EBL बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५७ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ५४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेको थियो । २ करोड ४६ लाख ५३ हजार रुपैंयाले मात्र बढेको बैंकको नाफा वृद्धि प्रतिशत १ दशमलव ५९ प्रतिशत हो ।
२ अर्व १३ करोड ७३ लाख ८८ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी ७८ रुपैयाँ ४ पैसा कायम भएको छ । अघिल्लो आर्थिक वर्षमा ८६ रुपैंया ४ पैसा प्रतिशेयर आम्दानी रहेकोमा गत वर्ष प्रतिशेयर आम्दानी ८ रुपैंयाले घटेको हो ।
किन खुम्चियो खुद नाफा ?
एभरेष्टले अघिल्लो पटक २ अर्व रुपैंया चुक्ता पूँजी पुर्याउनका लागि अघिल्लो आर्थिक वर्षकोे नाफाबाट बोनस शेयर बितरण गरेपछि पूँजी बढे पनि ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गर्न सकेको थिएन । जसका कारण खुद नाफामा आशलाग्दो प्रगति हुन सकेन र त्यसको सीधा असर प्रति शेयर आम्दानीमा परेको थियो । त्यही क्रमले निरन्तरता पाउँदै गर्दा गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षमा जस्तै शुल्क, कमिशन, छुट, अन्य संचालन आम्दानी र बिदेशी मुद्राको कारोबारमा खासै बढ्न नसकेको, प्रोभिजन रकम घटाउन नसकेको असर पनि बैंकको प्रगतिमा परेको देखिन्छ ।
निस्क्रिय कर्जा केही घटेको, त्यसैगरी निक्षेप र कर्जा बिस्तार पनि खासै सन्तोषजनक अवस्था नदेखिएका कारण पनि बैंकको खुद नाफा खुम्चिएको हो । चुक्ता पूँजीको तुलनामा झण्डै दोब्बर जगेडा कोष हुनु र चुक्ता पूँजी बढाएर अन्य प्रतिस्र्धी बैंकहरुको हाराहारीमा पुग्न र पूँजी कोष बलियो बनाएर ब्यापार बढाउन यसले आगामी साधारणसभामार्फत राम्रै बोनस शेयर दिन्छ भनेर लगानीकर्ताले आश गर्नु स्वभाविक छ ।
कसरी पुर्याउला ८ अर्व पूँजी ?
अब केन्द्रिय बैंकले तोकेको पूँजी कायम गर्न पनि बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट ठुलो मात्रामा बोनस शेयर बाँड्नुपर्ने बाध्यता बैंकलाई आइलागेको छ । राम्रो बोनस शेयरकै आशामा लगानीकर्ताले एभरेष्टको शेयरमा लगानी गरिरहेका छन् । अघिल्लो आर्थिक वर्षमा मात्र बैंकले १२ प्रतिशत बोनस शेयर बितरण गरेको थियो । लगानीकर्ताको चापका बिच यस पटक पनि ४ गुणा पूँजी वृद्धिका लागि बैंकले बोनस शेयर बितरणलाई खुम्च्याउन नसक्नुले एभरेष्टका लगानीकर्ताले गतिलै फाइदा लिनसक्ने अवस्था देखिएको छ । जसका कारण अहिलेको बैंकको प्रतिकित्त शेयर मुल्य अझै महंगिएर जाने अवस्थालाई पनि नकार्न सकिन्न ।
ग्लोबल आईएमई, नबिल, नेपाल ईन्भेष्टमेन्ट बैंक जस्ता प्रतिस्पर्धी बाणिज्य बैंकहरुको हाराहारीमा पूँजी पुर्याउँन एभरेष्टले बोनसकै मात्रै सहारा लिएला वा हकप्रद शेयर वा मर्ज, एक्विजिशनको बाटो खोज्ला भन्ने स्पष्ट छैन । यसमा हालसालै नेपाल आइपुगेका बैंक संचालक समितिका अध्यक्ष बीके श्रेष्ठकै तजबिजीले काम गर्ने पक्का छ ।
गत आर्थिक वर्षमा ८३ अर्व ९ करोड ३७ लाख रुपैंया निक्षेप संकलन तथा ५५ अर्व ३६ करोड ३५ लाख रुपैंया कर्जा प्रवाह गरेको बैंकको पूँजी कोष १३ दशमलव ३२ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो २ दशमलव १७ प्रतिशतले बढेको हो । बैंकको मूल्य आम्दानी अनुपात २७ दशमल १७ र प्रति शेयर नेटवर्थ ३४२ रुपैंया १८ पैसा छ, जुन ठीकै हो । तर कमाई नबढ्ने र पूँजी मात्रै बढेर ८ अर्ब नाघ्ने हो भने एभरेष्टको प्रति शेयर आम्दानी ७४ रुपैंयाबाट २५ रुपैंया भन्दा तल झर्ने अबस्था आउन सक्छ । अहिले ४ अर्ब ७७ करोड रुपैंया चुक्ता पूँजी भएको नेपाल ईन्भेष्टमेन्ट बैंकको प्रति शेयर आम्दानी भन्दा पनि एभरेष्टको प्रति शेयर आम्दानी झण्डै आधा जसो तल आउने अबस्था भएमा लगानीकर्ताले अहिलेको दुई हजार एक सय रुपैयाँ माथिको महंगो मूल्यमा एभरेष्ट बैंकको शेयर किन्ने कि नकिन्ने भन्ने पनि बिचारणीय पक्ष हो ।
बोनस शेयर बाँड्न किन हिच्चाहट ?
एभरेष्टमा भारतको पन्जाब नेशनल बैंकको साझेदारी रहेकाले बिदेशी साझेदारहरु बोनस शेयर भन्दा नगद लाभांशमा जोड गर्ने र सर्वसाधारण लगानीकर्ताहरु बोनस शेयर पाउन मरिहत्ते गर्ने स्वार्थ नमिल्दा एभरेष्टको संचालक समितिमा मत बाझिदै आएको छ । जसका कारण अघिल्लो पटक चुक्ता पूँजी २ अर्व पुर्याउने समयमा पनि एभरेष्टले नगद लाभांश बढी र बोनस शेयर कम दिएको थियो । तर अबको अवस्था भने अलि फरक देखिएको छ । जसका कारण पूँजी बढाउन बैंकले कुनै पनि हालतमा ठुलो मात्रामा बोनस शेयर बितरण गर्नै पर्ने अवस्था बैंकका विदेशी साझेदारका लागि फलामको च्यूरा सरह हुने छ भने लगानीकर्तालाई राहत ।
.....................................................................................................................................................................
तपाईको एण्ड्रोइड ग्याजेटमा गुगल प्ले स्टोरबाट मेरो लगानी को एप्स डाउनलोड गर्न यहाँ थिच्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक र ट्वीटर मार्फत पनि पाउन सक्नुहुन्छ ।