अमेरिकी फेडले बुधबार मध्यरातमा ब्याजदरबारे आफ्नो निर्णयकाे घोषणा गरेको हो । यससँगै अमेरिकी फेडले ट्रेजरी रिडेम्पसन क्याप पनि घटाएको छ ।
बजार विज्ञहरूका अनुसार व्यापारिक दृष्टिकोणले यो खासै उत्साहजनक समाचार होइन । अन्तरराष्ट्रिय संचारमाध्यमका अनुसार लगानीकर्ताहरूलाई बुधबारको फेडरल रिजर्भको याे निर्णयले निकै दिक्क लागेकाे छ । अधिकारीहरूले २०२३काे जुलाईकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।
यद्यपि, केही व्यापारीहरू भने फेड रिजर्भको अर्को महत्त्वपूर्ण निर्णयबाट उत्साहित छन्। फेडले जूनमा सुरु हुने आफ्नो मात्रात्मक कडाइ (Quantitative Tightening) कार्यक्रमलाई उल्लेखनीय रूपमा घटाउने घोषणा गरेकाे छ।
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भको दुई दिने फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) बैठक बुधबार राति सम्पन्न भएको छ । यूएस फेडले बेन्चमार्क ब्याजदरमा कुनै परिवर्तन नगर्ने र लगातार छैठाैं बैठकमा ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतसम्म कायम गर्ने अनुमान बजारमा पहिल्यै गरिएको थियो । अमेरिकी शेयर बजार अर्थात् वाल स्ट्रीटले पनि यस्तै अनुमान गरेको थियो ।
अमेरिकामा मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेडरल रिजर्भले २०२२देखि मार्चमा नीतिगत ब्याजदर बढाएर ५.२५ प्रतिशत पुर्याएकाे थियाे । त्यसपछि सन् २०२३काे जुलाईयता व्याजदर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको बीचमा कायम गरियाे । यसमा अहिले पनि कुनै परिवर्तन गरिएकाे छैन।
एजेन्सीकाे सहयाेगमा ।