आफूलाई ‘कर्नर’ मा पार्न थालेको महसुस गरेपछि गभर्नर अधिकारी अर्थमन्त्री पुनसँग टाढिँदै, के अधिकारी ‘आफ्नो पार्टीका’  बाहेक अरु अर्थमन्त्रीसँग मिल्नै नसक्ने हुन् ?

Mar 31, 2024 06:50 PM Merolagani

अघिल्लो वर्ष केही दिन अर्थमन्त्री बनेका विष्णु पौडेलको कार्यकाललाई छोड्ने हो भने गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्रीको बीचमा ‘टसल’ शुरु भएको झण्डै ३ वर्ष भएको छ । अहिलेसम्मको अवस्था हेर्दा यस्तो लाग्दैछ-गभर्नर अधिकारीको कार्यकाल रचनात्मक कामको लागि भन्दा अर्थमन्त्रीसँगको ‘इगो’ को लडाइमै वित्दैछ ।

त्यो लडाई शुरु हुनुमा उनको गुण दोष कति छ त्यो आर्थिक विश्लेषकहरुले हिसाब निकाल्ने कुरा हो तर अर्थमन्त्री र गभर्नरको निरन्तरको ‘टसल’ अर्थतन्त्रको लागि क्यान्सर जस्तै भयानक संक्रामक रोगको रुप लिइरहेको छ । विवाद आकस्मिकरुपमा परिवर्तन भएको सत्ता गठबन्धनसँगै नयाँ अर्थमन्त्रीमा वर्षमान पुनः आएपछि  केही दिन थामिएको अर्थमन्त्री र गभर्नरको द्धन्द फेरि शुरु हुन थालेको देखिएको छ ।

२०७८ असारमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री बनेसँगै उनी र गभर्नर बीचको विवाद त्यतिबेला उग्ररुप लियो, जतिबेला अर्थमन्त्री शर्माको दबावमा मन्त्रीपरिषदले अधिकारीलाई वर्खास्त गर्ने निर्णय गर्यो । तत्कालिन अर्थमन्त्री शर्माका केही व्यवसायिक साझेदारहरुको कालोधन सटहीमा अवरोध गरेको पुष्टि भएपछि उनी र शर्माबीचको विवाद वर्खास्तगीमा सम्म पुगेको थियो ।

त्यसको विरुद्ध अदालत गुहारेका अधिकारी अदालतबाट पुनस्थापित त भएसँगै अर्थमन्त्री शर्मासँगको सम्वन्ध झन विग्रियो । अर्थमन्त्री र गभर्नरबीच बोलचाल नहुने र मौका पाएसम्म एक अर्काेलाई सिद्धाउने रणनीतिमा लागेकोले त्यसको असर अर्थमन्त्रालय र राष्ट्र बैंकका काम कारवाहीमा पनि प्रत्यक्षरुपमा परेको सम्वन्धित अधिकारीहरु बताउँछन् । राष्ट्र बैंकबाट आएका र गर्नै पर्ने अनुरोध, कामहरुलाई अर्थमन्त्रालयले नगर्ने वा लामो समय पेण्डिङमा राखेपछि बल्ल गरिदिने र अर्थमन्त्रालयका आदेशहरुलाई राष्ट्र बैंकले वेवास्ता गर्ने क्रम लामो समय चल्यो ।

संयोगवस केही महिनापछि शर्मा र अधिकारी दुवै अलग अलग प्रकरणमा मुछिए पछि उनीहरु बीचको विवाद पनि जर्वजस्त मत्थर भयो । अर्थमन्त्री शर्मा बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश र मुसा काण्डको कारण विवादमा परे भने गभर्नर अधिकारी एमाले आर्थिक विभागका सदस्य एम.अधिकारीको प्रकरणमा परे । शर्माको प्रकरणलाई एमालेले र अधिकारीको प्रकरणलाई माओवादी कांग्रेसले चर्काए । पछि एमालेले अर्थमन्त्री विरुद्ध नबोल्ने र माओवादी गभर्नर विरुद्ध नबोल्ने गरि ‘युद्ध विराम’ भएपछि त्यो काण्ड सेलाएको थियो । 

