लगानी सम्मेलन पूर्व नै राष्ट्र बैंकले सर्कुलरमार्फत बजार सुधारका लागि कदम चाल्नु पर्छ: लगानीकर्ता रमेश ढुंगानासँग शेयर गफ

Apr 20, 2024 11:13 AM Merolagani

शेयर बजार निरन्तर ओरालो लागेको छ । निरन्तर रुपमा झरेको सूचकले लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ ।

सरकारले लगानी सम्मेलन गर्दैछ । यो समयमा नेपालमा लगानी भित्र्याउनको लागि राज्यले अफठेरा नीतिहरुलाई परिमार्जन गरेर सहजीकरण गर्नुपर्ने हुन्छ । यसो गर्दैगर्दा पूँजी बजारसँग सम्बन्धित अप्ठ्यारा नीतिहरु पनि परिमार्जन गर्नुपर्ने लगानीकर्ता रमेश ढुंगाना जोड दिन्छन् । ढुंगानासँग सुधा देवकोटाले गरेको शेयर गफ ।

बजार किन घटिरहेको छ ?

शेयर लागानीकर्तामा आएको निराशाको कारण बजार घटिरहेको छ । यसको लागि सम्बन्धित नियामक निकायबाट लगानीकर्ताको आत्मविश्वास बढाउने, पूँजी बजारमा लगानी आकर्षित गर्ने सम्बन्धमा कुनै रणनीति अपनाईएको छैन । अर्थमन्त्रीले मन्त्री नियुक्त हुँदा बजार प्रति सकारात्मक प्रतिकृया जनाउनु भएको थियो यद्यपि त्यसलाई व्यवहारमा ल्याउनका लागि विलम्व भएको छ । सरकारको तर्फबाट अझै पनि कुरा गर्ने काम नहुने भयो भन्ने लगानीकर्तालाई लागेको छ त्यसैले बजारप्रति लगानीकर्ताहरुको विश्वास खस्केको छ ।

पछिल्लो समय लगानीकर्ताको अपेक्षा विपरित बजार चलेको छ । धेरै लगानीकर्तालाई नयाँ वर्ष सुरु भएपछि बजारले गति समाउने अपेक्षा थियो । तर बजार विपरित गतिमा चल्याे । तर लगानी सम्मेलन नजिकिंदै छ । यो समयमा बजारले गति लिने सक्ने आशा गर्न सकिन्छ । सरकारको तर्फबाट लगानी सम्बन्धी सकारात्मक कदम चालिने आशा छ ।

तपाईले लगानी सम्मेलन ताका बजार बढ्ने आशा गर्नुभयो । तर बजार भने २०८१ सुरु भएपछि झनै दोहाेराे अंकले घटेको छ । यसरी बजार बढ्दै छ भनेर कसरी भन्न सकिन्छ ?

पूँजीबजारले गति लिन नसकेको कुरालाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ । लगानीकर्तादेखि आम नागरिकमा देखिएको निराशालाई चिर्नुपर्नेछ । दक्षिण एशियामा नै नेपाल लगानी गर्न उपयुत्तक्त देश हो भन्ने सन्देश दिने गरी काम गर्नुपर्नेछ । नेपालमा लगानी गर्न इच्छुकहरुले सहजै लगानी भित्र्याउन सक्ने वातावरण निमार्ण गर्नुपर्नेछ । यसका लागि राज्यले नीतिगत रुपमा केही सुधार गर्नुपर्नेछ । यसलाई लगानी सम्मेलन हुन पूर्व नै गर्न जरुरी छ ।

 

नेपाली गैरआवासीय नागरिकहरुको पैसा बजारमा ल्याउन सहज वातावरण कायम गराउनु पर्ने हुन्छ। यसरी अन्य व्यापार, व्यवसाय र पूँजी बजारमा भित्र्याउन सक्यो भने अर्थतन्त्र सुधार गर्न सक्ने ठूलो अवसर राज्यसँग रहेको छ । यसका लागि नीतिगत रुपमा रहेका अप्ठेराहरुलाई कानुनी रुपमा सुधार गर्नुपर्छ । शेयर बजारमा अप्ठेरो पारेका नीतिगत विषयहरुलाई सराेकारवाला निकायसँगकाे समन्वयमा सहजीकरण गर्नुपर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले लिएका केही नीतिका कारण बजारमा समस्या सृजना भएको छ । राष्ट्र बैंकले लगानी सम्मेलन पूर्व नै ती नीतिहरुमा लचकता अपनाउनुपर्ने देखिन्छ ।

