अर्थमन्त्रालय अन्तर्गतका आधा दर्जन निकाय नेतृत्वविहिन, अर्थमन्त्री पुन आफ्नै गुटको ‘कामरेड’ नपाएर हैरान

Apr 17, 2024 06:21 AM Merolagani

यतिबेला अर्थमन्त्रालय एकातिर नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारोमा छ भने अर्काेतर्फ चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेका आम्दानी र खर्चको लक्ष्य पुरा गर्नुपर्ने दवावमा छ ।

त्यसमाथि अर्थमन्त्रालय मातहतका कैंयौ निकायहरु महिनौंदेखि नेतृत्वविहिन छन् र निमित्तको भरमा काम गर्न वाध्य भैरहेका छन् । तर, निकै आशा गरिएका अर्थमन्त्री वर्षमान पुन भने देशभित्रका आन्तरिक समस्याहरुलाई समाधान गर्नेतर्फ गम्भिरतापूर्वक कदम चाल्नु पर्नेमा विदेश भ्रमणमा निस्किएका छन् ।

विश्व वैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री पुनको गैरजिम्मेवार कार्यशैलीबाट अहिले मन्त्रालयकै कर्मचारीहरु पनि शसंकित हुन थालेका छन् । मन्त्री पुनले मातहतका निकायहरुलाई चलायनमान बनाउनको लागि छिटो छरितोरुपमा काम गर्नु पर्नेमा आफू नजिकका व्यक्तिहरु नियुक्ति हुन नसक्ने अवस्थामा बरु त्यत्तिकै अल्झाइराख्ने नीति लिएको देखिएको छ ।

कार्यकारी प्रमुख नियुक्ति नहुँदा अहिले अर्थमन्त्रालय अन्तरगतका आधा दर्जन निकायहरु प्रभावकारीरुपमा संचालन हुन सकेका छैनन् । निमित्त प्रमुखलाई कतिपय कार्यकारी अधिकार नहुने र भएका अधिकारहरु पनि प्रयोग गर्न डराउने भएकोले अहिले धेरै संस्थाहरुमा अति आवश्यक नीतिगत काम वाहेक अरु नीतिगत कामहरु ठप्प छन् । कुनै नीतिगत काम लिएर जाने मानिसहरुलाई सम्वन्धित संस्थाका अधिकारीहरुले ‘नयाँ हाकिम आएपछि गरौंला’ भन्दै फर्काउने गरेका छन् । तर, नयाँ हाकिम कहिले आइपुग्छन् ? त्यसबारेमा सम्वन्धित अधिकारीहरु नै अनविज्ञ छन् ।

अहिले अर्थमन्त्रालय मातहतका धितोपत्र बोर्ड, नेपाल पुनर्बिमा कम्पनी, राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय वाणिज्य वैंक नेतृत्वविहिन छन् र निमित्तको भरमा चलिरहेका छन् । त्यस्तै अर्थमन्त्रालय मातहत नभए पनि प्रत्यक्ष सम्वन्धित माहालेखा परिक्षकमा तोयम रायालाई नियुक्ति गर्ने प्रकृया अगाडि बढेपनि अझै नियुक्ति भैसकेको छैन र लामो समयदेखि उक्त कार्यालय पनि निमित्तको भरमा चलिरहेको छ ।

अर्थमन्त्री पुन नियुक्त भएपछि ती निकायहरुमा नियुक्ति प्रकृया छिटो छरितो रुपमा अगाडि बढ्ने अपेक्षा विपरित पुनले हरेक नियुक्तिमा ‘आफ्ना मान्छे’ खोजी गर्न थालेपछि थप समस्या सृजना भएको छ । लामो समयदेखि खाली रहेको धितोपत्रको बोर्डको अध्यक्षको नियुक्तिको प्रकृया अन्तिम चरणमा पुगेर सर्टलिष्टमा परेकाहरुको ‘पेपर प्रिजण्टेशन’को दिन हठात पुनले रोकेपछि समग्र प्रकृया नै अवरुद्ध भएको छ । अध्यक्षको नियुक्तिको प्रकृया किन रोकिएको हो भन्ने बारेमा अर्थमन्त्री पुनले सार्वजनिकरुपमा कुनै प्रतिकृया दिएका छैनन् । तर उनले अनौपचारिकरुपमा भने योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ नेतृत्वको छानबिन समितिले सिफारिस गरेका नामहरुमा ‘योग्य व्यक्ति छुटाइएको’ भन्ने जवाफ दिने गरेका छन् । उनले भन्ने गरेको ‘योग्य व्यक्ति’ को हो ? त्यो अहिलेसम्म खुलेको छैन । तर, उनले अर्थतन्त्र र पूँजी बजारलाई बुझेका व्यक्तिभन्दा पनि कार्यकर्ता वा
सो सरहका व्यक्ति खोजेका हुन भन्नेमा शंका छैन ।

