पहिला स्वदेशी लगानीकर्ता खुशी पाराैँ, बिदेशी तंछाड मछाड गर्दै आउँछन् : तिलक काेइरालाकाे विचार

Apr 25, 2024 06:08 AM Merolagani

सरकारले यही बैशाख १६ र १७ गते राजधानी काठमाडौमा लगानी सम्मेलन गरी नेपालमा विदेशी लगानी ओईर्याउने रणनीति अख्तियार गरेको छ । लगानी सम्मेलनमा विदेशीहरुको आकर्षण बढाउन सरकारले अध्यादेशमार्फत केही ऐनहरु संशोधन गरी जबरजस्ती लगानीको वातावरण बनाउने प्रयास गरेको छ ।

सरकारले एक हजार चार सय विदेशी लगानीकर्ताहरुलाई आमन्त्रण गरेकोमा छ सय भन्दा बढीले सम्मेलनमा सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन् । लगानी सम्मेलन देश विकासकै लागि हो र यस क्रममा भाग लिन आउने हरेक विदेशी पाहुनाको स्वागत सत्कार गरेर लगानीका लागि उत्साहित गर्नु प्रत्येक नेपाली नागरिकको कर्तब्य पनि हो । सबैभन्दा पहिले नेपालमा लगानीको वातावरण कस्तो छ भन्ने बारेमा चर्चा गरौंः

 

१. स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका लागि लगानीको वातावरण बनाउन यहाँको सबैभन्दा ठूलो बाधक अस्थिर राजनीतिक वातावरण हो । कुनै पनि दलको बहुमत नभएको संसद,तीन,तीन महिनामा परिवर्तन हुने सरकारको अस्थिरताले कुनै पनि विदेशी लगानीकर्तालाई आकर्षित गर्दैन । सरकार फेरिने बित्तिकै नीति फेरिने,कर्मचारी फेरिने र फाईलै गायब हुने परम्परा जीवित छ र यस्तो असहज अवस्थामा कुनै पनि विदेशी लगानीकर्ताले जोखिम मोल्छ कि मोल्दैन ?

२. लगानीको वातावरण बनाउन दोस्रो बाधक तत्व नेपालको कर्मचारी प्रशासन हो । नेपालको अस्थिर राजनीतिको मतलव नगरेर लगानी गर्न आउँछु भनेर कोही भन्छ भने यहाँका भ्रष्ट कर्मचारी प्रशासन हेर्ने बित्तिकै तर्सिन्छ । कम्पनी खडा गर्नेदेखि लगानी ल्याउने चरणसम्म गौँडा गौँडामा कर्मचारीलाई घुस नबुझाई फाईल वल्लो टेवलबाट पल्लो टेबलमा नसर्ने प्रबृत्ति देखेपछि कोही पनि सही विदेशी लगानीकर्ता यहाँ लगानी गर्न आउँछ कि आउँदैन ?

३. अहिले पनि दर्जनौं ऐन कानूनहरु लगानीका लागि बाधक छन् र अध्यादेशमार्फत संशोधन भएका केही ऐनहरु पनि संसदबाट पारित हुनेमा शंका नै छ । संशोधित ऐनमा स्वार्थ समूहका कयौं अनुकुल प्रावधानहरु राखिएका छन्, जसले वास्तविक विदेशी लगानीकर्तालाई आकर्षित गर्ने भन्दा स्वार्थ समूहकै हित गर्छ ।

४. स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका लागि अर्को ठूलो बाधक भूत प्रभावी कर नीति हो । चालु आर्थिक बर्षको बजेटमार्फत ब्यवस्था गरिएको भूत प्रभावी कर नीतिले कस्तो संदेश दिएको छ भनी सरकारी तवरबाट समीक्षा भएको पाइँदैन र अझै त्यसलाई उग्र बनाईदै छ । पूँजीमा समेत कर लगाउने सरकारी नीति कायम रहेसम्म लगानी आकर्शित हुन सक्दैन ।

