सीएकाे कोर्षलाई हाम्रो कानुनले राम्रो सँग चिन्न सकेको छैन: सीए नवराज बुर्लाकोटीसँगकाे अन्तर्वार्ता

Apr 19, 2024 06:33 PM merolagani

चार्टर्ड एकाउण्ट काेर्स अन्तराष्ट्रिय मान्यता प्राप्त काेर्स भएर पनि नेपालमा कानूनी रूपमा प्रश्न उठाउने गरिन्छ । यसलाई तालिमकाे रूपमा चित्रण गरिँदा यस बिषय पढेकाहरू दु:ख मान्छन् । उनीहरू भन्छन्- सिए कुनै विश्वविद्यालयकाे काेर्ष चाँही हाेइन तर याे आफैंमा एउटा विश्वविद्यालय हाे।

वास्तवमा सिए काेर्ष के हाे र के हाेइन, नेपालमा यसकाे पढाई कसरी हुने गरेकाे छ ? यी लगायतका बिषयमा मेराे लगानीका उप सम्पादक सुवास निराैलाले प्राइम सिएका संस्थापक अध्यक्ष  नवराज बुर्लाकोटीसँग कुराकानी गरेका छन् ।

तपाई प्राइम सिएको संस्थापक अध्यक्ष हुनुहुन्छ। भर्खरै प्राइम सिएले दुई दशक पार गर्यो। सुरुवाती दिनहरु अलिकति शेयर गर्नुस् न।

जतिबेला मैले सिए पास गरे त्यतिबेला नेपालमा सिएको पढाइ नै हुँदैन थियो। जब मैले भारतको दिल्लीबाट सिए पास गरेर आएँ, त्यति बेला नेपालमा चार्टर्ड एकाउन्टेन्ट भनेकै के हो ? यो कस्तो पढाई हो भनेरै पहिले बुझाउनु पर्थ्यो। त्यतिबेला धेरै बिद्यार्थी पनि थिएनन्। भर्खर भर्खर आइक्यानको स्थापना भएको अवस्था थियो। पढ्ने सामग्रीहरुको अभाव थियो। त्यसको पनि विकास गर्नुपर्ने अवस्था थियो। एक हिसाबले हेर्दा एकदमै स्क्राचबाट सुरुवात भएको थियो। अहिले त्यो दिन सम्झँदा एकदमै रमाइलो अनुभूति हुन्छ। तर त्यतिबेला चाँहि निक्कै कठिन पूर्ण नै थियो।

सुरुका दिनमा नेपालमा पढ्नु पर्ने तर परिक्षा चाँहि भारतको दिल्लीमा गएर दिनुपर्ने अवस्था थियो हैन ?

सुरुका दिनमा आइक्यानको स्थापना भएको थिएन। त्यसले गर्दा नेपालमा पढ्ने अनि परिक्षा पनि नेपालमै हुने गर्थ्यो। तर भारतीय दुतावासमा गएर परिक्षा दिनु पर्थ्यो। तर पछि आइक्यानको स्थापना भयो। आइक्यानको स्थापना भएपछि पनि केही वर्ष नेपाल र भारत दुबैको कोर्ष पढाइ हुन्थ्यो। दुई वटा मोडल केहि समय समानान्तर चल्यो।

अहिले पनि त्यस्तै छ ?

अहिलेका ९० प्रतिशत बिद्यार्थीले नेपालकै कोर्ष पढिरहनु भएको छ। पारिवारिक पृष्ठभूमि वा अन्य कारणले गर्दा केही बिद्यार्थीले भने भारतकै कोर्ष पनि पढिरहेको अवस्था छ। तर जुन देशमा काम गर्ने हो त्यही देशको कोर्ष पढेको राम्रो हो।

चार्टर्ड एकाउन्टेन्टले जुनसुकै देशमा काम गर्नुपर्ने हुन सक्छ। नेपालमा पढेको बिद्यार्थीले जुनसुकै मुलुकमा काम गर्न सक्ने अवस्था हुन्छ कि हुँदैन ?