बजार बढ्ने आधारहरु बनेका छन । बैंकको ब्याजदर घटेको छ । बैंकिङ प्रणालीमा तरलता प्रशस्तै छ । बुल एण्ड वियर चक्र अन्तिम अवस्थामा आएको छ । बजार बढ्को लागि बलियो आधार खोजेको समयमा सरकारले नीतिगत कठिनाई फुकुवा गरेर सहजीकरण गर्नुपर्छ। अहिले लगानी गर्ने अत्यन्त उपयुक्त समय हो ।

यो  लगानीकर्ताले सोचविचार गरेर लगानी गर्नको लागि उपयुक्त समय हो । कहिलेकांही देशकाे परिस्थितिले कसैले भनेको आधार विगतको इतिहाससँग मिल्दोजुल्दो भएर अगाडि बढ्दैन । त्यस्तै अवस्थामा अहिलेको शेयर बजार अल्मलिएको छ । यसलाई सुधार गर्नको लागि लगानीकर्ताले पनि उचित भुमिका खेल्नुपर्छ । राज्यले पूँजी बजारका सरोकारवालाबाट आएको सुझावहरु सम्बोधन गर्न अपरिहार्य छ । यसाे भए पूँजी बजारको सुधार हुनका साथै मुलुकको अर्थतन्त्र चलायमान हुनेछ । शेयर बजार बढ्ना साथै राजश्व बढ्छ । नागारिकको खर्च गर्ने क्षमतामा वृद्धि हुन्छ । व्यापार, व्यवसायमा पुनरुत्थान हुनेछ ।

लगानी सम्मेलनको पूर्व सन्ध्यामा कानुन संसोधन गर्दा राष्ट्रिय र अन्तराष्ट्रिय लगानीको लागि आकषर्ण गर्न सकिएला ? के यसरी लगानी भित्र्याउन सम्भव होला ?

विकसित राष्ट्रमा वैज्ञानिक संयन्त्रद्वारा कदम चालिन्छ । तर हाम्रो देशको विकासको चरणहरु परम्परागत रुपमा नै अगाडी बढेको छ । लगानी सम्मेलनलाई लिएर सरोकारवाला निकाय र कुटनीतिकस्तरमा छलफल भइराखेका छन् । नेपालमा लगानी भित्र्याउनकाे लागि कानुनी सुधार गर्दै, त्यो नभए विधेयक ल्याएरै भए पनि सहजीकरण गर्ने कुरा आएको छ । यस्तो कुराले सकारात्मकता ल्याउने विश्वास गर्न सकिन्छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भएपनि सरकारले लगानीको वातावरण बनाउँदै छ भन्ने सन्देश जानेछ ।

लगानी सम्मेलन विगतमा पनि भएका छन् । लगानी आएन भने यस्ता सम्मेलन गर्दैमा केही हुनेवाला छैन । लगानी सम्मेलन औपचारिकता मात्रै नभएर परिणाममुखी हुनुपर्नेछ । बलियो वातावरण बनाउने हो भने नेपाललाई लगानी हब बनाउन सकिने छ । नेपालमा धेरै सम्भावनाहरु रहेका छन् । त्यसमा पनि हाईड्रोपावरको क्षेत्रमा अझ बढी लगानीकाे सम्भावना देखिएको छ ।

तपाईले बजार बढ्ने आशावादी कुरा गर्दैगर्दा बजारमा दोहोरो अंकको गिरावट झेल्नु परेको छ। तपाईले देखेका सम्भावना अन्य लगानीकर्ताले पनि देखेका होलान । तर सूचकले विपरित प्रतिकृया जनाइराखेको छ । किन होला ?

