विश्व मन्दीकाे असर : पर्यटक आगमनले ठूलो फड्को मार्दा पनि प्रति पर्यटक खर्च बढेन

Apr 18, 2024 06:17 PM MeroLagani

नेपालमा पर्यटक बढे अनुसार खर्चालु पर्यटक बढ्न सकेको छैन । कोभिड पछि नेपाल आउने पर्यटकको संख्यात्मक वृद्धि कोभिड अगाडिकै अवस्थामा पुगे पनि तिनीहरुको प्रति पर्यटक प्रति दिन गर्ने खर्च र बसाई अवधिमा भने खासै वृद्धि हुन सकेको छैन । विश्व मन्दीकाे असरस्वरुप खर्च गर्ने क्षमताकाे कमी आएकाे सराेकारवालाहरु बताउँछन् ।

पर्यटन मन्त्रालयले प्रकाशित गरेको ‘नेपालको पर्यटन तथ्यांक २०२३’का अनुसार सन् २०२३ मा प्रति दिन प्रति पर्यटक खर्च ४१ डलरको हाराहारी मात्रै रहेको छ जबकि सन् २०२२ मा यस्तो खर्च ४० दशमलब ५ डलर थियो । पर्यटक संख्याको तुलना गर्ने हो भने सन् २०२२ को तुलनामा सन् २०२३ मा ६५ प्रतिशत बढी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२२ मा जम्मा ६ लाख १४ हजार ८६९ पर्यटक मात्रै नेपाल भ्रमणमा आएको सन् २०२३ मा यो संख्या बढेर १० लाख १४ हजार ८८२ जना पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार नेपालले पर्यटकबाट सन् २०२३ मा ५४ करोड ८२ लाख डलर आम्दानी गरेको छ जबकि सन् २०२२ मा पर्यटकबाट ३५करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको छ । पर्यटन व्यवसायीहरु भने सरकारको तथ्यांक वस्तुपरक नभएको बताउँछन् । होटल एसोसिएसन अफ नेपाल हानका अध्यक्ष विनायक शाहले सरकारले पर्यटकबाट औपचारिक रुपमा भएको खर्चलाई मात्रै आधार मान्ने हुनाले पर्यटकहरुको खर्च कम रेकर्ड भएको बताए । ‘कुनै पर्यटक एयरपोर्टबाट होटलमा जाँदा ट्याक्सी चढ्दा ट्याक्सीलाई भुक्तानी गरेको हुन्छ । ठमेलको सानो होटलमा खाजा खाएको हुन्छ । त्यस्तो खर्च सरकारको रेकर्डमा नदेखिने हुँदा प्रति दिन प्रति पर्यटक खर्च कम देखिएको हो । वास्तविक खर्च भनेको सरकारको तथ्यांक भन्दा दोब्बर हुन्छ ।’–उनले भने । अनौपचारिक खर्च रेकर्ड नभएकै कारण सरकारले पर्यटन क्षेत्रको जिडीपीमा योगदान कम देखाउने गरेको बताए । जीडीपीमा पर्यटन क्षेत्रको योगदान सरकारले ३ दशमलब २ प्रतिशत मात्रै देखाइरहँदा विश्व बैंकलगायतको तथ्यांकमा भने ८ प्रतिशत भन्दा बढी देखाएको उनले दाबी गरे ।

यता ठमेलतिरका पसलेहरु भने पछिल्लो समय पर्यटक धेरै आए पनि पसलमा राम्रो व्यापार नै नभएको बताउँछन् । ‘पर्यटक नआएको होइन, धेरै नै छिर्छन तर पछिल्लो समय कोभिड अगाडि जस्तो महंगो र गुणस्तरीय सामान किन्ने पर्यटक भने कम भित्रिएका छन् । प्रायः गिफ्ट दिने भनेर सस्तो सामानहरु मात्रै लैजाने गरिएको छ ।’–ठमेलका एक पश्मिना पसले गुनासो गर्छन ।

औसत बसाईमा पनि झिनो वृद्धि

पर्यटन मन्त्रालयको तथ्यांकले प्रति पर्यटन खर्चसँगै औसत बसाईमा झिनो वृद्धि देखिएको छ । सन् २०२३ मा एक जना पर्यटकको औसत बसाई १३.२ दिन रहेको छ । मन्त्रालयका अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा औसत बसाइ १३.१ दिन रहेको थियो । कोभिड महामारीका बेला कम पर्यटक आए पनि पर्यटकको बसाइ अवधि भने बढी हो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो । कोभिड अगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रति पर्यटक बसाइ अवधि थियो ।

नेपाल आउने पर्यटकमध्ये ५५ दशमलब ८४ प्रतिशत पुरुष र ४४ दशमलव १२ प्रतिशत महिला रहेको तथ्यांक छ । सन् २०२२ को तुलनामा महिला पर्यटक बढेको छ । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका धेरै छन् । सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो । दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन्। यो २६.८४ प्रतिशत हो ।


comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।