तीन बीमा कम्पनीको मात्रै लाभांश घोषणा हुन बाँकी, कसले कति घोषणा गरे लाभांश सूचीसहित

May 04, 2024 05:31 PM MeroLagani

नियामकको निर्देशनपछि पुँजी वृद्धि गर्नैपर्ने बाध्यतामा रहेका बीमा कम्पनीहरुले तोकेको पुँजी पुर्याउन भरमग्दुर प्रयास थालेका छन् । गत वर्ष लाभांश नदिएको सूर्य ज्योति लाइफले यस वर्ष ३५ प्रतिशतको लाभांश घोषणा गरेको छ । 

सूर्य ज्योतिकै पदचाप पछ्याउँदै आईएमई लाइफले पनि साढे ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी सन नेपाल लाइफले २५ दशमलब शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन निर्देशन दिएको छ । नियामकले तोकेको चुक्ता पुँजी पुर्याउन धेरै कम्पनीहरुले एक आपसमा मर्जर गरेर चुक्ता पुँजी बढाए भने कतिले आफूसँग भएको अन्य कम्पनीको शेयर बेचे । कतिपय नयाँ कम्पनीले भने प्रिमियममा आइपीओ निष्काशन गरेर सोही प्रिमियम रकमलाई नै पुँजीकृत गरे ।

पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीहरुले भने बीमा प्राधिकरणले तोकेको हदसम्म मात्रै बोनस शेयर दिएर पुँजी बढाए भने बाँकी दिनसक्ने जति नगद लाभांश नै दिएका छन् । सूर्यज्योतिले ३५ प्रतिशत लाभांश घोषणा गरे पनि १०.२६ प्रतिशत मात्रै बोनस शेयर दिने घोषणा गरेकाे छ । यो बोनस शेयर पुँजीकृत भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ । कम्पनीले २४.७४ प्रतिशत भने नगद लाभांश नै घोषणा गरेकाे छ । त्यसैगरी बम्पर लाभांश घोषणा गरेको आईएमई लाइफले पनि साढे ३४ प्रतिशत लाभांश घोषणा गरे पनि नियामकले तोकेको पुँजी पुर्याउन नपुग १ अर्ब रुपैयाँ पुर्याउन मात्रै २५ प्रतिशत बोनस शेयर घोषणा गरेकाे छ भने बाँकी ९.५ प्रतिशत भने नगद लाभांश नै घोषणा गरेकाे छ ।

सन नेपाल, रिलायवल नेपाल, सिटिजन लाइफ र एसियन लाइफले भने गत वर्षको नाफाले दिन सक्ने जतिको मात्रै बोनस शेयर घोषणा गरेका छन् । संसदको लेखा समितिले प्रिमियममा आइपीओ निष्काशन गरेको कम्पनीको प्रिमियम रकमलाई एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको एवम् कुनै कम्पनीले चालु आवमा मात्रै प्रिमियममा आइपीओ निष्काशन गरेकाले प्रिमियम रकम उपयोग गर्न सकेनन् । बीमा प्राधिकरणको सहमतिमा आईएमई लाइफले मात्रै अहिलेसम्म प्रिमियमको रकम उपयोग गरेर बोनस घोषणा गरेकाे हाे ।

आईएमई लाइफ इन्स्योरेन्सले ३४.५ प्रतिशत लाभांश घोषणा गरेसँगै जीवन बीमा कम्पनीमा लाभांश घोषणा गर्न बाँकी कम्पनी २ वटा मात्रै बाँकी रहेका छन्। अहिलेसम्म ६ वटा जीवन बीमा र ७ वटा निर्जीवन बीमा गरी १३ वटा बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । पुँजी बजारमा जीवन बीमातर्फ १२ वटा र निर्जीवन बीमातर्फ १२ वटा गरी २४ वटा बीमा कम्पनी छन् ।