५. विदेशी लगानीकर्ताले कुनै देशमा लगानी गर्नु अघि त्यो देशको राजनीतिक,आर्थिक,कानूनी अवस्थाका साथै लगानी र फाईदाका अवस्थाहरुको गहन बिश्लेषण गर्ने गर्छन । खास गरी त्यो देशको पूँजी बजार,त्यस सम्बन्धी नीति,नियम, प्रविधि,पुर्वाधार र नियमनको अवस्थालाई उनीहरुले गहन रुपमा विश्लेषण गर्ने गर्छन । अनुदार र पछौटे नीति नियमले गाँजिएको, सही नियमन नभएको हाम्रो जस्तो पूँजी बजार रहेको देशमा विदेशी लगानीकर्ताहरु लगानी गर्न आकर्षित हुँदैनन् । जहाँ स्वदेशी लगानीकर्ताहरुकै रुवाबासी र भागाभाग छ भने विदेशीहरुले किन जोखिम लिन्छन् ? विदेशी लगानीकर्ताहरु कसरी लगानी गर्ने, कसरी कमाउने र कसरी आफ्नो लगाानी विनिबेश गरेर जाने भन्ने रणनीतिका साथ आएका हुन्छन्, तर यहाँ न त आउन सजिलो छ, न त लगानी गरेर कमाउन र जान नै सजिलो छ ।

६. नेपालमा लगानी गर्न आउनु अघि स्टान्डर्ड चार्टर्ड बैंक,एनसेल,कोटिभिटी,डांगोटे सिमेन्ट जस्ता मामिलाहरु अध्ययन उनीहरुले अबश्य गर्लान र उनीहरुको सल्लाह समेत लेलान् ? नेपालमा लगानी मामिलामा अनुभवीहरुबाट नयाँ निबेश गर्न खोज्ने विदेशीहरुले के शिक्षा लेलान् ? डलर अर्बपति विनोद चौधरीलाई नै पनि धेरैले सोध्लान् ? त्यो बेला चौधरीको जवाफ के होला ? भूत प्रभावी कर नीतिको मारमा परेर सरकारलाई अर्बौ कर बुझाएका धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुका प्रमुख कार्यकारी र संचालकहरुले विदेशी लगानीकर्ताहरुलाई के सल्लाह देलान् ?

७. नेपालमा लगानीको वातावरण नभएपछि पछिल्ला बर्षहरुमा ठूलो पूँजी पलायन भईरहेको छ । मानिसहरु यहाँबाट पैसा हुण्डी र अन्य अबैध माध्यमबाट बाहिर लगिरहेका छन् । सानादेखि ठूला उद्यमी,ब्यवसायी र सर्बसाधारण समेत आफ्नो उद्यम ब्यवसाय अरुलाई बिक्री गर्न मौका हेरेर बसेका छन् र विदेश पलायन हुन आँतुर छन् भने चुनौतिको चाङका बीचमा कुन चाँहि विदेशीले लगानी भित्र्याउने हिम्मत गर्ला ? पछिल्लो समयमा नेपालमा ठूलो मात्रामा उद्योग ब्यवसायमा संलग्न मारवाडी समुदाय त्रस्त छ र सरकारले भरोसा नदिए पलायन हुने खतरा बढेको छ ।

८. युवाको तीब्र पलायनले हाम्रो नेपालमा काम गर्ने जनशक्तिको अभाव हुँदै गएको छ । बल्ल बल्ल काम गर्ने जनशक्ति पाए पनि चर्को पारिश्रमिक नदिए कसैले काम गर्दैन । महंगो र अदक्ष जनशक्ति लगाएर काम गराउँदा उत्पादन लागत बढी पर्ने अवस्थामा कुन चाँही विदेशी यहाँ उत्पादन सम्बन्धी उद्योग स्थापना गर्न आउँछ ?

