एक अर्ब खुद नाफा नघाउने ग्लोबल आईएमईलाई आठ अर्ब पुर्याउन चिन्ता छैन केही !

Jul 29, 2015 Merolagani



- नबिन क्षेत्री

निजी क्षेत्रबाट स्थापित भई पाँच अर्ब रुपैयाँ भन्दा बढी चुक्ता पूँजी कायम गरेको ग्लोबल आईएमई बैंक(GBIME)ले गत आर्थिक बर्षमा खुद नाफा एक अर्ब रुपैयाँ नघाएको छ । बैंकले निस्क्रिय कर्जा अनुपातमा समेत सुधार गरेर आफुलाई सक्षम ठूलो बाणिज्य बैंकको रुपमा स्थापित गरेको छ । 

ग्लोबल आईएमईले अघिल्लो आर्थिक बर्षमा ९७ करोड खुद नाफा गरेको भए पनि गत बर्ष तीन करोडले मात्र बढाउन सकेको देखिएको छ । पाँच अर्ब एक करोड चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ कायम भएको छ । बैंकले चुक्ता पूँजी बढाउँदै लगेर ठूलो भएपछि प्रति शेयर आम्दानी खुम्चिने कुरालाई ग्लोबल आईएमईले स्मरण गराएको छ ।

 

अघिल्लो बर्षको खुद नाफाबाट गत बर्ष २१ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश दिएको बैंकको प्रति शेयर आम्दानी यस पटक भने खुम्चिनुमा देशको अन्योलपूर्ण अबस्थाले कर्जा बिस्तारमा तीब्रता आउन नसक्नुलाई मान्न सकिन्छ । तर पनि बैंकको निक्षेप बढेर ६० अर्ब र कर्जा परिचालन ५० अर्ब पुग्नुलाई संतोषजनक मान्न सकिन्छ भने ब्याज र संचालन आम्दानीमा पनि सुधार गरेको छ ।

 

शुल्क, कमिशन, बैदेशिक मूद्राको कारोबारमा बैंकले नाफा बढाएको पाईएको छ । अघिल्लो बर्ष भन्दा संचालन मुनाफा बढाए पनि बैंकका अरु खर्चहरु ह्वात्तै बढेकाले खुद नाफामा असर परेको देखिएको छ ।
तीन अर्ब रुपैयाँ रियल स्टेट क्षेत्रमा परिचालन गरेको बैंकको असोज मसान्तमा भने निस्क्रिय कर्जा अनुपात केही बढ्नसक्ने आँकलन गर्नसकिन्छ । पर्याप्त पूँजी र निक्षेप भएकाले बैंकले आगामी दिनमा प्रगति गर्नसक्ने धेरै संभावना छ ।

 

बैंकको जगेडा कोषमा दुई अर्ब ३५ करोड रहेको र गत बर्षको नाफाबाट समेत उल्लेखनीय रुपमा बोनस शेयर दिनसक्ने संभावना छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याउन पर्ने बाध्यतामा अरु बैंक परे पनि ग्लोबल आईएमईलाई भने कुनै चिन्ता नपर्ने स्पष्ट छ । उसले आगामी दुई बर्षमा कमाउने नाफा र जगेडा कोषको उपयोगबाटै बोनस शेयर मात्रै दिएर भएपनि तोकिएको पूँजी कायम गर्नसक्ने बलियो आधार छ । पूँजी र जगेडा कोष कमजोर र खुद आम्दानी बढाउँन नसक्ने साना बाणिज्य बैंकहरु मर्ज र एक्विजिशनका लागि अनुकुल साझेदार खोज्न भौतारिन थाले पनि ग्लोबल आईएमईलाई त्यसको कुनै परबाह गर्नुपर्ने अबस्था छैन । 


अन्य आधारभुत सूचकहरु हेर्दा बैंकको निस्क्रिय कर्जा अनुपात २.५५ बाट २.१९ मा झारिएको छ भने पूँजी कोष अनुपात १२.९९ मा सिमित भएको छ । त्यसैगरी मूल्य आम्दानी अनुपात(पीई) २३.८७, प्रतिशेयर नेटवर्थ १४७ र प्रति शेयर कुल सम्पतिको मूल्य १४१३ रहेको छ ।




लघुवित्तको १५ प्रतिशतभन्दा बढी लाभांश दिने व्यवस्था पुनरावलोकन हुँदा यी लघुवित्तमा आउन सक्छ बहार

Jul 15, 2025 06:43 AM

नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।