नेपाली तयारी चियाकाे निर्यात आजदेखि खुला

Apr 24, 2024 07:16 PM Merolagani

नेपाली तयारी चियाकाे निर्यात आजदेखि खुला भएको छ। भारतीय भन्सारले वैशाख ७ गतेदेखि रोकेको चियाको निर्यात खाेलिएकाे हाे ।

पाँच दिन अघि काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएकाे थियाे । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीलेका अनुसार ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलबार बेलुकी सकुशल छुटेको छ । ‘रोकिएका सबै ट्रक आज छाडिए । अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन,' उनले बताए। पानीट्याङ्कीस्थित भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशन अनुसार रोकिएको बताउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको पनि उनले जानकारी दिए।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका ती ट्रक रोकेर भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको बताएको थियो । तर नेपाली पक्षले भने गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यवहारिक भएकाे बताउँदै पुरानै प्रावधान अनुरुप चियाको निर्यात गर्न दिने माग गर्दै आएको थियो । उनीहरूले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियम अनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेका थिए । फलस्वरूपः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भएकाे हाे ।

चियाको एउटा नमूनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो व्यवस्था थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई बुधबार छाेडेकाे हो ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।