मुद्दतीको ब्याज घट्दा ८० प्रतिशत लगानी रहेको बीमा कम्पनीको वित्तीय अवस्था के होला ?

Apr 15, 2024 06:27 AM MeroLagani

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याज दर घटाउँदा त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुको नाफामा पर्ने भएको छ । १ वर्ष अघिसम्म निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिने बैंक तथा वित्तीय संस्थाहरुले अहिले घटाएर ५–६ प्रतिशतमा मात्रै दिन थालेका छन् । 

बीमा कम्पनीहरुले लगानीयोग्य कोषको ८० प्रतिशत हाराहारी रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती खातामा डिपोजिट गर्ने गर्दछन् । बैंकको ब्याज दर घट्दै जाँदा बीमा कम्पनीको नाफामा समेत गिरावट देखिने निश्चत छ ।

नेपाल राष्ट्र बैंकले केही समय अघि संस्थागत निक्षेपकर्तालाई सर्वसाधारणलाई भन्दा २ प्रतिशत कम ब्याज  दिनुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै चैत्र १ गतेदेखि लागू हुने गरी सर्वसाधारण र संस्थागत निक्षेपकर्ताको निक्षेपको ब्याज दरको फरक १ प्रतिशतसम्म मात्रै गर्न पाइने व्यवस्था गरेको थियो ।
२०७९ को माघमा १ वर्षको मुद्दती निक्षेपको औसत व्याज दर ११ दशमलब ०८ प्रतिशत रहेकोमा अहिले २०८० को चैत्रमा घटेर ८ दशलमब ७५ प्रतिशतभन्दा मुनि आइसकेको छ बैशाख महिनाको लागि विभिन्न वाणिज्य बैंकहरुले प्रकाशित गरेको ब्याज दर सूचनाका अनुसार व्यक्तिगत मुद्दतीमा औसत ७.२५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा औसत ६ प्रतिशत ब्याज  दर तोकिएको छ ।

‘हरेक महिनामा मुद्दती निक्षेपमा बैंकहरुले दिने ब्याज दर घट्दै गएको छ । बीमा कम्पनीहरुको आगामी त्रैमासिकको व्यालेन्स सिटमा घट्दाे निक्षेप ब्याज दरको असर देखिनेछ । ’–लाइफ इन्स्योरेन्सका एक जिम्मेवार अधिकारीले मेरो लगानीलाई भने ।

अर्थतन्त्रमा माग पक्ष कमजोर रहँदा पोलिसी सरेन्डर बढ्दै गएको र विस्तारै बीमा प्रिमियम समेत घटदै गएको छ । बीमा रकम नै घट्दै जाँदा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको सञ्चालन आम्दानी घट्ने देखिएको छ । त्यसमाथि बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा दिने ब्याज दर घटाएसँगै बीमा कम्पनीहरुको नाफा झन घट्ने देखिएको हो ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लगानीलाई विविधिकरण गर्न लगानी निर्देशिका जारी गरेको भएपनि कुल लगानीको ठूलो हिस्सा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमै राखेका छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुले कुल लगानीको ८० प्रतिशतभन्दा बढी लगानी विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा राखेका छन् ।

पछिल्लो समय बैंकमा निक्षेप फालाफाल भएपछि बैंकहरुले मुद्दती राखेको निक्षेप समेत नवीकरण नगर्ने प्रवृत्ति बढेको छ । बीमा प्राधिकरणले लगानी निर्देशिकामा संशोधन गर्दै पुँजी बजारमा कुल लगानीयोग्य कोषको १० प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिदिएको छ । कुनै एक कम्पनीमा कुल चुक्ता पुँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १० प्रतिशत पुर्याएको छ ।

मुद्दती निक्षेपमा प्रतिफल कम भए पछि बीमा कम्पनीहरुको केही रकम शेयर बजारमा समेत आउने आशा गर्ने गरिन्छ तर शेयर बजार जोखिमको क्षेत्र भएकाले अन्य शेयर खेलाडीहरुले जसरी बीमा कम्पनीले सबै कोष जोखिममा लगानी गर्न सक्दैन । नेपालको शेयर बजार भने पछिल्लो समय आधारभूत रुपमा कमजोर रहेका कम्पनीहरुले भने पुँजीगत लाभ बढी पाउने प्रवृत्ति देखिएको छ । संस्थागत लगानीकर्ताको बढ्दो लगानीले आधारभूत रुपमा बलिया रहेका कम्पनीहरुको समेत बजारमा माग बढ्न सक्ने ती अधिकारीले बताए । बीमा कम्पनीका ती अधिकारी अझै पनि लगानीयोग्य रकमको ठूलो हिस्सा शेयरमा लगानी गर्दा रिक्स हाई भएको बताउदै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सुरक्षित लगानी गरिएको बताउँछन् ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।