९. विदेशी लगानीकर्ताले उद्योग स्थापनासँगै बजार पनि हेर्छन । यहाँ उत्पादन गरिएको बस्तु निर्यात गर्नुपर्ने र ढुवानीको लागत महंगो पर्ने अवस्थामा त्यसलाई पनि विचार गर्लान् । तर पछिल्ला दिनहरुमा आईटी,विद्युत र सिमेन्ट लगायतका कुराहरु निर्यात बढ्न थालेकोले सकारात्मक अवस्था पनि छ ।

१०. नेपालमा कृषि,पर्यटन, खानी र पानी सम्बन्धी उद्योगहरुको संभावना ब्यापक छ । सरकारले सही नीति र लगानी सुरक्षाको प्रत्याभुति दिए त्यस सम्बन्धी उद्योगहरुमा लगानी गर्न विदेशी लगानीकर्ताहरु आउन सक्छन् ।

११.सरकारको बार्षिक बजेट साधारण खर्चको भारले थिचिएर राजश्वको आयले धान्न नसकी करमाथि कर बढाउने प्रतिस्पर्धा छ । यहाँ लगानी गर्न आउनेलाई तीन,चार तहका सरकारहरुले लगाउने दृश्य, अदृश्य थरि थरिका चर्को करले थिलथिलो पार्दै लगेको छ । जबसम्म चर्को कर लगाएर यहाँ भएका स्वदेशी लगानीकर्तालाई नै थिलथिलो बनाईन्छ र भाग्न बाध्य पारिन्छ भने विदेशी लगानीकर्ता कसरी आकर्षित होलान् ?

१२. नेपालमा लगानी गर्नु,उद्यम स्थापना गर्नु र कमाउनु अपराध हो भन्ने भाष्य जबसम्म कायम राखिन्छ,नेपालमा लगानी आकर्षित हुने संभावना न्युन रहन्छ । उद्यम गर्नेहरु चोर, सामन्त, दलाल र फटाहा हुन् भन्ने सोच राजनीतिक नेता र कर्मचारीतन्त्रमा रहेसम्म स्वदेशी लगानीकर्ताको पलायन र विदेशीको अनिच्छा कायम रहन्छ ।

१३. नेपालमा लगानीको वातावरण बनायौं भने लगानी गर्न आऊ भनेर आब्हान गर्नै पर्दैन, करोडौ खर्च गरेर लगानी सम्मेलन गर्ने पर्दैन, एनआरएन र विदेशी लगानीकर्ताहरु तछाड, मछाड गर्दै आउँछन् । पूँजी र लगानी भनेको पानी जस्तै हो, जहाँ ओरालो छ, उतै बग्छ । विदेशीलाई बोलाउनु अघि स्वदेशी लगानीकर्ताहरुलाई उत्साहित पारौं,लगानी पलायन हुन रोकेर आकर्षित गरौं र लगानी सुरक्षाको भरोसा दिलाऔं,विदेशीहरु आफै आउँछन् । जहाँको पूँजी बजारमा सरकारले नै बर्षै अगाडि गर्छु भनेका कामहरु गरिदेऊ न भन्दा उल्टै लगानीकर्तालाई थुनिन्छ,दमन गरिन्छ,मुद्दा लगाईन्छ, लगानीकर्ताले अनशन र आन्दोलन गर्नुपर्छ भने त्यहाँ कसरी लगानीको वातावण छ भन्ने ? स्वदेशी लगानीकर्ताहरु धुरु धुरु रोएको ठाउँमा हाम्रो लगानी सुरक्षित छ भनेर कुन चाँही सही विदेशी लगानीकर्ता पैैसा खन्याउन आउँछ ? के स्वदेशी लगानीकर्तासँगै डुब्न विदेशी लगानीकर्ता आउने हो र ? यद्यपी माथि उल्लेख गरिएका प्रतिकुलताहरुको बाबजुद पनि धेरै विदेशीहरुले नेपालमा लगानी गर्ने निर्णय गरुन्, आसन्न लगानी सम्मेलन सफलताको शुभकामना ।।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।