अधिकाँश बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा, आरओई ८ प्रतिशतमा झर्याे

Apr 19, 2024 03:04 PM Merolagani

वाणिज्य बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले अधिकाँश बैंक आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थमा देखिएका छन्। बैंकहरुको बढ्दो खराब कर्जाले गर्दा बैंकहरुको वित्तीय विवरण अधिक प्रभावित भएको देखिन्छ।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकहरुलाई कर्जा असुलीमा समस्या परिरहेको थियो। अर्थतन्त्र नसुध्रिँदा बैंकहरुको कर्जा असुलीमा अझै सुधार आएको छैन्। जसले गर्दा बैंकहरुले ठुलो रकम सम्भावित जोखिम बापत छुट्याएर राख्नु परेको छ। यसले राम्रै नाफा कमाएका बैंकलेले पनि आगामी वर्ष शेयरधनीलाई लाभांश दिन नसक्ने अवस्था छ।

चालु आर्थिक वर्षमा ८ वटा बैंकहरुले शेयरधनीलाई लाभांश वितरण गर्न सकेनन्। आगामी वर्ष अझै धेरै बैंकहरुले लाभांश वितरण गर्न नसक्ने र लाभांश वितरण गरे पनि लाभांश दर निकै घट्ने बैंकरहरु बताउँछन्।

गत वर्ष बैंकहरुको लाभांश दर निकै घटेको थियो। विगत लामो समयदेखि ३० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दै आएको नबिल बैंकले यस वर्ष लगानीकर्तालाई ११ प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो। आगामी वर्ष यो दर अझै घट्ने देखिएको बैंकका अधिकारीहरु बताउँछन्।

हिमालयन बैंक,कुमारी बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक,प्रभु बैंक लगायतले शेयरधनीलाई लाभांश वितरण गर्ने पैसा नै नभएपछि गत वर्ष लाभांश वितरण गर्न सकेनन्। उनीहरुको वितरयोग्य नाफा निकै कम देखिएको थियो। यसैगरी केहि बैंकको पूँजीकोष नपुग्दा समेत लाभांश रोकिएको अवस्था थियो। चालु आर्थिक वर्षमा पनि तीन बैंकको पूँजीकोष केन्द्रीय बैंकले तोकेको सीमाभन्दा तल भरिसकेको छ। ती बैंकले आगामी वर्ष लाभांश वितरण गर्न पाउँदैनन्। यस्तै लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि पुगेकोले उसले पनि लाभांश वितरण गर्न पाँउदैन।

चालु आर्थिक वर्षमा बैंकहरुको वित्तीय अवस्था झनै खस्किएको छ। तेस्रो त्रैमाससम्ममा बैंकहरुको खराब कर्जा औसतमा साढे ३ प्रतिशत पुगेको छ । एक बैंकको ५ प्रतिशत माथि छ भने आधा दर्जन बैंकको ५ प्रतिशत नजिक छ।

तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,सानिमा बैंक,एसविआई बैंक,नबिल बैंक, प्राइम बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंक बाहेक अन्य सबै बैंकको वितरणयोग्य नाफा नकारात्मक छ। यसमा पनि एभरेष्ट बैंक,स्ट्यान्डर्ड चार्टर्ड बैंक,सानिमा बैंक,एसविआई बैंक, नबिल बैंक, प्राइम बैंकले मात्रै ५ प्रतिशतभन्दा बढी प्रतिफल दिन सक्ने क्षमता बनाएका छन्।

बैंकहरुको खराब कर्जा बढेको र त्यो खराब कर्जा उठ्न नसक्दा उनीहरुको वित्तीय अवस्था खस्किएको हो। अहिले खराब भएका कर्जा उठे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नु पर्छ। यसले गर्दा चालु आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा धेरै घट्ने सम्भावना नरहेको बैंकरहरु बताउँछन्। जसले गर्दा बैंकहरुले शेयरधनीलाई प्रतिफल दिन नसक्ने अवस्था देखिएको हो।

चैत मशान्तसम्ममा बैंकहरुको खराब कर्जा औसतमा ३.४ प्रतिशत पुगेको छ। तेस्रो त्रैमासमा खराब कर्जा केही सुधार हुने अपेक्षा गरिए पनि बैंकहरुको खराब कर्जा घटेको छैन। चैतसम्ममा लक्ष्मी सनराइज बैंकको खराब कर्जा सबैभन्दा धेरै ५.४९ प्रतिशत छ भने हिमालयन बैंकको ४.९६ प्रतिशत, कुमारी बेंकको ४.९५ प्रतिशत र नेपाल बैंकको ४.८५ प्रतिशत छ।

एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा कम ०.७ प्रतिशत छ भने नविल बैंकको १.२७ प्रतिशत, एनआइसि एशिया बैंकको १.७६ प्रतिशत र सानिमा बैंकको १.८९ प्रतिशत छ।

  • रिटर्न अन इक्वीटि ८ प्रतिशतमा झर्यो

कुनै समय २० प्रतिशत माथि रहेको बैंकहरुको रिटर्न अन इक्वीटि अहिले ८ प्रतिशतमा झरेको छ। चैत मशान्तसम्ममा बैंकहरुको औसत आरओई ८.४२ प्रतिशतमा झरेको छ।

वाणिज्य बैंकहरुमा स्ट्यान्डर्ड चाटर्ड बैंकको आरओई सबैभन्दा धेरै १६ प्रतिशत छ भने नेपाल बैंकको सबैभन्दा कम ०.४८ प्रतिशत छ।

बैंकहरुको रिटर्न घट्दै गएको कारण पनि पछिल्लो समय वाणिज्य बैंकहरुबाट संस्थापक शेयरधनीहरुले शेयर बिक्री गरेर बैंकबाट बाहिरिन थालेका छन्।

बैंकहरुको प्रतिफल दर घट्दै जाँदा त्यसको असर बैंकहरुको शेयरमूल्यमा पनि देखिएको छ। अहिले बैंकहरुको शेयरमूल्य लगातार घट्दो क्रममा छ। अहिले बैंकिङ्ग उपसमूहको सूचक करिब ४ वर्ष यताकै न्युन विन्दुमा छ। अन्य कम्पनीहरुको शेयरमूल्य बढिरहेको भए पनि बैंकको शेयरमूल्य घट्दो अवस्थामा छ।

बैंकहरुको अहिले प्रतिफल पनि धेरै नआउने र पूँजी पनि धेरै भएको कारण बढ्न नसकेको लगानीकर्ताहरु बताउँछन्। पहिलेको जस्तो धेरै लाभांश पाउने आश नभएकोले गर्दा पनि लगानीकर्ताको आकर्षण कम भएको छ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।