बजारमा शेयरको माग र आपूर्तिको आधारमा मूल्य तय हुने गर्दछ तर ‘एमकेटी’ विकल्प भने खुला बजार प्रणाली विपरित सीमित लगानीकर्ताले चाहे बमोजिम केही कम्पनीको मूल्य माथिल्लो विन्दुमा राख्न वा तल्लो विन्दुमा राख्न मात्रै प्रयोग भइरहेको छ ।
नेप्सेको टीएमएसमा लगानीकर्ताले चाहेको मूल्यमा शेयर किन्न वा बेच्न एलएमटी र बजारमा उपलब्ध मूल्यमा चाहे जति कित्ता शेयर किन्न वा बेच्न एमकेटी विकल्पको प्रयोग हुने गरेको छ । कुनै विशेष कम्पनीको मूल्यलाई माथिल्लो विन्दुमा ल्याउन प्रयासरत वा तल्लो विन्दुमा ल्याउन प्रयासरत समूहले यही ‘एमकेटी’ विकल्पलाई नै प्रयोग गर्ने गरेका छन ।
दिनभर नकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कम्पनीको शेयर मूल्य अन्तिम १ मिनेटमा सकारात्मक सर्किट लेभलमा वा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको कम्पनीलाई केही मिनेटमै नकारात्मक सर्किट लेभलमा कारोबार गराउने काम यही ‘एमकेटी’ विकल्पलाई नै प्रयोग गरेर गरिरहेका छन् । वास्तवमा अर्को कारोबार दिनको लागि अघिल्लो दिनको अन्तिम मूल्य ‘क्लोजिङ प्राइस’ले ठूलो अर्थ राख्ने गर्दछ । अर्को कारोबार दिन ‘नेक्स्ट ट्रेडिङ डे’ मा अघिल्लो दिनको ‘क्लोजिङ प्राइस’लाई आधार मानेर ओपनिङ प्राइस तोकिने हुँदा यसको ठूलो अर्थ हुन्छ ।
कुनै कम्पनीको ठूलो कित्ता होल्ड गरेको समूहले साधारणतया मूल्यलाई माथिल्लो विन्दुमा राखेर बन्द गर्ने प्रयास गरेको देखिन्छ भने त्यो शेयर बेचिसकेको समूहले त्यसलाई सकेसम्म होल्ड गरेको समूहको प्रयासलाई असफल बनाउने प्रयास स्वरुप मूल्यलाई नकारात्मक सर्किट लेभलमा कारोबार गराउने प्रयास गर्ने गरेको छ । दुई समूह बीच शेयर मूल्यलाई तल झार्ने र माथि सार्ने युद्धमै चलखेल हुने कम्पनीको मूल्य क्षणमै १० प्रतिशतले माथि जाने र क्षणमै १० प्रतिशतले तल जाने गरेको छ । यसले गर्दा सर्वसाधारण लगानीकर्ता फस्ने सम्भावना भने एकदमै धेरै हुन्छ । अस्वभाविक रुपमा मूल्य माथि लगेको छ भने अर्को दिनको कारोबारमा किन्ने लगानीकर्ता नै भेटिंदैन भने अस्वभाविक रुपमा मूल्यलाई तल लगिएको छ भने बेच्ने लगानीकर्ता नै हुँदैन । पछिल्लो समय गुराँस लघुवित्त, पिपल्स फाइनान्स, गोर्खाज फाइनान्स, पोखरा फाइनान्सलगायतका कम्पनीलाई यही ‘एमकेटी’ विकल्पलाई नै प्रयोग गरेर मूल्यमा अस्वभाविक चलखेल गरेको भेटिएको छ । बजार सञ्चालक नेप्सेका अधिकारीहरु पनि एमकेटी विकल्पको अवैध प्रयोग भएको बताउँछन् र तर त्यसलाई सुधार्ने विषयमा भने उदासिन देखिएको छ ।
हुन त नेप्सेमा कुनै कम्पनीको शेयर मूल्य १ कारोबार दिनमा अघिल्लो दिनको अन्तिमको मूल्यभन्दा १० प्रतिशतसम्म माथि जान सक्ने र १० प्रतिशतसम्म तल जान सक्ने प्रावधान छ भने कुनै कम्पनीको दुई कारोबार बीचको मूल्य अन्तर २ प्रतिशतभन्दा बढी हुन नहुने नियम रहेको छ तर एमकेटीको सवालमा भने यो २ प्रतिशतसभन्दा बढी मूल्य हुन नहुने प्रावधानलाई भने अटेर गर्ने गरेको छ । मूल्यमा चलखेल गर्न खोज्नेहरुले यही ‘लुपहोल’लाई नै हतियार बनाएर मूल्यलाई माथिल्लो विन्दुमा वा तल्लो विन्दुमा राख्ने प्रयास गर्ने गरेका छन् ।