गत वर्ष भएको आम चुनावपछि अर्थमन्त्रालय केही दिन एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्हाले । आफ्नै पार्टीको नेता पनि भएकोले हुनुपर्छ, पौडेल र अधिकारीको सम्वन्ध पहिलेदेखि नै ‘एउटै गुटका नेता कार्यकर्ताको जस्तो’ सुमधुर रहेको कतैबाट छिपेको छैन । तर, पौडेल अर्थमन्त्री भएको केही दिनमै सत्ता परिवर्तन भएर कांग्रेस नेता डा.प्रकाशशरण महत अर्थमन्त्री भएपछि उनीसँग पनि अधिकारीको सम्वन्ध कहिल्यै सुधार हुन सकेन । अर्थतन्त्रको समस्या सृजना हुनुको कारण भन्दै एक अर्काेलाई दोषारोपण गर्ने क्रम महत अर्थमन्त्री रहँदासम्म चलिरह्यो ।

अहिले नयाँ अर्थमन्त्री पुन र गभर्नर अधिकारीबीचको सम्वन्ध केही दिन सुमधुर देखिएको थियो । अर्थमन्त्री पुन गभर्नर अधिकारीलाई फकाई फुल्याइ काम गर्ने प्रयासमा थिए र अझै पनि उनले त्यो प्रयास गरिरहेको देखिन्छ । तर, अगाडि मिठो बोल्ने, आक्रामकता नदेखाउने तर कुटनीतिकरुपमा अर्काको ढाडमा टेकेर ‘टाउकोमा हान्ने’  उनीहरु दुवैको एउटै स्वभावका कारण अहिले फेरि एक आपसमा चर्काे अन्तरद्धन्द शुरु भएको देखिदैंछ ।

जानकारहरुका अनुसार अर्थमन्त्री पुनले गभर्नर अधिकारीसँग राष्ट्र बैंकका नीतिगत विषयमा छलफल गरे पनि अरु विषयमा खासै छलफल गरेका छैनन् र गर्ने मनसाय पनि उनको देखिदैन । तर, अधिकारी भने ‘गभर्नर भनेको सरकारको आर्थिक सल्लाहकार हो’ भन्ने मान्यता राख्छन् । त्यही कारण अर्थतन्त्रका वित्तीय मात्र नभएर अरु विषयमा पनि अर्थमन्त्रीले आफूसँग सल्लाह गर्नुपर्ने उनको आसय छ । कुटनीतिक स्वभावका उनी त्यो कुरा बोलेका छैनन्, अरु बेला पनि ठाडै बोल्दैनन् । तर, जब कुनै काम आफूसँग ठोक्किन आइपुग्छ अनि त्यो बेला उनी व्यवहारबाटै जवाफ दिन्छन् । अहिले अर्थमन्त्रालय र सरकार लगानी सम्मेलनको तयारीको क्रममा आफूलाई ‘कर्नर’ पारिएको महसुस गरिरहेका गभर्नर अधिकारी बजेट निर्माणको विषयमा पनि अर्थमन्त्रीले महत्व नदिएको भन्दै उनीसँग टाढिदैं गएको राष्ट्र बैंकका अधिकारीहरुको दावी छ । घर जग्गा लगायतका गैरउत्पादनमूलक क्षेत्रको कर्जालाई पनि थप खुकुलो बनाउने, ब्याजदर घटाउने जस्ता विषयहरुमा अर्थमन्त्री र गभर्नरबीचमा कुरो मिल्न नसकेको छैन ।

जबकि केही समय अघिसम्म अर्थमन्त्री पुन र गभर्नर अधिकारी बीच तादात्म्य मिलेको, पुनले भने झैँ शेयर बजार र जग्गा कारोबारलाई सहज हुने खालको मौद्रिक नीति ल्याउन गभर्नर तयार रहेको जस्ता हल्लाहरु चलेको थियो, चलाइएको थियो । जानकारहरू आफूलाई सैद्धान्तिक रुपमा सही र दीर्घकालीन रूपमा उपयुक्त ठहर हुने खालका मात्र नीतिगत निर्णय र परिवर्तन गर्ने स्वभावका गभर्नर अधिकारी  अर्थमन्त्रीले दवाव दिदैं ‘कर्नर’ मा राख्न थालेको महसुस गरेका छन् । यसबारेमा उनले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेललाई जानकारी गराएको र पौडेलले जनार्दनको पालामा जस्तो हुन नदिने आश्वासन दिएको बताइन्छ । तर, पुनसँग शुरु भएको टकरावले के गभर्नर अधिकारी ‘आफ्नो पार्टीका’ विष्णु पौडल र युवराज खतिवडावाहेक अरु अर्थमन्त्रीसँग मिल्नै नसक्ने हुन् ? भन्ने प्रश्न उठ्न थालेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।