विश्वविद्यालयमा जुन क्रेडिट आवरको सिस्टम छ। चार्टड एकाउन्टेन्सीमा पनि त्यस्तै त्यस्तै छ। चार्टड एकाउन्टेन्टहरुको पनि एउटा अन्तराष्ट्रिय संस्था छ जसलाई हामी लेखा व्यवसायीको महासंघ भन्छौ। जसलाई छोटकरीमा आइफ्याक्ट भनिन्छ। त्यसकाे पुरा नाम चाँहि इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टस् हो। आइक्यान यो संस्थाको सदस्य छ। संसारमा जति पनि आइफ्याक्टका सदस्य छन्। तिनीहरु बीच  क्रेडिट ट्रान्सफर हुन्छ। कानून र करचाँहि देश अनुसार हुने भएकोले जुन देशमा काम गर्ने हो त्यही देशको पढ्नु पर्छ। नेपालमा पढ्दा नेपालको कानुन र कर पढ्छौ। भारतमा पढ्दा भारतकै पढाइ हुन्छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि चार्टर्ड एकाउन्टेन्ट हुन्। उनकाे पढाईको विषयमा सर्बोच्चमा मुद्दा पनि छ। यो एक प्रकारको तालिम मात्रै हो। यसैको आधारमा गभर्नर बन्न मिल्दैन भन्ने आराेप पनि छ। के सिए तालिम मात्रै हो ?

यो पढाईका विषयमा केही भ्रम असाध्यै व्याप्त छ। सबैभन्दा पहिले त चार्टर्ड एकाउन्टेन्ड भन्ने कोर्ष असाध्यै गाह्राे कोर्ष हो। यसलाई पास गर्नै सकिंदैन भन्ने भ्रम छ। यो पनि भ्रम नै हो। यही धर्तीका मानिस सिए हुने हुन्। त्यसमा सत्यता छैन।

अर्को भ्रम के छ भने यो कुनै विश्वविद्यालय अन्तर्गतको कोर्ष हो कि होइन ?  हो यो कुनै विश्वविध्यालय अन्तर्गतको कोर्ष चाँहि होइन। तर यो आफैमा एउटा विश्वबिद्यालय हो। कतिपय देशहरुमा यसलाई डिम्ड युनिभर्सिटि भनिन्छ। नेपालमा चाँहि नेपाल चार्टर्ड एकाउन्ट ऐन २०५३ सालमा आयो। त्यस अन्तर्गत रहेर आइक्यान स्थापना भयो। त्यो संस्थाले दुई वटा काम गर्ने गर्दछ ।  पहिलो विद्यार्थीहरुको भर्ना गर्ने, परिक्षा लिने र नतिजा सार्वजनिक गर्ने। नतिजामा उत्तिर्ण भएकालाई त्यहिको सदस्यता दिने र तिनीहरुको रेगुलेसन गर्ने।

अर्को भ्रम चाँहि यो कुनै कम्प्युटर वा ड्राइभिङको तालिम लिने जस्तै हो भन्ने यदाकदा सुनिन्छ। यसको बिषयमा बुझ्न र बुझाउन नसक्नु आँफैमा बिडम्बना हो। संस्थागत रुपमा पनि यसलाई बुझाउन नसकेको अवस्था छ। वास्तवमा यो कोर्षको बिषयमा प्रश्न गरिराख्नु पर्दैन। यो आफैंमा पूर्ण छ।

जुन बिषय हामीले जब बुझ्दैंनौ त्यसपछि हामी कानुन पल्टाउन थाल्छौ। कानुनले त चिनेको छैन। यसमा म के भन्छु भने कानुन कहिले काँहि अपुरो र अधुरो हुन्छ। त्यसो भयो भने कानुनलाई सच्याउने हो।

सायद यहि प्रश्न उठेका कारणले सिए गर्नेहरुले नियमित विश्वविध्यालयका अन्य डिग्री लिनु परेको हो ?

चार्टर्ड एकाउन्टेन्सी कोर्ष अलि गाह्राे नै हो। पढ्दा पढ्दै भोलि ड्रपआउट हुनु पर्यो भने के त ? त्यो बैकल्पिक डिग्री पनि भयो। अर्को यो कोर्षलाई हाम्रो कानुनले राम्रो सँग चिन्न सकेको छैन। अर्को तर्फ सरकारी जागिरमा चार्टर्ड एकाउन्टेन्ट माग्दा व्याचलर डिग्री पनि भएको भनेर जोडिन्छ। यही कारण पनि अन्य डिग्री पढ्ने गरेको हो जस्तो लाग्छ।

चार्टर्ट एकाउन्टेन्ट ऐन नै आइ सकेको अवस्थामा आइक्यानले यसमा लबिङ् गर्न नसकेको जस्तो लग्दैन तपाईलाई ?