नयाँ वर्षको सुरुवातसँगै बजारले सकारात्मक गति समाउने आम लगानीकर्ताको अपेक्षा रहेको थियो। लगानीकर्ताको अपेक्षाभन्दा विपरित बजार घटेको छ । लगानीकर्ताको विश्वास कमजोर भएको अवस्था र सरकारले कानुन कार्यान्वयन गर्न चालेका कदमहरुले बजारमा प्रभाव पारेको हो । बजारका लागि सकारात्मक हुने कानुनी व्यवस्थाहरु कार्यान्वयन गर्ने क्रममा गलत समय पर्न जाँदा त्यसको प्रभाव बजारमा परेको छ । पूँजीबजारमा  भित्री कारोबार, खराब तरिकाले जालसाजी गरिएका मुद्दाहरु प्रहरीले हेर्ने कुराले बजारमा प्रभाव परेको हो ।

यो बजारको लागि राम्रो हो । तर कार्यान्वयन गर्ने समय गलत पर्न जाँदा त्यसको प्रभाव नकारात्मक रुपमा परेको छ । अरु क्षेत्रमा गरिएको लगानी भन्दा पूँजी बजारको लगानी धेरै पारदर्शी छ । सबै कारोबार बैंकिङ प्रणालीबाट नै आउने हो । पूँजी बजारसँग सम्बन्धित निकयहरु नै भित्रि कारोबारको रहस्य पत्ता लगाएर कारावाही गर्न सक्ने क्षमतामा छन् । यस्तो हुँदाहुँदै प्रहरीमा जिम्मा लगाइयाे भनेर लगानीकर्ता त्रसित भएको हुनसक्छ ।

बजार निरन्तर घटेको छ । बलिया कम्पनी चलेका छैनन । बढ्ला भनेर आशा गरेका लगानीकर्ता निरास छन । यसरी लगानीकर्ताको मनोभावना बिथोलिएको समयमा तपाईंले लगानी गर्न कसरी प्रेरित गर्नुहुन्छ ?

हामीले स्थिर सम्पत्तिमा लगानी गर्नुपर्यो भने सानो लगानीलाई पनि सोचविचार गरेर लगानी गर्ने गरिन्छ । तर शेयर बजारमा त्यसो हुँदैन । शेयर बजार लगानीकर्ताले आफूले अध्ययन गरेर भन्दा पनि हल्लाको भरमा लगानी गर्ने परिपाटी बनेको छ । हचुवाको भरमा लगानी गर्दा पछि पछुताउनु पर्ने अवस्था सिर्जना भएको छ । विभिन्न सामाजिक सञ्जाल समूहहरुले के भनेको छ त्यसको आधारमा रणनीतिहरु बन्ने गरेका छन् । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएकाे छ ।

सधैं एउटै समूहले मात्र नेतृत्व गर्दैन । कम्पनीको अवस्था, वितरण गर्न सक्ने प्रतिफल, वित्तीय स्थिति र व्यापार व्यवसायको अवस्था हेरेर लगानी गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लगानी विविधिकरण गरेर लगानी गर्ने हो भने एक समूहमा घट्दा अर्को समूहबाट नाफा लिन सकिन्छ । लगानीकर्ताले यस्ता कुरालाई ध्यान दिएर लगानी गर्नुपर्ने हुन्छ । यस्तो हुँदा लगानी सन्तुलनमा आउने छ ।

त्यसैगरी, बढ्नको लागि बजारमा ठूलै पैसा भित्रन जरुरी छ । सरकारले त्यसको लागि संस्थागत लगानीकर्तालाई आकर्षण गरेर हुन्छ वा गैरआवासीयलाई बजारमा लगानी गर्न सक्ने वातावरण बनाउनुपर्छ । त्यसाे भयो भने बजारमा धेरै सम्भावनाहरु रहेका छन् । अहिले नेपाल राष्ट्र बैंकको नितिको कारण बजार दवावमा छ । त्यसलाई विस्तारै परिमार्जन गरिदैँछ । अब अझै परिमार्जन हुने अपेक्षा छ । शेयर धितो कर्जामा सिमा लगाईएको छ । यो कुनै देशमा नगरिएको कुरा हो । यहाँ कर्जा लिने क्षमता भएका लगानीकर्ताले समेत कर्जा लिन सकिरहेका छैनन । उक्त शेयर कर्जामा सीमा लगाउँदा लगानीकर्ताको स्वतन्त्रतामा हस्तक्षेप भएको छ । यसलाई अविलम्व सुधार गर्नुपर्नेछ । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।