नेपाल लाईफले ६० प्रतिशत बोनस शेयर जारी गरेपछि चुक्ता पूँजी एक अर्ब ७३ करोड पुग्ने छ । त्यो बेलामा प्रति शेयर आम्दानी ह्वात्तै घट्ने कुरा त छदैछ अहिले जस्तो बोनस शेयर लगानीकर्ताले नपाउँने आशंका पनि छ । स्वभाविक रुपमा शेयर मूल्य पनि कम भएर जाने भएकाले महंगोमा शेयर बेचेर लगानीकर्ताहरु आफ्नो लगानी सुरक्षित गर्न चाहिरहेका छन् । किन्ने भन्दा बेच्नेको संख्या बढी हुँदा बजारमा नेपाल लाइृफको शेयर मूल्य ओरालो लागेको हो । यस पटक लाभांश घोषणा हुँदा चार हजार पाँच सयको हाराहारीमा रहेको नेपाल लाईफको शेयर मूल्य यसै साताको अन्तिम दिन बिहीबार चार हजार ५० रुपैयाँसम्म तल आएको छ । बोनस शेयरका लागि शेयरधनी दर्ता किताब बन्द हुने बेलासम्म यही प्रबृत्ति कायम रहेमा शेयरधनी दर्ता किताव बन्दपछि बोनस समायोजन भएर कारोबार खुल्दा नेपाल लाईफको शेयर मुल्य दुई हजार पाँच सय रुपेयाँ सम्म झर्नसक्ने अनुमान केही लगानीकर्ताहरुले गरेका छन् । त्यसो भयो भने अहिले महंगोमा शेयर बेचेर शेयरधनी दर्ता किताव बन्दपछि सस्तोमा शेयर उठाउने दाऊ पनि कतिपय लगानीकर्ताको हुनसक्छ ।
अर्को तर्फ ३० प्रतिशत बोनससहित ३८ प्रतिशत लाभांश घोषणा गरेको नेशनल लाईफको शेयरको धेरै मूल्य घटेन । सो कम्पनीको साधारणसभाका लागि शुक्रबार शेयरधनी दर्ता किताव बन्दको दिन रहेको भए पनि अन्तिम कारोबारमा प्रति कित्ता मुल्य दुई हजार दुई सय रुपैयाँमा टेकेर बन्द भएको छ । हाल सो कम्पनीको चुक्ता पूँजी ७८ करोडको हाराहारीमा रहेकाले ३० प्रतिशत बोनस जारीपछि पनि अर्को बर्ष आकर्षक बोनस दिनसक्ने आशा लगानीकर्ताले गरेको हुनसक्छ । केही दिनदेखि कारोबार रकममा नेपाल लाईफले अग्रता हासिल गर्नुले धेरै शेयर किनबेच भईरहेको स्पष्ट गरेको छ ।
बीमा समितिले बीमा कम्पनीहरुलाई बीस प्रतिशत भन्दा बढी नगद लाभांश दिन नपाउने भनी बाध्यात्मक ब्यवस्था गरेकाले नेपाल लाईफले अर्को बर्ष पनि राम्रो कमाई गर्ने र बोनस शेयर नै दिनुपर्ने अबस्था आउँने छ । यस्तो अबस्थामा नेपाल लाईफका लगानीकर्ताहरु आत्तिईहाल्नुपर्ने स्थिति देखिन्न । पूँजी बढेसँगै कमाई पनि बढाउँनसक्ने र नेपालमा बीमा ब्यवसाय फैलिदो अबस्थामा रहेकाले नेपाल लाईफ आउने केही बर्षसम्म सर्वश्रेष्ठ बीमा कम्पनी नै रहिरहने प्रशस्त आधारहरु छन् । चुक्ता पूँजी, जीवन बीमा कोष, पोलिसी बिक्री, त्यसले गरेका लगानी र प्रिमियम संकलन लगायतका आधार हेर्दा पनि यो देखिन्छ ।
नेपाल लाईफको शेयर मूल्य महंगो भएर अहिले साधारण लगानीकर्ताले धेरै शेयर किन्न नसकिरहेको अबस्थामा शेयरको अंकित रकमलाई १० रुपैयाँमा बिभाजन गर्ने योजना पनि अघि सारिएको थियो तर त्यो त्यसै सेलाएर गएको छ । त्यसो भयो भने नेपाल लाईफको शेयर मूल्य चार देखि पाँच सयको हाराहारीमा हुने र सामान्य लगानीकर्ताको पहुँचमा पर्ने पुग्ने थियो ।