मंगलबारको कारोबारमा पोखरा फाइनान्सको शेयर मूल्य घटाउन पनि ‘एमकेटी’ विकल्पकै प्रयोग भएको पाइएको छ । अघिल्लो दिन ७३१.५० रुपैयाँमा अन्तिम कारोबार गरिएको कम्पनीको शेयर मूल्य मंगलबार पनि बढाएर ७९५ रुपैयाँसम्मको मूल्यमा कारोबार गराइएको थियो । कारोबार समय सकिन लाग्दासम्म पनि ७८० देखि ७९५ रुपैयाँकै हाराहारीमा कारोबार भइरहेकोमा अन्तिम कारोबारमा ३ सय १६ कित्ता शेयर बेचेर पोखरा फाइनान्सको शेयर मूल्यलाई ६७९ रुपैयाँमा झारिदिए । यहाँ ‘एमकेटी’ कै प्रयोग गरेर ७८० रुपैयाँमा कारोबार भइरहेको शेयर अघिल्लो दिनको क्लोजिङ प्राइसभन्दा ७ दशमलब १८ प्रतिशतले घटेर ६७९ रुपैयाँमा अन्तिम कारोबार भयो ।
मंगलबारकै कारोबारमा पिपल्स पावर कम्पनी ५८१ देखि ६ सय १६ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो तर अन्तिम समयमा एमकेटी विकल्पकै प्रयोग गरेर कम्पनीको शेयर मूल्य ६ सय ७० रुपैयाँ पुर्याइयो।
पछिल्लो समय गुराँस लघुवित्त, पोखरा फाइनान्स, पिपल्स पावर जस्ता कम्पनीहरु अझ केही समय अगाडि गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावरजस्ता कम्पनीहरुमा अन्तिम समयमा यही ‘एमकेटी’ विकल्पकै प्रयोग गरेर शेयर मूल्यलाई निश्चित तहमा राख्ने प्रयास गरिएको देखिन्छ ।
बैंक व्याज दर र शेयर बजारको सम्बन्ध उल्टो हुने पाठ पढाइन्छ । व्याज दर घट्दा लगानीकर्ताको हातमा सस्तो पैसा हुने र त्यसले शेयर बजारमा शेयर माग बढ्न गई शेयरको मूल्य बढ्ने तिनीहरुको रटान हुन्छ । अहिले बैंकको व्याज दर झन्डै एकल दरमा झर्न थालेको अवस्था छ भने बैकिङ प्रणालीमा समेत पर्याप्त तरलता छ । लगानीकर्ताहरुका अनुसार बजारमा पर्याप्त तरलता भएर बैंक व्याज दर घट्दा समेत १५–२० करोडको लगानी सीमाका कारण लगानीकर्ताले थप लगानी बढाउन नसकेको बताउँछन् । यसले गर्दा लगानीकर्ताले आफूसँग भएको सिमित पैसाले मात्रै शेयर किनबेच गर्दा बजार पनि साइडवेजमा जान थालेको तिनीहरुको दाबी छ ।
साइडवेजमै पनि बजारबाट केही कमाउन लगानीकर्ताको समूहले एमकेटीको प्रयोगबाट निश्चित कम्पनीको शेयरलाई अस्वभाविक रुपमा उठाउने गरेको बताउँछन् । यसैको प्रभाव हो करिब दुई हप्ता अगाडि ४ सयमा देखिएको पोखरा फाइनान्स ७ सयभन्दा माथि मूल्य पुग्नु, एक महिना अगाडिसम्म ३ सय २५ को हाराहारीमा कारोबार भइरहेको पिपुल्स पावर ६ सय रुपैयाँ माथि पुग्नु र १ हजारको मूल्यमा कारोबार भइरहेको गुराँस लघुवित्त २ हजार भन्दा माथिको मूल्यमा कारोबार हुनु । बजारमा कम्पनकिो मूल्यलाई स्वभाविक माग र आपूर्तिको सिद्धान्त अनु्सार तय गराउन ‘एमकेटी’ विकल्पको दुरुपयोग रोक्न नियामक निकायले उचित कदम चाल्न हतार भइसकेको छ ।