सुदूर पश्चिम प्रदेशको सत्ता संघर्षः शेयर लगानीकर्ताको लागि सबैभन्दा ठूलो पाठ

Apr 17, 2024 01:50 PM Merolagani

बाबुराम ढकाल
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रंजिता श्रेष्ठ र उनका पति तथा संस्थापक रेशम चौधरीबीचको विवादका कारण सुदूरपश्चिम प्रदेशमा सत्ता संघर्ष चर्किएको छ ।

उनीहरुबीचको विवादकै कारण पार्टीको मुखमै आइसकेको मुख्यमन्त्री पद सो पार्टीले गुमाएको छ भने केन्द्रमा पनि त्यसको असर देखिदैंछ । गठवन्धनमा संलग्न दलहरुबीच सो पार्टीको ‘वार्गेनिङ’ क्षमता निकै कमजोर बनेको छ ।

यस्तै अवस्था रहे ८४ सालमा गठवन्धनको गोलचक्कर के होला र सो पार्टीको अवस्था के होला ? कसैले पनि भन्न सकिने अवस्था छैन । सुदूर पश्चिम प्रदेशको राजनीतिक अस्थिरता, पार्टीहरु बीचको कुर्सी दौडबाट राजनीतिक नेता, कार्यकर्ता र विश्लेषकहरुले के पाठ सिक्लान् ? र, त्यसको परिणाम के होला ? त्यो आफ्नो ठाउँमा छ । त्यो भन्दा पनि यो घटना नेपालका शेयर बजारका खेलाडीहरु वा लगानीकर्ताको लागि भने संभवतः अहिलेसम्मकै सबैभन्दा खतरनाक पाठ हो । यो पाठबाट शिक्षा नलिने हो भने शेयर लगानीकर्ताहरुले आफूलाई सफल लगानीकर्ताको रुपमा स्थापित गर्न निकै चुनौतिपूर्ण हुने निश्चित छ ।

किन ?

यो प्रश्नको जवाफ थाहा पाउन थोरै पुरानो इतिहासलाई स्मरण गर्नुपर्छ । करिब २ दशक अघि जब नेपाल टेलिकमको शेयर नेप्सेमा सूचिकृत भएर कारोबार शुरुभयो, त्यसमा सर्वसाधारणको अभूतपूर्व आकर्षण देखियो । फलस्वरुप सय रुपैंया मूल्यको शेयर १४ सय, १५ सयमा खरिद विक्री भयो र बजारमा के हल्ला चलाइयो भने त्यो बढेर ३ हजार,४ हजार पुग्छ । त्यस्तो हल्लाको बीचमा जाे जस्ले शेयर विक्री गरे उनीहरु मालामाल भए । सय रुपैंया मूल्यको शेयर १४,१५ सयमा विक्री गर्न पाएपछि उनीहरु मालामाल हुनु स्वभाविक थियो । तर,जस्ले बजार हल्लाको आधारमा ३ हजार, ४ हजार पुग्छ र विक्री गरौंला,अनि मोज गरौंला भनेर कुरे, तिनीहरु कहिल्यै उठ्न नसक्ने गरि पछारिए । किनकी केही समयपछि घटेको टेलिकमको शेयरको भाउ अहिले करिब २ दशकपछि साढे आठ सयको हाराहारीमै घुमिरहेको छ । हजार पुग्न पनि अझै कति कुर्नुपर्ने हो ठेगान छैन । त्यतिबेला पछारिएका धेरै लगानीकर्ताहरु त शेयर बजारबाटै पलायन भए ।

विश्वका सफल शेयर कारोबारीहरुका बीचमा एउटा भनाइ सदावहाररुपमा लोकप्रिय रहने गरेको छ । त्यो हो- लोभको सीमा तोकेर त्यो अनुसार चल्न सक्नु पर्छ । लोभको सीमा बुझ्न सकिएन भने त्यसले बिचल्ली बनाउंछ ।