जीवन बीमा कम्पनीतर्फ आईएमई, सूर्यज्योति, सिटिजन, रिलायबल, एशियन र सन नेपाल लाइफ इन्स्योरेन्स गरी ६ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), हिमालयन लाइफ र सानिमा रिलायन्स लाइफ गरी चार वटाले लाभांश नदिने भएका छन । अझै जीवन बीमातर्फ नेसनल लाइफ र प्रभु महालक्ष्मी लाइफ गरी २ वटा बीमा कम्पनीले लाभांश घोषणा गर्न बाँकी छ ।

यस्तै, निर्जीवन बीमा कम्पनीतर्फ नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स गरी ७ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेको इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा जीआईसी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स गरी चार वटा निर्जीवन बीमा कम्पनीले आव २०७९/८० को नाफाबाट लगानीकर्तालाई कुनै लाभांश नदिने घोषणा गरिसकेका छन्। निर्जीवन बीमातर्फ राष्ट्रिय बीमा कम्पनीको मात्रै लाभांश घोषणा हुन बाँकी छ ।

बिमा कम्पनीहरुको एक्च्युरी भ्यालुएटर पर्याप्त मात्रामा नहुँदा विदेशमा जानुपर्ने बाध्यताका कारण हरेक वर्ष समयमा साधारण सभा हुन सकेको छैन ।

कम्पनी ऐन अनुसार आर्थिक वर्ष सकिएको ६ महिनाभित्र अर्थात पुस मसान्तसम्म साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि तोकिएको समयमा औंलामा गन्न सकिने कम्पनीले मात्रै साधारण सभा गरेका छन्। चालु वर्ष पुस मसान्तसम्ममा नेपाल इन्स्योरेन्सले मात्रै साधारण सभा सम्पन्न गरेको छ। चौथो त्रैमास अर्थात चैत महिना सकिन लागिसक्दा पनि अझै केही बीमा कम्पनीको साधारण सभा सम्पन्न हुन बाँकी छ ।

जीवन बीमा कम्पनी
आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमध्ये २५ प्रतिशत बोनस शेयर रहेको छ भने ९.५० प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश रहेको छ। बैशाख १९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

त्यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत वर्षको नाफाबाट लगानीकर्तालाई १० दशमलब २६ प्रतिशत बोनस शेयर र २४ दशमलब ७४ प्रतिशत नगद लाभांश गरेर ३५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । सुर्यज्योति लाइफको १०.२६ प्रतिशत बोनस शेयर बाँडेपछि नियामकले तोकेको ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

गत वर्षको नाफाबाट तुलनात्मक रुपमा नयाँ लाइफ इन्स्योरेन्स कम्पनीले छिटो लाभांश घोषणा गरेको देखिएको छ। पुराना जीवन बीमा कम्पनीमध्येबाट एसियन र हिमालयन लाइफ इन्स्यारेन्सले मात्रै साधारण सभा सम्पन्न गरेका छन् । तीन वटा जीवन बीमा कम्पनी एकिकृत भएर बनेको हिमालयन लाइफ इन्स्योरेन्सले यसपटक लगानीकर्ताको हात खाली गरेको छ ।

सन नेपाल लाइफ, रिलायवल नेपाल र सिटिजन्स लाभांश दिएका दुवै जीवन बीमा कम्पनीले चालु आवमा प्रिमियममा आईपीओ निष्काशन गरेका थिए। सार्वजनिक लेखा समितिको निर्देशनपछि बिमा प्राधिकरणले प्रिमियममा आईपीओ निष्काशन गर्ने कम्पनीलाई प्रिमियम रकम खर्च नगरिकन एउटा छुट्टै कोष बनाएर राख्न निर्देशन दिएको थियो। पछिल्लो समय बिमा कम्पनीले घोषणा गरेको लाभांश भनेको अहिलेसम्मको सञ्चित नाफाबाट दिएको हो। प्रिमियम रकमलाई लाइफ इन्स्योरेन्स कम्पनीहरुले चलाएका थिएनन । बीमा प्राधिकरणको निर्देशनपछि आईएमई लाइफले भने आइपीओबाट संकलन भएको प्रिमियम रकमलाई समेत जोडेर लाभांश घोषणा गरेका हुन । बीमा प्राधिकरणले बोनस शेयर जारी गरेर चुक्ता पुँजी वृद्धि गराउने शर्तमा प्रिमियम रकम चलाउन छुट दिएको प्राधिकरणका अध्यक्ष स्ुर्य सिलवालले मेरो लगानीलाई बताएका थिए ।

