बैंकले ब्याजदर घटाएको सूचना मोवाइलको ‘म्यासेन्जर’ मा आउन थाल्यो, ‘ब्याजबाट घर खर्च चलाउछु भन्ने दिन गएछन्’

Apr 16, 2024 06:17 AM Merolagani

बैकहरुले सर्वसाधारणले राखेको पैसाको ब्याजदर धमाधम घटाउन थालेका छन् । नयाँ वर्षको पहिलो दिनदेखि लागु हुने गरी बैंकहरुले ब्याजदर परिवर्तन गरिएको सूचना निक्षेपकर्ताको मोवाइलमा म्यासेज गरी पठाउन थालेका हुन् ।

बैंकहरुले निक्षेपको ब्याजदर ७ महिनाको अवधिमा नै करिव आधाले घटाएका छन् । गत असोजमा सर्वसाधारण निक्षेपकर्ताले बैंकको बचत खातामा राखेको रकममा ६.०३ प्रतिशत ब्याज पाउथे । तर, अहिले त्यस्तो ब्याजदर घटाएर ३.५० प्रतिशतमा झारेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोजमा बचत खातामा नै ६.०३ प्रतिशत ब्याज दिने गरेको थियो । तर, अहिले उक्त बैंकले बैशाख १ गतेदेखि लागु हुने गरी त्यस्तो ब्याजदर घटाएर ३.५० प्रतिशतमा झारेको सूचना मोवाइलमा पठाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदरमा पुनर्विचार (रिभाइभ) गरिएको सन्देश म्यासेन्जरमा निक्षेपकर्तालाई पठाएको छ ।

यसैगरी, सानिमा बैंकले पनि निक्षेपको ब्याजदर घटाएको जानकारी निक्षेपकर्तालाई दिएको छ । उसले सञ्चालनमा ल्याएको ‘सानिमा सुलभ सेभिङ’ मा बैशाख १ गते लागु हुने गरी ३.५० प्रतिशत ब्याजदर दिने सन्देश निक्षेपकर्ताको मोवाइलमा पठाएको छ ।

अर्थात ७ महिना पहिला बचत खातामा ६ रुपैयाँ भन्दा बढी ब्याज पाउनेले अहिले ३ रुपैयाँ ५० पैसा मात्र पाउन थालेका छन् । बैंकले निक्षेपको ब्याजदर घटाएपछि त्यसको मार सर्वसाधारणको चुलोमा पर्न गएको छ ।

उपभोग्य बस्तुको मूल्य बढेर चुलो महंगिदै गएको छ । तर, यता बैंकले निक्षेपकर्तालाई दिने ब्याजदर घटाउँदा सर्वसाधारण दोहोरो मारमा परेका छन् ।

एकतिर बस्तुको भाउ बढेको छ, अर्कोतिर बैंकले ब्याजदर घटाउँदै लगेका छन् । यसले गर्दा सर्वसाधारणलाई बाच्नै मुस्किल भएको निक्षेपकर्ताले बताए । ‘पहिला पहिला घर खर्च चलाउनका लागि बैंककै ब्याजदरले भरथेग हुन्थ्यो, अहिले त बैंकमा राखेको पैसाको ब्याजको त केही पनि हुँदैन,’ उनले भने, ‘अहिले त बैंकमा पैसा राख्नु भनेको त चोरी नहोस भन्नका लागि मात्रै हो ।’

ब्याजदर घट्दा बैंकबाट ऋण लिनेलाई फाइदा भएपनि सर्वसाधारण निक्षेपकर्तालाई भने घाटा भएका छ । ऋणको ब्याजदर कुनै बेला १४ देखि १६ प्रतिशतसम्म पुगेको थियो । तर, अहिले ऋणको ब्याजदर १० प्रतिशतमा आउँदा ऋण लिनेलाई त फाइदा नै भएको छ । तर, सर्वसाधारणले बैंकमा जम्मा गर्ने रकम र त्यसबाट पाउने प्रतिफल भने न्यून हुँदै गएको छ ।

बैंकमा पैसा राख्ने र त्यसरी राखिएको पैसाको ब्याजले घर खर्च चलाउनेहरुको जमात धेरै नै छ । स्वदेशमा नै आफ्नो जागिरे जीवनबाट अवकास पाएकाले नागरिकले पनि बैंकमा पैसा राख्ने र त्यही पैसाको ब्याजबाट औषधि तथा घर खर्च चलाउने गर्छन् । तर, बैंकले निक्षेपको ब्याजदर घटाउँदै लगेपछि ब्याजदरमा निर्भर हुनेहरुको बिचल्ली हुने अवस्था आएको छ ।

वाणिज्य बैंकहरुले चैत महिनाका अन्त्यमा बैशाख महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका थिए । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुले बैशाखमा ब्याजदर घटाएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपमा चैत महिनामा औसतमा अधिकतम ७.२५ प्रतिशतविन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले बैशाख महिनामा औसतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् । मुद्दती निक्षेपको ब्याजदर नै ७ प्रतिशतमा आइपुगेको छ ।

मुद्दती निक्षेपको तुलनामा बचत खाताको ब्याजदर कम हुने नै भयो । बैंकहरुले बचत खातामा ब्याजदर घटाउँदै लगेपछि सर्वसाधारण निक्षेपकर्तालाई मर्का पर्ने नै भयो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।