३,४ हजार पुगेपछि मोज गरौंला भनेर कुरेका नेपाल टेलिकमका शेयरधनीहरुले यदि ‘लोभको सीमा’ बुझेर वा तोकेर सय रुपैंयाको शेयरबाट १४,१५ कमाउनु चानचुने कुरा होइन, अब यहाँभन्दा धेरै जे भए पनि ‘मलाई पुग्यो’ भनेर आफ्नो ‘लोभको घैंटो’ भरेर शेयर बेचेको भए रुवाबासी हुने अवस्था आउंदैनथ्यो । टेलिकमको शेयरमा मात्र होइन, अरु धेरै कम्पनीको शेयरमा पनि यस्ता घटनाहरु घटने गरेका छन् र लोभको सीमा तोक्न नजान्ने वा लोभको घैंटो भरिएको चाल नपाउनेहरुको सधैभरि बिचल्ली नै हुने गरेको छ । र, यस्ता घटना शेयर बजारमा मात्र होइन, राजनीतिक, सामाजिक, हरेक क्षेत्रमा हुने गरेको छ ।

पछिल्लो पटक सुदूरपश्चिमको सत्ता संघर्ष र रेशम—रंजिताबीचको लडाई त्यही लोभको सीमा तोक्न नसक्दाको परिणाम हो । यदि उनीहरुले लोग्ने, स्वास्नी र पार्टी भित्रको गुटलाई व्यवस्थापन गर्न सकेको भए उनीहरु सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा मात्र होइन, केन्द्रमा पनि मालामाल हुने थिए । मुख्य मन्त्री र मन्त्रीहरु उनीहरुको लागि कुनै ठूलो कुरो थिएन । तर, म नै सर्वेसर्वा, मैले भनेको सबैले मान्नुपर्छ भन्दै ‘लोभको सीमा’ तोक्न नसकेर आपसमा लडदाको परिणाम अहिले उनीहरु आफै निरिह बनेका छन् । ‘वार्गेनिङ पावर’ लगभग सकिएको छ, मुखमा आइसकेको मुख्य मन्त्री पद अर्कैले खोसिदिएको छ । केन्द्रमा मन्त्री बन्ने, बनाउने कुरामा पनि उनीहरु महत्वहिन प्रमाणित भएका छन् ।

यदि उनीहरुले शुरुदेखि नै लोभको सीमा तोकेर काम गरेको भए रेशम—रंजिताको घर भाँडिने खतरा त रहने थिएन नै मुख्य मन्त्री र प्रदेश तथा संघमा पनि मन्त्रीहरु पाउने थिए, मालामाल हुने थिए । तर अहिले परिणाम ! सबैले देखे जानेकै कुरा हो ।

त्यसैले सुदूरपश्चिम प्रदेशमा देखिएको राजनीतिक विवाद र लफडाबाट पाठ सिकेर शेयर लगानीकर्ताहरुले ‘लोभको सीमा’ तोक्न सिक्नुपर्छ । कुनै बेला मूल्यमा आएको उछाललाई समातेर त्यहीअनुसार चल्न सिक्नुपर्छ । बजार हल्लाको आधारमा अर्काे ठूलो उछाल आउंछ र त्यही बेला फ्याट्टै शेयर विक्री गर्छु, मालामाल हुन्छु भनेर कुर्दा हैसियत गुमाएका रेशम, रंजिता र नागरिक उन्मूक्ती पार्टी जस्तो ‘घरको न घाटको’ हुने अवस्था आउने छ ।

त्यसैले शेयर लगानीकर्ताले राजनीतिक घटनाक्रमहरुबाट पाठ सिक्नु जरुरी छ भने राजनीतिक नेता कार्यकर्ताले ‘लोभको सीमा तोक्न जान्नु पर्छ’ भन्ने शेयर कारोबारीहरुका बिचमा चल्ने गरेको मिथकलाई आत्मसात् गर्नु जरुरी छ । तब बल्ल बिचल्लीमा पर्नबाट जोगिन सकिन्छ । अन्यथा सधैको रुवाबासीवाहेक अरु केही हुने छैन ।

 

 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।