रिलायबल नेपाल लाइफले हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ जसमा १६ प्रतिशतले हुन आउने ६४ करोड रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ८४ हजार २११ रुपैयाँ नगद लाभांश रहेको छ। कम्पनीले साधारण गरिसकेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँमा सो लाभांश घोषणा गरेको हो। कम्पनीले साधारणसभा गरिसकेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७९/८० को लागि २३.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । प्रिमियममा आइपीओ जारी गरेका लाइफ इन्स्योरेन्स कम्पनीहरुमध्ये अहिलेसम्म दोस्रो सबैभन्दा बढी लाभांश दिने कम्पनीको रुपमा समेत सन नेपाल लाइफ इन्स्योरेन्स रहन पुगेको छ ।

त्यस्तै एसियन लाइफ इन्स्योरेन्सले ७.७५ प्रतिशत बोनस शेयर र ०.४०७८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल ८.१५ प्रतिशत लाभांश घोषणा गरेका छन् । कम्पनीले फागुन १८ नै साधारण सभा गरिसकेको छ । साधारण सभामा विशेष प्रस्ताव स्वरुप बोनस शेयर दिएपछि कायम रहेको चुक्ता पुँजीको ४२ प्रतिशत अर्थात १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन दिएको निर्देशन बमोजिम कम्पनीले बोनस शेयरपछि तत्काल हकप्रद शेयर निष्काशन गर्न लागेको हो । अहिले कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ भने बोनस शेयर पछि ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ पुग्नेछ । ४२ प्रतिशत हकप्रद जारी गर्दा पनि कम्पनीको चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ जुन ५ अर्ब चुक्ता पुँजी पुयाउन १७ करोड रुपैयाँ भन्दा बढी अपुग देखिएको छ । कम्पनीले पछिल्लो समय आक्रामक रुपमा शेयर बजारमा लगानी गर्दै आएको छ । नेपाल पुनर्विमा कम्पनीको संस्थापक शेयर र अप्पर तामाकोशीको लिलामी शेयरको ठूलो हिस्सा एसियन लाइफले नै हात पारेको थियो ।

निर्जीवन बीमा कम्पनी

निर्जीवन बीमातर्फ अहिलेसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमाल एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् ।

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश साधारण सभाले पारित समेत गरिसकेको छ। गत आर्थिक वर्षका लागि हाल कायम चुक्ता पुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.७२ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँ बराबरको नगद लाभांश छ। कम्पनीले चुक्ता पुँजी साढे २ अर्ब रुपैयाँ पुर्याउन पुनः ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेर विशेष साधारण सभा समेत बोलाएको छ ।

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ। कम्पनी गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ६.३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश (करसहित) रहेको छ।

एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरूलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश गरी ५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.८० प्रतिशत लाभांश दिने भएको हो। कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश प्रस्ताव साधारण सभाले पारित गरिसकेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको छ ।

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश सहित ५ प्रतिशत लाभांश दिएको छ । चुक्ता पुँजी बढाउन भने हकप्रद वा अन्य कुनै विकल्प प्रयोग गर्ने प्रस्ताव कम्पनीले साधारण सभामा गरेका छन् ।

comments powered by Disqus

नयाँ ब्रोकर कमिशन आजदेखि लागू हुने

May 14, 2024 09:07 AM

जेठ १ गते (आज) देखि नयाँ ब्रोकर कमिसन दर लागू हुँदैछ। नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को अनुसूची १४ मा गरेको हेरफेर अनुसार आजदेखि नयाँ ब्रोकर कमिशन लागू हुने भएको हो।