोजनाका लागि बजेट कम नहोस् भन्ने हो । बजेट व्यवस्थापन गर्न चुनौति छ । तसर्थ कार्यालयमा हुने दैनिक खर्च कम गर्ने रणनीति लिइएको हो । पार्टी र सरकारीस्तरमा हुने बचत नागरिकको जीवनयापनमा खर्च गर्ने चीन सरकारको नीति हो,’ गत मार्चमा चिनियाँ अर्थमन्त्री लान फोआनले भनेका थिए ।

स्मरण रहोस चिनियाँ कम्युनिस्ट पार्टीले मितव्ययितालाई सधैँ चिनियाँ क्रान्तिको अंगका रुपमा प्रचार गर्ने गरेको छ । पार्टीको अनुशासन समिति विगतका नेताहरूको साधारण जीवन शैलीलाई उदाहरणका रुपमा प्रस्तुत गर्ने गर्छ । जस्तो कि माओले ७३ पटक टालेको पाइजामा लगाउँथे, चेन युनले ६३ वर्षसम्म एउटै सुटकेस बोके आदी इत्यादी ।

चीन सरकारका अधिकारीहरु खर्च कटौतीको यो अभियानले पार्टी र सरकारी संयन्त्रलाई अनुशासित बनाउनेमा विश्वस्त छन् । साथै आर्थिक संकटमा फसेका गाउँहरुलाई ट्रयाकमा ल्याउने प्रयासमा मद्दत मिल्ने उनीहरुको तर्क छ ।

नेपालका कम्युनिष्ट पार्टीमा जस्तो पार्टीले निर्णय गर्ने, निर्देशन दिने तर लागू नहुने अवस्था त्यहाँ छैन । केन्द्रीय सरकार र पार्टीको उच्च तहबाट आउने निर्देशन पालना गर्न स्थानीय निकाय सधैँ तयार हुन्छन् । खासमा नेतृत्वलाई प्रभावित तुल्याउन उनीहरू तछाडमछाड नै गर्छन् ।

निश्चय पनि चीनको जस्तै निर्णयहरु लिइनु पर्छ, कार्यान्वयन गरिनुपर्छ भन्ने होइन । तर, देशको आर्थिक अवस्था खल्बलिएको बेला निर्मम तरिकाले खर्च कटौतीका उपाय अबलम्बन गर्नै पर्छ । यसबारेमा बेला बेलामा छलफल, चर्चा हुने गरे पनि प्रधानमन्त्रीले नै कार्यान्वयन चासो नदेखाउंदा आर्थिक अवस्थामा अपेक्षाकृत सुधार हुन सकेको छैन ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।