ग्राण्ड बैंकले निक्षेप भन्दा बढी कर्जा परिचालन गरेको देखिएको छ भने पूँजी कोष खुम्चिएर ६.५१ मा सिमित भएको छ । बैंकले गत बर्षको चौथो त्रैमासमा ३३ करोड खुद घाटा ब्यहोर्दा जगेडा कोष एक अर्ब ३७ करोडले ऋणात्मक भएको छ । दुई अर्ब चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँले ऋणात्मक छ । बैंकले सबैभन्दा धेरै दुई अर्ब २ करोड रुपैयाँ रियल स्टेट क्षेत्रमा कर्जा प्रबाह गरेको छ ।
प्रभु बैंकले ६५ प्रतिशत स्वाप रेसियोमा ग्राण्डलाई खरिद गर्ने निर्णय साधारणसभाबाट पारित गरी राष्ट्र बैंकको अन्तिम स्वीकृतिको प्रतीक्षा गरिरहेको छ । राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि यही भदौ १५ बाट एकीकृत कारोबार गर्ने तयारी छ ।

जनता बैंकले अघिल्लो आर्थिक बर्षको भन्दा सात करोड बढीले खुद नाफा बढाएर १५ करोड नघाए पनि अन्य प्रतिस्पर्धी बैंकहरुको तुलनामा पछि नै परेको देखिएको छ । बैंकले निक्षेप र कर्जा परिचालन बढाएर ब्याज र संचालन नाफामा पनि केही बढोत्तरी गरेको छ तर निस्क्रिय कर्जाको अनुपात पनि बढेकाले २३ करोड प्रोभिजन गर्नुपरेको छ । बैंकले १३ करोड मात्र राईट ब्याक गर्न सकेको छ ।
दुई अर्ब छ करोड चुक्ता पूँजी रहेको बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँमा खुम्चिएको छ । बैंकको जगेडा कोष २९ करोड भएकाले यस बर्ष बैंकले लगानीकर्ताहरुलाई राम्रो बोनस शेयर दिई उल्लेखनीय रुपमा पूँजी बृद्धि गर्न नसक्ने र धेरै अनुपातमा हकप्रद शेयर जारी गर्न प्रबद्र्दक तयार नहुने अबस्थामा अन्य ठूला बैंकसँग बेचिएर वा मर्जमै गएर आठ अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने बाध्यता आईलागेको छ । मेगा, सिभिल, सेन्चुरी लगायतका एकै खाले बर्गमा लगानीकर्ताहरुको बाहुल्यता रहेको बैंकसँग नै जनता जोडिने बारेमा छलफल चलिरहेको बुझिएको छ ।