विघटनको प्रक्रियाबाट गुज्रिरहेको नेपाल बिकास बैंकलाई किनेर त्यसका लगानीकर्तालाई शेयर वा रकम दिने प्रभु बैंकको योजना सफल भएपछि सो बिकास बैंकका लगानीकर्ताहरुको दिन फर्किएको हो । नेपाल विकास बैंकमा १९ हजार ८ सय ६५ शेयरधनीको ३२ करोड रुपैयाँ फसेको थियो । नेपाल बिकास बैंकका बिक्न बांकी सम्पति आफ्नो नाममा पारेपछि प्रभुले दायित्व भुक्तान गर्न लागेको हो ।
नेपाल बिकास बैंकका साधारण शेयरधनीले नेपाल बिकास बैंकको ६ कित्ता बराबर प्रभु बैंकको एक कित्ता शेयर पाउने भएका छन् । प्रभु बैंकले संस्थापक लगानीकर्तालाई भने प्रति कित्ता ३० रुपैयाँको दरले रकम दिने र रकमको सट्टा शेयर लिन चाहेमा नेपाल बिकास बैंकको ६ कित्ता वापत प्रभु बैंकको एक कित्ता संस्थापक शेयर दिने भएको छ । तर यसका लागि संस्थापक शेयरधनीले फिट एण्ड प्रोपर टेष्टको प्रक्रिया पुरा गर्न ३५ दिन भित्र प्रभु बैंकमा सम्पर्क गर्नुपर्ने छ । फिट एण्ड प्रोपर टेष्ट पुरा गर्न नसक्ने वा सम्पर्कमा नआउने संस्थापक शेयरधनीले प्रति कित्ता ३० रुपैयाँका ले रकम पाउने छन् । यही सिलसिलामा प्रभु बैंकले नेपाल बिकास बैंकका लगानीकर्तालाई रकम वा शेयर मध्ये कुन लिने हो छनौट गरी प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ । फिट र एण्ड प्रोपर टेष्ट भन्नाले एउटा बैंक डुबाउने संस्थापक शेयरधनीहरु अर्को बैंकको संस्थापक शेयरधनी बन्न योग्य छन् कि छैनन् भनी गरिने परीक्षण हो ।
प्रभु बैंकको हालको प्रति कित्ता शेयर मूल्य तीन सय २८ रुपैयाँ हिसाब गर्ने हो भने नेपाल बिकास बैंकका साधारण शेयरधनीले ६ कित्ता बराबर प्रभुको एक साधारण कित्ता शेयर पाउनु निकै फाईदाजनक भएको छ ।
राष्ट्र बैंकले गत फागुन ६ गते नेपाल बिकास बैंक किन्न अन्तिम सहमति दिएपछि पाटन पुनराबेदन अदालत पाटनले फिट एण्ड प्रोपोर टेष्टको प्रक्रिया पुरा गरेर मात्र नेपाल बिकास बैंकका संस्थापक शेयरधनीलाई प्रभुको शेयर दिने गरी बैंक किनबेचमा स्वीकृति दिएको थियो । यसै बमोजिम यही चैत्र १ गतेदेखि नेपाल बिकास बैंक पूर्ण रुपमा प्रभुको नियन्त्रणमा गएको छ ।
नमीठो अनुभव
लिक्विडेटर नारायण बजाजको समूह पनि बैंक विघटनको झंझट र पट्यारलाग्दो अबस्थाको सामना गरिरहेको थियो । केही महिना अघि प्रभु बैंकले किनेपछि लिक्विडेटरले पनि ठूलो राहत महसुस गरेका छन् ।
२०६६ साल पुसमा पाटन पुनराबेदन अदालतले बैंक खारेज गर्ने राष्ट्र बैंकको निर्णयलाई सदर गरेपछि नारायण बजाजलाई लिक्विडेटर नियुक्त गरी बैंकको खारेजी प्रक्रिया अगाडि बढेको थियो । यद्यपी बजाज भन्दा अघि नियुक्त भएका लिक्विडेटर तीर्थराज उपाध्याय र स्वयं बजाजले बैंकलाई विघटनमा लैजानुभन्दा सुधार गरेर संचालनमा ल्याउनु उचित हुने सुझावसहितको प्रतिबेदन दिएका थिए र लगानीकर्ताहरु लगानी थप्न तयार थिए । अन्ततः २०५२ सालमा स्थापना भएको यस बैंकलाई विघटनमा लैजाने निर्णय गरेर राष्ट्र बैंकले नेपालमा पहिलो बित्तीय संस्था बिघटनको ईतिहास रचेको थियो ।
कुनै पनि बित्तीय संस्थालाई विघटनमा लैजानु र त्यसपछिका काम पुरा गरेर देखाउनु निकै चुनौतिपूर्ण र झण्झटिलो रहेको अनुभव नेपाल विकास बैंकको विघटन प्रक्रियामा सामेल कर्मचारीहरुले पाएका छन् । २०४५ साल देखि चार्टड एकाउन्टेण्ट संघको सदस्य समेत रहेका नारायण वजाजले पहिलो बित्तीय संस्थाको विघटनमा धेरै अनुभव संगालेको मेरोलगानीलाई बताएका थिए बैंक विघटनमा संलग्न एक कर्मचारीले आफुले यस प्रक्रियामा सामेल हुँदा ब्यक्तिगत काम र परिवारसँगको घुलमिलबाट समेत बंचित हुनुपरेको तीतो अनुभव सुनाए । संस्थालाई विग्रिएर विघटनमा लैजाने बेलासम्म कुरेर बस्नु भन्दा बेलैमा राम्रो अनुगमन गरी बिग्रन नदिने प्रयास गर्नुपर्ने गतिलो पाठ नेपाल विकास बैंक प्रकरणले राष्ट्रबैंकलाई समेत सिकाएको छ ।
सबैका निक्षेप फिर्ता
उत्तम पुनलगायतका तत्कालीन संचालकहरुले नेपाल विकास बैंकलाई धराशायी बनाएपछि बैंक ६९ करोड घाटामा गएको थियो । बैंकलाई पुनः संचालन गर्न हकप्रद शेयर निश्काशनको प्रयास पनि गरिएको थियो तर अधिकांश प्रोमोटरहरुले रकम हाल्न नचाहेपछि त्यो पनि त्यसै तुहिएको थियो । बैंक समस्याग्रस्त हुँदाको समयमा संस्थागत तर्फ सेनाको मात्रै झण्डै १८ करोड निक्षेप फिर्ता गर्न बांकी थियो । कर्मचारी संचय कोषले पनि यस बैंकमा राम्रै रकम जम्मा गरेको थियो । लिक्विडेटर बजाजका अनुसार विघटन प्रक्रिया सुरु भएको ५ बर्षको अवधिमा सबै सर्वसाधारणले आफ्नो बचत फिर्ता पाईसकेका थिए ।
प्रभुको सक्षम ब्यवस्थापनले बिग्रिएर खत्तम भएका किष्टसँगै नेपाल बिकास बैंकलाई पनि आफुमा समाहित गरेर नेपालको बित्तीय क्षेत्रमा उदाहरण प्रस्तुत गरेको छ भने निस्क्रिय कर्जाले थलिएको अर्को ग्राण्ड बैंकलाई समेत आफुमा मिलाउँदैछ । यसबाट बिग्रेका र भत्केका बित्तीय संस्थाहरुलाई ब्यवस्थापन गर्ने नेपाल राष्ट्र बैंक र सरकारको बोझ समेत प्रभुले हलुका गरिदिएको मान्न सकिन्छ ।