यौन काण्डका अभियुक्तहरु पुरस्कृत गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु, दीर्घ सोडारी मुख्यमन्त्री बनेपछि उठेका प्रश्नहरु

Apr 19, 2024 02:21 PM Merolagani

एमाले कैलालीको जिल्ला अध्यक्ष भएकै अवस्थामा दीर्घ सोडारीमा २०७४ सालमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त भए । त्यसको केही समयपछि नै उनका यौन काण्डहरु छताछुल्ल हुन पुगे ।

नेपालगन्जदेखि, धनगढी र महेन्द्रनगरसम्मका होटलहरुमा पुगेर ‘गर्लफ्रेण्ड’संगको रासलिला मच्चाएका काण्डहरु सार्वजनिक भए पछि उनी एमालेको जिल्ला अध्यक्ष मात्र छोड्न वाध्य भएनन्, मन्त्री पद पनि गुमाउन पुगे । यौन काण्डको बेला त्यसलाई ढाकछोप गरिदिनको लागि पार्टी अध्यक्ष केपी ओलीको साथ खोजेका सोडारीलाई ओलीले साथ दिएनन् ।

त्यसैको रिसमा उनी एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको नेकपा समाजवादीमा लागे र विहिबार मुख्यमन्त्री नियुक्त भए । उनलाई मुख्यमन्त्री नबनाउन एमालेले अन्तिम समयसम्म पनि अडान लिनुको कारण उनको त्यही काण्ड थियो । तर, संसदिय अंक गणितको कारण एमालेले उनलाई अन्तिम समयमा मुख्यमन्त्रीमा समर्थन गर्यो । यसरी विवादास्पद यौन काण्डका एक अभियुक्त सोडारी मुख्यमन्त्री बने । उनी यौन अपराधमा मात्र होइन, विभिन्न आर्थिक स्क्याण्डलहरुमा समेत फसेका व्यक्ति हुन् । अब उनले प्रदेशमा कसरी शासन चलाउलान, आर्थिक र समाजिक अपराधकर्मलाई कसरी नियन्त्रण गर्लान, त्यो हेर्न बांकी नै छ ।

गजब के छ भने आफूहरुले नैतिक मूल्य मान्यतासहितको राजनीति गरिरहेको दावि गर्ने नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुषालले सोडारी जस्तो विवादास्पद व्यक्तिलाई मुख्यमन्त्री बनाउन मरिमेटेरलाग्नुको कारण के हो ? रहस्यको विषय बनेको छ ।

त्यसो त यौन काण्डमा फसेर पनि उन्मुक्ती पाउने सोडारी एक जना मात्रै होइनन् । एमाले केन्द्रिय सदस्य ऐन महर यौन काण्डमा परेर केही दिन पार्टी कारवाहीमा परे । तर, पछि फेरि कुनै कारण बिना नै उनको कारवाही फिर्ता गरियो । त्यस्तै एकजना कार्यकर्ताले एमाले पोलिटव्युरो सदस्य महेश बस्नेत माथि लगाएको यौन शोषणको आरोपले संचारमाध्यम र सामाजिक संजालमा लामो समयदेखि चर्चा पाइरहेको छ । यद्धपी प्रमाण नपुगेको भन्दै प्रहरीले उनी विरुद्ध कारवाही नचलाउने निर्णय गरेको छ ।

गत स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा एमाले नेता तथा काठमाण्डौ महानगरपालिकाका प्रमुख पदका उम्मेद्वार केशव स्थापित माथि यौन शोषणको आरोप लाग्यो । स्थापितले त्यसलाई तथ्यपरकरुपमा खण्डन गर्न सकेनन् ।
त्यसको असर निर्वाचनको परिणाममा पनि परेको चर्चा एमाले वृतमा अझै चलिरहेको छ । तर, एमालेले स्थापितलाई कारवाही गरेन, न त त्यो काण्डको छानबिन गरेर सत्यतथ्य नै पत्ता लगाउने प्रयास गर्यो ।

एमाले र समाजवादी लगायतका राजनीतिक पार्टीहरुका माथिल्लो तहका नेताहरु मात्र होइन, प्रदेश र जिल्ला स्तरका नेता कार्यकर्ता पनि यस्ता काण्डमा मुछिदैं आएका छन् । तर, त्यस्ता दोषिहरुलाई कारवाही गर्नुको साटो
पुरस्कृत गर्ने प्रवृत्तिले अपराधकर्मलाई नै बढवा दिइरहेको छ भन्नेमा शंका छैन । उदाहरणको लागि आफ्नै कार्यकर्तासंग रासलिला मच्चाइरहेको सार्वजनिक भएपछि सभामुख पद गुमाउन पुगेका कृष्ण वहादुर महरालाई जेलबाट छुट्नासाथ माओवादीले उपाध्यक्ष नियुक्त गर्यो ।

केही महिना अगाडि सुन काण्डमा समातिएका महरालाई अझैसम्म पनि सो पार्टीले कारवाही गरेको छैन,बरु माओवादीका नेता कार्यकर्ताहरु ‘राष्ट्रवादी अडान राख्दा महरालाई फसाइएको हो’ भन्ने दावी गर्ने गर्छन् ।

 

 

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।