स्थानीय तहको पैसा घट्दा बढेको अन्तर बैंक ब्याजदर फेरि सीमा तल झर्यो

Apr 18, 2024 05:28 PM Merolagani

अर्थमन्त्रालयले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नदिने निर्णय गरेसँगै बढेको अन्तर बैंक ब्याजदर फेरि ब्याजदर करिडोरको सीमा भन्दा तल झरेको छ। गत सोमबारदेखि नै अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको हो।

सोमबार अन्तरबैक ब्याजदर २.९४ प्रतिशतमा झरेको केन्द्रिय बैंकले जनाएको छ।

बैंकहरुले स्थानीय तहको ६० प्रतिशत पैसालाई निक्षेपको रुपमा गणना गर्दै आएकोमा अर्थ मन्त्रालयले केही दिन अघि सो पैसालाई निक्षेपको रुपमा गणना गर्न नदिने निर्णय गरेको थियो। त्यसबाट बैंकहरुको करिब १ खर्ब निक्षेप घटेको थियो। त्यसको भोलिपल्टै देखि अन्तरबैंक ब्याजदर बढ्न थालेको थियो। बैंकहरुको अन्तरबैंक ब्याजदर बढेर साढे ४ प्रतिशतसम्म पुगेकोमा अहिले पुनः घटेर पुरानै अवस्थामा झरेको छ।

अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ भने कर्जा लगानी त्यति धेरै बढ्न सकेको छैन। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको छ। ९० प्रतिशतसम्म कायम गर्न पाउने सिडि रेशियो ८० प्रतिशतमा छ। जसले बैंकहरुमा ५ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।

राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सिमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत कायम गरेको छ। अन्तरबैंक ब्याजदरलाई यो सीमाभन्दा माथि राख्ने राष्ट्र बैंकको लक्ष्य रहन्छ। जसको लागि राष्ट्र बैंकले बजारबाट तरलता प्रशोचन समेत गर्ने गरेको छ।

यसैकोलागि राष्ट्र बैंकले बैंकहरुमा बढी भएको तरलता राष्ट्र बैंकमा निक्षेपको रुपमा राख्न मिल्ने गरी स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो। बैंकहरुले ३ प्रतिशत ब्याजदरमा हप्तामा २ पटक स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउँछन्। तर पनि अन्तरबैंक ब्याजदर भने ३ प्रतिशतभन्दा तल झरिसकेको छ। यसले राष्ट्र बैंक ब्याजदर करिडोर कार्यन्वयनमा चुकिरहेको देखिन्छ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुमा अधिक तरलता हुँदा अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सिमाभन्दा मुनि रहँदै आएको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।