यस्तै राष्ट्रिय जीवन बीमा कम्पनीका तत्कालिन प्रशासक कवि पाठकको कार्यकाल सकिएसंगै उक्त कम्पनी कार्तिक २१ गतेदेखि निमित्तको भरमा संचालन भैरहेको छ ।कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि मागिएको आवेदन अनुसार निवेदन दिएका ९ जनामध्ये ५ जनालाई अस्विकृत गरेर केही दिन अघि ४ जनाको नाम सर्टलिस्ट गरिएको छ । ती ४ जनामा हालका निमित्त सिइओ सुवास कोइराला, राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ सुरेन्द्र थापा, संस्थानका पूर्वप्रशासक डा. शिवहरि श्रेष्ठ र साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ नारायणकुमार भट्टराई रहेका छन् । कम्पनीको संचालक समितिको अध्यक्ष माओवादी उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा निकट कार्यकर्ता ईश्वर पौडेल रहेका छन् । शर्माको ‘कार्यकर्ता’ भएकोले माओवादी निकट भए पनि उनले प्रमुख कार्यकारी नियुक्त गर्दा आफ्नो मान्छे नपर्ने भयमा रहेकोले अर्थमन्त्री पुन धितोपत्र वोर्डको जस्तै गरि जीवन बीमा कम्पनीको सिइओ छनौट प्रकृया पनि रद्ध गर्ने उपायको खोजीमा रहेको चर्चा माओवादी निकट अर्थशास्त्रीहरुमा चलिरहेको छ ।

पुन र शर्मा प्रधानमन्त्री प्रचण्ड निकट मानिए पनि पछिल्लो समय माओवादी भित्र शर्माले प्रचण्डको तिखो आलोचना गर्दै आएका छन् । त्यहीकारण उनी समर्थक नेता कार्यकर्तालाई नयाँ नियुक्ति नदिने रणनीति पुनले बनाएको र त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत रहेको चर्चा माओवादी भित्र चलिरहेको छ । त्यो अवस्थामा धितोपत्र बोर्डमा जस्तै जीवन बीमा कम्पनीको सिईओ नियुक्ति प्रकृया पनि स्थगित गरिए आश्चर्य हुने छैन ।

अर्थमन्त्रालय अन्तरगत रहेको अर्काे निकाय नेपाल पुनर्बिमा कम्पनीमा शंकर रायमाझीले प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएपछि पुस पहिलोसातादेखि उक्त कम्पनी पनि निमित्तको भरमा चलिरहेको छ ।  त्यसयता दामोदर भण्डारीले निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिरहेका छन् ।अर्थमन्त्रालयले अहिलेसम्म प्रमुख कार्यकारी नियुक्तिको लागि कुनै प्रकृया नै शुरु गरेको छैन ।

उता देशकै सबैभन्दा ठूलो वाणिज्य वैंक राष्ट्रिय वाणिज्य वैंक पनिसातादेखि कार्यकारी नेतृत्वविहिन भएको छ । वैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि देवेन्द्ररमण खनाल निमित्त सिईओ बनेका छन् । अर्थमन्त्रालयले सिईओ नियुक्तिको लागि अहिलेसम्म कुनै प्रकृया शुरु गरेको छैन । वैंकका अधिकारीहरु निमित्तको भरमा त्यति ठूलो बैंक संचालन गर्नु चुनौतिपूर्ण भएकोले तत्काल नियुक्त प्रकृया शुरु गर्न अनुरोध गर्दा पनि अर्थमन्त्रालयका अधिकारीहरुले चासो नदिएको गुनासो गर्छन् । ‘तत्कालिन सिईओले अवकाश नपाउंदै उहाँ समेत गएर अर्थमन्त्री पुन लगायतका अर्थमन्त्रालयका अधिकारीहरुलाई राष्ट्रिय वाणिज्य वैंक जस्तो वैंकलाई नेतृत्वविहिन बनाउनु ठीक होइन, तत्काल नियुक्ति प्रकृया शुरु गरियोस भनेर अनुरोध गरिएको थियो ।’ वैंकका एक अधिकारीले मेरो लगानीसंग भने । उनका अनुसार तत्कालिन सिईओ किरणकुमार श्रेष्ठ नयाँ सिईओलाई स्वागत गरेर बिदाई हुने सोंचमा थिए । त्यहीकारण उनले आफ्नो कार्यकाल सकिएकै दिन नयाँ सिईओलाई स्वागत गर्न पाउं भनेर अर्थमन्त्रीसंग अनुरोध नै गरेका थिए । तर, अर्थमन्त्री पुनले वास्ता गरेनन् । शायद उनले वाणिज्य वैंक सम्हाल्ने माओवादी कार्यकर्ता फेला पार्न सकेका छैनन् । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।