विश्वविध्यालय सम्बन्धि जुन ऐनहरु छन्, त्यसमा कसलाई इकोभ्यालेन्ट दिने भन्ने लिष्टमा संशाेधन गर्नुपर्यो। हाम्रो विश्वविध्यालयहरु नै विश्वविध्यालय हुन् कि राजनैतिक अखडा हुन् भन्ने शंका हुन्छ। देशमा यति धेरै विश्वविध्यालय छन्। तर कक्षा १२ देखि पछि धेरै बिद्यार्थीहरुले नेपालको विश्वविध्यालयहरुलाई खासै बिश्वास गरेको जस्तो देखिंदैन।  त्यस कारण सम्बाधित ऐनहरु करेक्सन हुनु पर्ने थियो। त्यो हुन नसकेको जस्तो लाग्छ।

१२ कक्षा पछि विद्यार्थीहरुले नेपालका विश्वविध्यालयलाई त्यति धेरै बिश्वास गर्न नसकेको भन्नुभयो। खासमा अहिले १२ पछि बिदेश जाने होड नै छ। किन उनीहरुले नेपाल छोडिराखेका होलान् ?

सबैभन्दा पहिले चाँहि सुशासनको खोजिमा हिँडेको हुन् जस्तो लाग्छ। अर्कोचाँहि लर्न एण्ड अर्नको लागि गएका हुन् जस्तो लाग्छ। यी दुई कुराले बढी विद्यार्थीलाई तानेको जस्तो लाग्छ। अर्को भनेको नेपालका विश्वविध्यालयको टाइम सेड्युल नै हुँदैन। कहिले परिक्षा हुने कहिले नतिजा आउने यसले पनि विद्यार्थीहरुलाई निराश पारेको छ। सबैभन्दा धेरै चाँहि परिवार, समाज, सरकार र विश्वविध्यालय कसैले पनि मुलुकभित्रै केही हुन्छ भनेर आशा देखाउन नसक्नुको कारण पनि उनीहरु बाहिरिरहेका छन्। हाम्रो मुलुकमा धेरै चुनौती छन्। चुनौति छन् भन्नुको अर्थ यहाँ अवसर छ। तर ती अवसर हामीले देखाउन सकेनौं।

तर यहाँ विश्वविध्यालयमा पढेकाहरुले आफ्नो मान्छे नभएको कारणले आफूले काम नपाएको भन्ने गुनासो सुनिन्छ । के नेपालमा काम पाउनको लागि सोर्स फोर्स नै चाहिने हो ?

जुन संस्थाहरू व्यवसायिक रुपमा चलेका छन्। आर्थिक रूपले सेल्फ सर्भिस गरेर सर्भाइभ हुनुपर्ने खालका छन्। ती अर्गनाइजेसनमा आफ्ना मान्छेहरु हेर्ने भन्दा पनि कामको लागि पर्फेक्ट मानिस खाेजिन्छ । त्यहाँ दक्षताको बढी सम्मान हुन्छ। त्यसो गरिएन भने अर्गनाइजेसन धेरै लामो समय चल्न पनि सक्दैन। तर सरकारी सार्वजनिक संस्थानमा त्यस्ताे अवस्था छैन ।

शिक्षामा पनि सामुदायिक र निजीले दिने शिक्षामा फरक छ ?

पढ्ने आधारभूत थिमचाँहि जहाँ पनि एउटै हो। तर हामीले पाउने साथी सर्कलको हिसावले चाँहि अलि फरक पर्छ। तर आम सर्वसाधारणलाई एउटै डालोमा राखेर भन्नु पर्दा निजी क्षेत्रले दिने शिक्षा उनीहरुको पहुँच भन्दा अलि परको हुन थाल्यो कि जस्तो लाग्छ। त्यसले समाजमा एक किसिमको असन्तुलन र त्यसले निम्त्याएको बिचलन छ कि जस्तो लाग्छ। किनकि शिक्षा भनेको त समान अवसर हुनुपर्ने होइन र ? जतिबेला हामीले शिक्षा र स्वाथ्यलाई निजीकरण गर्याै त्यतिबेलै सोच्नुपर्ने थियो कि त्यसको इम्प्याक्ट कस्तो आउँछ भनेर।

विद्यालय हुन् या विश्वविद्यालय त्यसमा राजनैतिक दलहरुको प्रभाव बढी भयो भन्ने तपाईंलाई लाग्छ कि लाग्दैन ?

शिक्षामा मात्रै होइन हरेक क्षेत्रमा जुन युनियन वा संगठन छन् ती स्वस्थ तरिकाले बढ्नु पर्ने आवश्यकता चाँहि हो। संघ संगठनले समाजलाई सिभिलाइज्ड गर्ने भन्दा पनि डिभाइड गर्ने काम गरिरहेका छन् जस्तो लाग्छ। मलाई पनि राजनीति चाहिने भन्दा अलि बढी नै हावी भएको जस्तो लाग्छ।

प्राइम सिए अरु सिए इन्टिच्युट भन्दा किन फरक ? लगायतका थप प्रश्नहरुको उत्तरको लागि तलको भिडियो हेर्नुहोस्

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।