प्रभु बैंकको जगेडा कोष अघिल्लो आर्थिक बर्षमा ८१ करोड ५८ लाखले ऋणात्मक रहेकोमा गत आर्थिक बर्षको अन्त्यमा ४७ करोड ६९ लाखले धनात्मक बनाएको छ । बैंकको निक्षेप १९ अर्बबाट ४२ अर्बमा उक्लिएको छ भने कर्जा १३ अर्बबाट २९ अर्ब नाघेको छ ।
बैंकले गत बर्षको चौथो त्रैमासमा ब्याज आम्दानी र संचालन मुनाफा बढाए पनि मुख्य रुपमा डुबेको ऋण उठाएर बैंकले प्रगति गरेको देखिएको छ । बैंकले एक अर्ब ८२ करोड रुपैयाँ डुबेको ऋण उठाएको छ भने ६८ करोड प्रोभिजन गरेको छ । बैंकको पूँजी कोष ११.२० ले सकारात्मक रहेको छ । बैंकले प्रति शेयर आम्दानी ३२ रुपैयाँ नघाउन सक्नुले प्रभुका लगानीकर्ताले बोनस शेयर पाउनसक्ने आशा बढेको छ ।
उता सनराईज बैंकले गत आर्थिक बर्षमा ६० करोड खुद नाफा कमाउने लक्ष्य भने पुरा भएन । बैंकले जम्मा ४७ करोड मात्र खुद नाफा गर्न सकेको छ । बैंकले ४१ करोड जोखिम कोषबाट फिर्ता गरे पनि ४६ करोड प्रोभिजन गर्नु परेकाले खुद नाफामा असर परेको देखिएको छ । बैंकको निक्षेप र कर्जा बिस्तार भए पनि ब्याज आम्दानीमा उल्लखनीय बृद्धि भएन भने संचालन नाफा पनि १० करोडले मात्र बढ्यो ।
बैंकले निस्क्रिय कर्जा अनुपातलाई ४.९४ बाट २.९० मा झार्न सफल भएको र जगेडा कोषमा ९३ करोड ५६ लाख रुपैयाँ पुगेको छ । सनराईजले गत आर्थिक बर्षको खुद नाफा ६० करोड नघाएर ३० प्रतिशत बोनस शेयर बाड्ने लक्ष्य लिए पनि खुद नाफा अपेक्षाकृत बढ्न सकेन तर अघिल्लो आर्थिक बर्षको नाफा नबाडी जगेडा कोषमा राखेकाले लगानीकर्तालाई राम्रै प्रतिफल बाड्ने आशा भने छ । सनराईजको गत बर्षको प्रति शेयर आम्दानी १९ रुपैयाँ छ ।
तीन अर्ब २० करोड चुक्ता पूँजी रहेको प्रभु बैंकले ग्राण्डलाई किन्नुका साथै हकप्रद जारी गरेर पूँजी पाँच अर्ब नघाउने निश्चित भएको छ । गत बर्ष कमाएको खुद नाफाबाट केही बोनस शेयर दिनुका साथै पूँजी बृद्धिको योजना अनुसार बाँकी दुई बर्षमा कमाउने रकमबाट मनग्ये बोनस शेयर दिएर बैंकले आफै आठ अर्ब पुर्याउनसक्ने प्रशस्त संभावना छ ।
उता सनराईज बैंक आफैले बोनस शेयर दिएर आठ अर्ब चुक्ता पूँजी पुर्याउन सक्ने बिस्वासिलो आधार नभएकाले ठूलो मात्रामा हकप्रद जारी गर्ने, अन्य साना कम्पनीहरुलाई आफुमा मिसाउने वा अरु बाणिज्य बैंकसँग मर्जमा जाने विकल्प खोज्नुपर्ने भएको छ ।